१९ फागुन, काठमाडौं । नाइजेरियन फरवार्ड आफिनज ओलावालेले तेस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) धनगढी एफसीबाटै खेल्ने भएका छन् ।
धनगढी एफसीले तेस्रो संस्करणको एनएसएल २०२५ का लागि विदेशी खेलाडीका रुपमा अफ्रिकन फरवार्ड आफिज ओलावालेलाई निरन्तरता दिएको हो ।
यसअघिका दुवै संस्करणमा ओलावालेले धनगढी एफसीबाट खेलेका थिए । धनगढी दुवै संस्करणको फाइनल पुगेर उपविजेता बनेको थियो ।
भारत र बंगलादेशको शीर्ष लिगसमेत खेलिसकेका ओलावालेले नेपालका शीर्ष क्लबबाट ए डिभिजन लिग खेल्दै आफ्नो प्रभाव छाडेका छन् ।
यसअघि नै धनगढी एफसीले लेबनानी स्टार फरवार्ड अहमद हिजाजीलाई पनि क्लबमा फर्काइसकेको छ । क्रितिशरत्न छुन्जु मार्की प्लेयर रहेको धनगढीमा देवेन्द्र तामाङ, जर्जप्रिन्स कार्की, पासाङ लामा, विवेक पौडेल, जियारथ शेख, रन्दीप फुयाल, रामचन्द्र वाजी, प्रशान्त लक्षम र अशोक खवासजस्ता खेलाडी छन् ।
यस्तै धनगढीले स्पेनका जुआन म्यानुएल मार्टिनेज साइजलाई मुख्य प्रशिक्षकमा नियुक्त गरिसकेको छ । युईएफए प्रो लाइसेन्स भएका प्रशिक्षक म्यानुएलले स्पेन, पानामा, थाइल्याण्ड, ओमान, माल्दिभ्स र बंगलादेशमा समेत प्रशिक्षण गराइसकेका छन् ।
लगातार तेस्रो सिजनका लागि धनगढी एफसीसँग अनुबन्ध हुन पाउँदा हर्षित भएको बताउँदै ओलावालेले लगातार दुई सिजन उपाधिको एकदमै नजिक पुगेर चुकेपनि यसपटक उपाधि उचाल्ने अधुरो कामलाई पुरा गर्ने लक्ष्य भएको उल्लेख गरेका छन् ।
‘म यसपालि फेरि धनगढीमा आबद्ध भएको छु, मलाई विश्वास गरि पुन टोलीमा आवद्ध गराउनुभएकोमा धनगढी एफसी व्यवस्थापक प्रति आभार व्यक्त गर्दछु’ उनले भनेका छन् ।
त्यस्तै क्लबका अध्यक्ष सुवाश शाहीले नेपाली माटोमा राम्रोसँग भिजेका र नेपाली फुटबलमा गोलमेसिनका रुपमा चिनिएका आफिजलाई धनगढीको प्रमुख अनुहारमध्येको एकका रुपमा स्वागत गर्न पाउँदा उत्साहित रहेको र यस सिजनमा धनगढी एफसीका समर्थकको मन जित्ने विश्वास पनि व्यक्त गरे ।
 
                    










 २०८१ फागुन  १९ गते २१:००
                        २०८१ फागुन  १९ गते २१:००                     
                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                     
                     
                     
                     
                 
                 
                 
                 
                 
         
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
     
     
     
     
     
                             
                             
                             
                             
                             
                            
प्रतिक्रिया 4