१६ चैत, काठमाडौं । काठमाडौं रेजर्स एफसीले सानदार पुनरागमन गर्दै साविक विजेता ललितपुर सिटी एफसी विरुद्ध नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणको पहिलो खेलमा २-२ को बराबरी खेलेको छ ।
दुई पूर्व विजेताबीच शनिवार भएको उद्घाटन खेलमा ललितपुर र काठमाडौंले २-२ को बराबरी खेल्दै अंक बाडेका हुन् । सुरुवातमै पछि परेको काठमाडौले दोस्रो हाफमा सानदार पुनरागमन गर्दै खेल बराबरी गरेको हो ।
इन्जुरी टाइममा भिनसेन्ट कोजिएलोले पेनाल्टीमा गोल गरेपछि काठमाडौंले हार टारेको थियो । भ्याली डर्बीको रुपमा रहेको यस खेलमा ललितपुरले सुरुवाती १५ मिनेटमै दुई गोल गरेको थियो । खेलको पाँचौ मिनेटमै जोनाथान कान्टिलानाले जिरो एंगलबाट हानेको बल काठमाडौंका डिफेण्डर कमल श्रेष्ठलाई लाग्दै गोल भएको थियो ।
ललितपुरले १५औं मिनेटमा आदित्य शाक्यको गोलबाट अग्रता दोब्बर पार्यो । सनिश श्रेष्ठ र पापा इबोउ केबेले वान टु पास खेल्दै इमोहलाई पेनाल्टी बक्समा बल उपलब्ध गराएका थिए । इमोहको सुरुवाती प्रहार काठमाडौंका गोलकिपर अभिषेक बरालले रोकेका थिए । तर बल पूर्ण रुपमा क्लियर हुन सकेन र अनमार्क रहेका आदित्यले सहलै गोल गरे ।
पहिलो हाफमा दुई गोलले पछि परेको काठमाडौंले दोस्रो हाफमा पुनरागमन गर्ने प्रयास गरेको थियो । काठमाडौंका लागि विदेशी खेलाडी अमादोउ डिओपले ७६औं मिनेटमा गोल फर्काएका थिए । जिलेस्पीजंगले बायाँ साइडबाट दिएको पासलमा विपक्षी खेलाडीलाई छलाउँदै डिओपले गोल गरेका हुन् ।
जिलेस्पी आफैँले पनि दोस्रो हाफको अन्त्यतिर गोल गर्ने राम्रो अवसर गुमाए । जिलेस्पीले ८४ पेनाल्टी बक्समा पाएको बल भली प्रहार गरेका थिए । तर बल पोष्ट भन्दा केही माथिबाट बाहिरियो ।
लगातार दबाब बनाएको काठमाडौले इन्जुरी टाइममा पेनाल्टीमा गोल गर्दै खेल बराबरी गर्यो । ललितपुरका योगेश गुरुङले भिनसेन्ट कोजिएलोलाई पेनाल्टी बक्समा लडाएपछि काठमाडौंले पेनाल्टी पाएका थिए । उनै कोजिएलोले पेनाल्टीमा गोल गर्दै खेल बराबरी गरे ।
प्रतिक्रिया 4