
६ वैशाख, पोखरा । पोखराको मुस्ताङचोकमा यात्रुका लागि बनाइएको प्रतिक्षालयमा राजावादी समूहले ७ दिनदेखि रिले अनसन गरिरहेका छन् । सिद्धार्थ राजमार्गस्थित पोखरामा रहेका प्रशासनिक केन्द्र छिर्ने चोक मानिने मुस्ताङचोकमा यात्रुको सुविधा लागि बनाइएको प्रतीक्षालयमा राजावादी समूहले आफ्ना नेताहरु रिहाईको माग गर्दै रिले अनसन गर्दै आइरहेका छन् ।
काठमाडौंमा पक्राउ परेका नेता रिहाइको माग गर्दै पोखरामा भइरहेको रिलेअनसनका कारण यात्रुले प्रतीक्षालय प्रयोग गर्न नपाएको गुनासो गरेका छन् ।
चैत १५ गते काठमाडौंको तीन कुनेमा भएको हिंसात्मक घटनापछि पक्राउ परेका राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवलशमशेर जबरा, दुर्गा प्रसाईंलगायतको रिहाइको माग गर्दै उनीहरूका समर्थकले ७ दिनदेखि रिलेअनसन गरिरहेका हुन् ।
राजा फर्काउनेभन्दै संविधानविरोधी गतिविधि गरिरहेका समूहले पछिल्लो समय नागरिकको ध्यानाकर्षण गराउने प्रयत्न गर्दै आइरहेका छन् । राप्रपा, नागरिक बचाऊ महाभियानका नेता कार्यकर्ताले ७ दिनदेखि रिलेअनसन गरिरहेको हुन् ।
‘राजसंस्थाको पक्षमा विराधे प्रदर्शन गर्दा आफ्ना नेताहरूलाई राज्यले थुनेकाले रिहाइका लागि रिलेअनसन थालेका हौं,’ दुर्गा प्रसाईं नेतृत्वको नागरिक बचाऊ महाअभियानकी शान्ति केसीले भनिन्, ‘हाम्रा नेताहरूलाई रिहाई नगर्दासम्म हामी अनसन बसिरहन्छौं ।’
यात्रुलाई बस चढ्नका निम्ति प्रतीक्षा गर्न, बटुवालाई सुस्ताउनका लागि बनाइएको ठाउँमा राजावादीले अनसन थालेपछि घाममै उभिनुपरेको स्याङ्जाका सञ्जय रेग्मीले बताए ।
‘यो व्यवस्था मन परेन, जनताले दुख पाए बचाउनुपर्छ भन्ने समूहले नै नागरिकलाई दुख दिने गरी अनसन गरिरहेको छ,’ रेग्मीले भने, ‘यसो हेर्दा यो सामान्यजस्तो लाग्ने भए पनि नागरिकको सुविधा कसरी मिचिन्छ भन्ने उदाहरण हो ।’
राप्रपा कास्कीका वरिष्ठ उपाध्यक्ष महेश्वर आचार्यले राज्यले प्रतिशोध साँधेर फरक विचार र आस्थालाई दबाउन खोजेकाले रिलेअनसन गरिएको बताए । उनले प्रतीक्षालयमा सामान भएकाले त्यसलाई हटाएर अनसन गरिएको बताए ।
‘यो पनि नागरिककै हितका लागि गरिएको अनसन हो । शहीद चोकमा गर्ने कि भन्ने थियो, पाइएन,’ उनले भने, ‘प्रशासनिक निकाय छिर्ने ठाउँमा धेरैको नजर गर्ने भएकाले पनि यहाँ गरेका हौं ।’
प्रतिक्रिया 4