 
																						३१ चैत, काठमाडौं । विद्यालय शिक्षा विधेयकमा ९१ वटा दफामा सहमति जुटेको छ ।
प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको उपसमितिले ९१ वटा दफामा दफावार छलफल गरी सहमति जुटाएको हो । अब ७२ वटा दफामा छलफल बाँकी छ । जसमा उपसमितिले छलफल गरेर सहमति जुटाउने प्रयास गरिरहेको छ ।
के–के सहमति भयो भन्नेमा सार्वजनिक गरिएको छैन । शिक्षा समितिका सचिव दशरथ धमलाका अनुसार दैनिक लामो छलफल भइरहेको छ ।
‘९१ वटा दफामा छलफल सकिएकोछ । अधिकांशमा सहमति जुटेको छ । १२ सय वटा संशोधन बुँदामा छलफल भएको छ,’ उनले भने । विधेयको १७ सय ५८ वटा संशोधन परेको थियो ।
द्रुत गतिमा दफावार छलफल भइरहेको छ । ‘कुनै दिन १४–१५ वटा दफा पनि सकिएको को । हिजो तीन वटा दफा भन्दा सकिएन । कहिले एउटै विषयमा लामो बहस पनि हुन सक्छ,’ उनले भने, ‘दफा पढेर सरसर गर्ने गरेको छैन । तीन चार वटा डकुमेन्टलाई अगाडि राखेका छौं । विधेयकमा सांसदले राखेको संशोधन प्रस्ताव, सातै वटा प्रदेशबाट सरोकारवालाले दिएको सुझावको प्रतिवेदन, समितिमा उपस्थित भएर विज्ञले दिएको सुझाव, स्वतन्त्र विज्ञले दिएको सुझावलाई अगाडि राखेर छलफल गरिरहेका छौँ ।’
सचिव धमलाका अनुसार सबै सुझाव र विधेयकमा रहेको विषयलाई केलाएर दवाफार छलफल भइरहेको छ । ‘कुन दफाले के बोलेको छ, सुझाव के आएको छ, संशोधन के छ, यसमा उपसमितिको सदस्यले धारणा राख्नु हुन्छ । विज्ञलाई पनि राखेका छौं । शिक्षा मन्त्रालय र कानुन मन्त्रालयको पनि सहभागिता छ । यसरी दवाफार छलफल भइरहेको छ,’ उनले भने । उपसमितिको बैठक बिहान ११ बजेदेखि साँझ ५ सम्म बस्ने गरेको छ ।
शिक्षकहरूले शिक्षा ऐन जारी गर्न माग गर्दै शैक्षिक हड्ताल गरेर सडक आन्दोलन गरिरहेकाले उपसमितिले धमाधम दवाफार छलफल गरिरहेको हो ।
संसद्को आगामी अधिवेशनमा विधेयक संसद्मा पेस गर्नेगरी उपसमितिले काम गरिरहेको छ । उपसमितिले सहमति जुटाएपछि फुल समितिमा र फुल समितिले सभामा पेस गर्ने छ ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4