+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

खानेपानीमन्त्री यादव र नेपालका लागि जापानका राजदूत तोरूबीच भेटवार्ता

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत १४ गते १६:५५

१४ चैत, काठमाडौँ। खानेपानीमन्त्री प्रदीप यादव र नेपालका लागि जापानका राजदूत माएदा तोरूबीच आज शिष्टाचार भेटवार्ता भएको छ । उक्त भेटवार्तामा मन्त्री यादवले जापानका लगानीकर्तालाई नेपालमा लगानीका लागि थप प्रोत्साहन गर्न आग्रह गरे ।

मन्त्री यादवले नेपालको विकासका प्राथमिकताका क्षेत्रमा जापानी लगानी भित्र्याउने अपार सम्भावना रहेको बताउँदै जापानका लगानीकर्तालाई नेपालमा लगानी गर्न प्रेरित गर्नुपर्नेमा जोड दिए । उनले भने, ‘नेपाल सरकारले विदेशी लगानीकर्ताको लगानीको सुरक्षा सुनिश्चित गर्ने प्रतिवद्धता व्यक्त गर्दछ । जापानी लगानीकर्तालाई नेपालमा लगानी गर्न सहज वातावरण बनाउन हामी कटिबद्ध छौँ।’

मन्त्री यादवले नेपाल–जापान सम्बन्ध ऐतिहासिक रूपमा प्रगाढ रहेको उल्लेख गर्दै सन् १९५६ मा स्थापना भएको कूटनीतिक सम्बन्ध यतिखेर थप बलियो र मैत्रीपूर्ण बन्दै गएको उल्लेख गरे । उनले भने, ‘भूकम्पलगायत विभिन्न प्राकृतिक विपद्मा जापानी जनता, सरकार, गैरसरकारी संस्था र विश्वविद्यालयबाट प्राप्त सहयोगप्रति नेपाल सरकार तथा नेपाली जनता आभारी छन् । नेपालले सदैव जापानसँगको आपसी हित र सहकार्यलाई उच्च महत्तव दिँदै आएको छ।’

मन्त्री यादवले जापान सरकारले विगतदेखि नेपालका खानेपानी परियोजनामा महत्त्वपूर्ण सहयोग गर्दै आएको उल्लेख गर्दै सन् १९७६ देखि पाल्पाको तानसेन खानेपानी परियोजना, सन् १९९३ मा काठमाडौँको महाङ्कालचौरमा पानी प्रशोधन केन्द्र निर्माण तथा सन् २०१८ मा मेलम्ची खानेपानी आयोजनाअन्तर्गत प्रशोधन केन्द्र निर्माणमा जापानी अनुदान रहेको जानकारी गराए ।

त्यस्तै, पोखरा महानगरपालिकाको खानेपानी सुधार परियोजना तथा हालै विराटनगर महानगरपालिकामा सञ्चालित खानेपानी सुधार कार्यमा पनि जापान सरकारको सहयोग रहेको भन्दै उनले जापान सरकारलाई विशेष धन्यवाद दिएका थिए ।

सोही अवसरमा राजदूत तोरूले जापान सरकार नेपालमा विगतदेखि विभिन्न विकासका परियोजनामा संलग्न रहँदै आएको बताउँदै आगामी दिनमा पनि नेपालमा शिक्षा, स्वास्थ्य, खानेपानीलगायत क्षेत्रमा निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गरे । उनले भने, ‘नेपाल र जापानबीचको मैत्रीपूर्ण सम्बन्धलाई अझ सुदृढ बनाउने उद्देश्यले हामी नेपाल सरकारसँग सहकार्य गर्दै जानेछौँ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?