 
																			९ चैत, काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले मुलुकमा आएको गणतन्त्र र संघीयतासहितका परिवर्तन कसैले हल्ला गरेर नजाने बताएका छन् ।
नेपाली कांग्रेसको पूर्व आप्रवासी समन्वय विभागले आज पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिटौलाले परिवर्तनबाट पछि फर्किन नसकिने बताए ।
‘परिवर्तन नै जान्छ कि जस्तो, गणतन्त्र नै जान्छ कि जस्तो, गणतन्त्र आएकै दिन देखि त्यो देखिएकै हो, राजाकाविरुद्ध बोल्नै नपाइने, संसद्मा प्रश्न उठाउनै नपाइने अवस्था थियो,’ सिटौलाले भने, ‘दरबारको प्रशासन राजाकै पहुँमा थियो, त्यही अवस्थामा वीरेन्द्रको वंशनाश भयो, त्यो बेला नै राजालाई संसद मातहत राखेको भए सायद त्यस्तो घटना पनि हुने थिएन होला,’ सिटौलाले भने ।
उनले गणतन्त्रको प्राप्तिपछि जनताले स्वतन्त्रताको अनुभुती गर्न पाएको पनि बताए ।
‘परिवर्तनपछि देशमा जनताले स्वतन्त्रताको अनुभूति गर्न पाएका छन्, आफ्ना कुरा राख्न पाएका छन्, त्यो भन्दा अघि कस्तो थियो, अहिले केछ, तुलना गरौं,’ सिटौलाले भने ।
उनले राज्य संरचनामा अब्स्नेहरुको कमजोरीका कारण ब्यवस्थामाथि प्रश्न उठ्ने गरेको भन्दै भने, ‘राज्य संरचनामा बस्नेहरूको कमजोरीका कारण केही भएन भन्ने प्रश्न पनि उठ्छ, राज्य संरचनामा बस्नेहरू सुध्रिनुपर्छ,’ सिटौलाले भने ।
सिटौलाले संविधान संशोधनको विषयमा दलहरूबीच सहमति आवश्यक रहेको बताए ।
‘संविधान जड वस्तु होइन, संशोधन गर्नै पर्ने भए गर्नुपर्छ, संविधान संशोधन देशको हितमा छ भने हुन्छ, कांग्रेस एक्लैको मतले पुग्दैन, एमालेसँगको सरकार छ, एमाले मात्र जोडिएर पनि पुग्दैन, अरुलाई पनि साथ लिनैपर्छ, देशको हितमा भएका कुरामा कांग्रेसले अग्रसरता लिनैपर्छ,’ उनले भने ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4