४ चैत, काठमाडौं । ‘एनसेल फर बिजनेस बाह्रखरी गल्फ तथा आर्थिक परिसंवाद’ यस वर्ष काठमाडौंमा हुने भएको छ । सोमबार काठमाडौंमा पत्रकार सम्मलेन गरेर बाह्रखरी मिडियाले वार्षिकरूपमा आयोजना गर्दै आएको कर्पोरेट गल्फ प्रतियोगिताबारे जानकारी गराएको हो ।
प्रतियोगिता यही चैत २३ (अप्रिल ५)मा काठमाडौंको गोकर्ण फरेस्ट रिसोर्टको गल्फ कोर्समा आयोजना गरिनेछ ।
एनसेल बाह्रखरी गल्फको आठौँ संस्करणका रूपमा रहेको यस प्रतियोगितामा यस वर्ष करिब १२० जना कर्पोरेट खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको उद्घाटन विहान ८ बजे हुनेछ ।
प्रतियोगिता १८ होलमा स्टेबल फोर्ड फर्म्याटमा हुनेछ । यसको अर्थ कुनै पनि होलमा तोकिएको भन्दा बढी स्ट्रोक हान्न पाइने छैन । यस नियमले ठूलो प्रतियोगितामा समयको बचत गर्नेछ ।
प्रतियोगितामा भारत, अमेरिका, चीन, सिंगापुर, श्रीलंकाका गल्फरले पनि सहभागिता जनाउनेछन् । नेपालस्थित विदेशी नियोगका प्रतिनिधि पनि गल्फ प्रतियोगितामा सहभागी हुनेछन् ।
यसैगरी प्रतियोगितामा काठमाडौंसहित पोखरा, धरान, चितवन, बुटवल, नेपालगन्जलगायत क्षेत्रका कर्पोरेट गल्फर, न्यायाधीश र केही सरकारी उच्च अधिकारीले पनि प्रतियोगितामा सहभागिता जनाउनेछन् ।
कर्पोरेट क्षेत्रका खेलाडीबीच हुने प्रतियोगिता देशकै प्रतिष्ठित प्रतियोगिता भएको यसका ‘अल–राउन्ड’ विजेताले २४ क्यारेट सुनले बनेको गल्फ बल तथा अन्य पुरस्कार प्राप्त गर्नेछन् । साथै, अन्य विभिन्न विधामा विजेताले ट्रफी तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।
कुनै प्रतियोगीले तोकिएको होलमा एकै सटमा लक्ष्य प्राप्त गरे भने ‘होल इन–वन’ पुरस्कारका रूपमा बीवाईडीको ‘एट्टो थ्री’ गाडी प्राप्त गर्नेछन् ।
यसअघि प्रतियोगिताको गत संस्करण पोखरास्थित हिमालयन गल्फ कोर्समा भएको थियो । यस्तै, त्यसअघिको संस्करण काठमाडौंको गोकर्ण गल्फ कोर्समा सम्पन्न भएको थियो ।
०७८ कोसी प्रदेशको आर्थिक उत्थानमा केन्द्रित भई विराटनगरमा आर्थिक सम्मेलन, इटहरीमा युवा उद्यमी सम्मेलन तथा धरानमा गल्फ प्रतियोगिताको आयोजना गरिएको थियो ।
०७७ सालमा कोरोनाले आहत पारेको पोखराको पर्यटनको विकासका लागि गल्फ तथा पर्यटन थिम अन्तर्गत पोखरामा कार्यक्रम आयोजना गरिएको थियो ।
त्यसअघिको वर्ष नेपालको नाम विश्वको पर्यटन नक्सामा प्रचार र प्रसार गर्ने उद्देश्यसहित सर्वोच्च शिखर सगरमाथासँगै रहेको कोङ्दे हिमालको ’कोङ्दे री’मा ४,२५० मिटरको उचाइँमा गल्फ आयोजना गरिएको थियो ।
विश्व रेकर्ड राख्ने उद्देश्यसहित गरिएको यस गल्फ प्रतियोगितालाई विश्वभरका मिडियाले ठूलो महत्त्वका साथ समाचार बनाएका थिए । त्यसअघि पहिलो र दोस्रो संस्करण पनि गोकर्ण गल्फ क्लबमै आयोजना भएको थियो ।
प्रतिक्रिया 4