 
																			२६ चैत, काठमाडौं । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य रञ्जित तामाङले पूर्वराजा ज्ञानेन्द्र शाहलाई तत्काल कारबाही गरेर देखाउन सरकारलाई चुनौती दिएका छन् ।
झापाको झापा गाउँपालिकाको दोस्रो गाउँपालिकाको अधिवेशनलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो चुनौती दिएका हुन् ।
वर्तमान सरकारको चौतर्फी असन्तुष्टि बढ्दै गएको बताउँदै झापाका इन्चार्जसमेत रहेका तामाङले अबको निर्वाचन नै जनताको निराशाको निकास भएको जिकिर गरे ।
‘सरकारको चौतर्फी असन्तुष्टि बढ्दा पनि कांग्रेस–एमाले यसमा जिम्मेवार छैनन्,’ तामाङले भने, ‘यसको निकासका लागि जनताले अब अर्को निर्वाचन कुर्नुपर्ने हुन्छ ।’
साथै, उनले देशमा राजावादीहरू उदाउन खोज्ने क्रियाकलाप बढ्नुमा पूर्वराजा शाहकै भूमिका रहेकाले तत्काल उनलाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताए ।
‘ज्ञानेन्द्रलाई तत्काल कारबाही गर्नका लागि म ओली सरकारको ध्यानाकर्षण गराउँछु,’ तामाङले भनेका छन् ।
प्रधानमन्त्री ओलीकै गृहजिल्ला भएपछि मकैको पकड एरियामै सिचाईं समस्या भएकोप्रति पनि उनले ध्यानाकर्षण गरेका छन् ।
किसानलाई निराश नबनाउन तत्काल पर्याप्त बिजुली व्यवस्थाका लागि उनले सरकारसँग माग पनि राखेका छन् ।
‘उज्यालो नेपालका नायक कुलमान हुँदा किसानका समस्या तत्काल सम्बोधन हुन्थ्यो,’ तामाङले भनेका छन्, ‘तर, यो सरकारको भनाइ र गराइमा तादम्यता मिल्दैन । भन्छ, समृद्ध नेपाल सुखी नेपाली, तर व्यवहारमा समृद्ध विचौलिया दुखी नेपालीको अवस्था छ ।’
कार्यक्रममा प्रमुख अतिथि अजम्बर कानमाङ राईले अहिलेको सरकार जति धेरै टिक्छ उति नै माओवादीलाई फाइदा पुग्ने विचार राखे ।
त्यस्तै, अर्का वक्ता सीपी कडरियाले युवाहरूलाई नेतृत्वमा ल्याउनेगरी काम अघि बढाउनुपर्ने भनाइ राखे ।
 
                









 
             
                             
                        
                     
                             
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4