३१ चैत, काठमाडौं । नेपाली तेक्वान्दो खेलाडी तथा निर्णायक काजल श्रेष्ठ अमेरिकामा सम्मानित भएकी छन् ।
अमेरिकामा रहेको च्याम्पियन मार्सल आर्ट्स क्लबले १३औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण विजेता तथा नेपालकी अन्तर्राष्ट्रिय तेक्वान्दो रेफ्री काजल श्रेष्ठलाई सम्मान गरेको हो ।
काजल अमेरिकाको टेक्सासमा भएको डालास इन्टरनेसनल तेक्वान्दो च्याम्पियनसिप २०२५ मा निर्णायकको भूमिका निर्वाह गर्न अमेरिका पुगेकी थिइन् ।
न्युयोर्कस्थित क्लब परिसरमा आयोजित भव्य कार्यक्रममा काजललाई क्लबको टि–सर्ट, प्रमाणपत्र र नगद ४०० अमेरिकी डलरसहित विशेष सम्मान गरेको छ ।
सन् २०१९ मा नेपालमै भएको १३औं सागमा स्वर्ण जितेकी २१ वर्षी काजल गत वर्ष तेक्वान्दोको अन्तर्राष्ट्रिय निर्णायक बनेकी थिइन् । उनी तेक्वान्दोको दूवै विधा ग्योरोगी र पुम्सेको अन्तर्राष्ट्रिय निर्णायक हुन् ।
निर्णायक बनेपछि काजलले जापान, अस्ट्रेलिया र थाइल्यान्डमा निर्णायकको भुमिका निभाइसकेकी छन् । उनले जापानको ओसाकामा उत्कृष्ट निर्णायकको अवार्डसमेत जितेकी थिइन् ।
काजलले उमेर समूहदेखि राष्ट्रिय टिमसम्म गरी एक दशक लामो खेलाडी जीवन बिताएपछि निर्णायकको भूमिकामा देखिन थालेकी हुन् ।
सम्मान कार्यक्रममा ११औं सागका स्वर्ण पदक विजेता समेत रहेका च्याम्पियन मार्सल आर्ट्स क्लबका संस्थापक अध्यक्ष तथा सुनिल लामाले काजलको निरन्तर मिहिनेत, अनुशासन र सफलताप्रति प्रशंसा व्यक्त गर्दै आगामी दिनहरूमा अझ ठूला उपलब्धिहरू हासिल होस् भन्ने शुभकामना व्यक्त गरे । साथै, अध्यक्ष लामाले नगद सहयोग उपलब्ध गराउने मनिता शाही र पुष्प थापा मगरलाई विशेष धन्यवाद व्यक्त गरे ।
सम्मानका लागि एसियाडका कांस्य तथा सागका स्वर्ण र रजत विजेता तेक्वान्दोका पूर्व खेलाडी मनिता शाहीले ३०० तथा पुष्प थापा मगरले १०० अमेरिकी डलर उपलब्ध गराएका थिए ।
सम्मान कार्यक्रममा सिद्धार्थ लामा, पुष्प थापा मगर, जनकसिंह खड्का, तारा रायमाझी, कमल मगरलगायत खेलकुद क्षेत्रका व्यक्तित्वहरू र अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । पुष्प थापा मगरले काजल श्रेष्ठको योगदानप्रति आभार प्रकट गर्दै सबै खेलाडीहरूलाई मेहनत, निष्ठा र निरन्तर अभ्यासमार्फत लक्ष्यतर्फ अगाडि बढ्न प्रेरणा लिन आग्रह गरे ।
च्याम्पियन मार्सल आर्ट्स क्लब युएसए विदेशमा रहेका नेपाली खेलाडीहरूको हौसला अभिवृद्धि गर्दै अन्तर्राष्ट्रिय स्तरमा नेपाली प्रतिभाको पहिचान स्थापित गर्न निरन्तर सक्रियता जनाउँदै आएको छ ।
प्रतिक्रिया 4