
२८ फागुन, काठमाडौं । त्रिभुवन विश्वविद्यालयको स्ववियु चुनावको काठमाडौं उपत्यकासहित विभिन्न क्याम्पसमा प्रक्रिया रोकिएको छ । मंगलबार उम्मेदवार मनोनयनको क्रममा विवाद भएपछि कतै ताला लागेको छ भने कतै मनोनयन नै हुन सकेको छैन ।
काठमाडौं उपत्यकाको पाँच वटा क्याम्पसमा प्रक्रिया रोकिएको छ । सरस्वती क्याम्पसमा मतदाता सूचीमा विवाद हुँदा तालाबन्दी छ । नेपाल ल क्याम्पसमा संघसंगठन नै दर्ता भएको छैन । त्रिविका अनुसार ल क्याम्पसमा सुरुदेखि नै विवाद भएको हो ।
पब्लिक युथ क्याम्पसमा मतदाता नामावलीमा विवाद भएपछि प्रक्रिया अगाडि बढेको छैन । थापाथली इन्जिनियरिङ क्याम्पसमा एउटै संगठनको दुई वटा उम्मेदवारी परेपछि तालाबन्दी भएको छ ।
शंकरदेव क्याम्पसमा मतदाता सूचीमा विवाद भएपछि तालाबन्दी छ ।
धनुषाको रामस्वरुप रामसागर बहुमुखी (राराब) क्याम्पसमा भर्नाको विषयलाई लिएर प्रक्रिया नै अगाडि बढेको छैन । त्रिविका अनुसार तीन –चार वटा विद्यार्थी संगठनले ताला लगाएका छन् ।
सुर्खेत बहुमुखी क्याम्पसमा कोहिले दर्ता गरेको र कसैले गर्न नपाएको भन्दै विवाद छ ।
सुर्खेतमा समझदारीको प्रयास भइरहेको छ । बुटवल र भैरहवा क्याम्पसमा पनि तालाबन्दी छ ।
स्ववियु निर्वाचनको उम्मेदवारीको विषयलाई लिएर नेपाली कांग्रेसनिकट विद्यार्थी संगठन नेविसंघले विश्वविद्यालय क्याम्पसमा ताला लगाएको छ ।
त्रिवि क्याम्पसमा नेविसंघका दुई समूहले उम्मेदवारी मनोनयन गरेका थिए ।
दिपकराज जोशी र अनोज कार्की अध्यक्ष रहेको दुईवटा समूहको उम्मेदवारी परेकोमा निर्वाचन अधिकृतको कार्यालयले जोशी अध्यक्षको उम्मेदवार रहेको सूचीलाई मात्र समावेश गरेपछि कार्की समूह असन्तुष्ट हुँदै ताला लगाएको हो ।
नेविसंघको आन्तरिक विवादका कारण दोहोरो उम्मेदवारी परेको छ । जसका कारण तालाबन्दी भएको हो ।
विवादित भएको ठाउँमा सहमतिको प्रयास भइ रहेको त्रिविले जनाएको छ । ‘प्रक्रिया रोकिएको ठाउँमा वार्ता र संवाद जारी छ,’ त्रिवि विद्यार्थी कल्याण परिषद्का सदस्यसचिव पशुपति अधिकारीले भने ।
प्रतिक्रिया 4