+
+
Shares
फिल्म :

यस्तो देखियो ‘भूठान’को काठमाडौं प्रिमियर (तस्वीर)

विनोद पौडेल निर्देशित फिल्मले भुटानबाट लखेटिएर नेपालमा आश्रित शरणार्थीको तेस्रो देश पुनस्र्थापना र त्यहाँ उनीहरूले भोग्नुपरेको पहिचानको संकटको कथा यसमा भनिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख १० गते १३:३६

काठमाडौं । हरिवंश आचार्यको शीर्ष भूमिका रहेको फिल्म ‘भूठान’को प्रिमियर गरिएको छ । सुन्धारास्थित क्यूएफएक्सको सिभिल मलस्थित हलमा मंगलबार बेलुका फिल्म हेर्न नेतादेखि कलाकारको खचाखच उपस्थिती रह्यो ।

शुक्रबारदेखि देशब्यापी प्रदर्शन तयारीमा रहेको फिल्मले समग्रमा सकारात्मक समीक्षा प्राप्त गरेको छ । फिल्म हेर्न अभिनेत्री मनीषा कोइरालादेखि नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीसम्म हलमा पुगेका थिए ।

विनोद पौडेल निर्देशित फिल्मले भुटानबाट लखेटिएर नेपालमा आश्रित शरणार्थीको तेस्रो देश पुनस्र्थापना र त्यहाँ उनीहरूले भोग्नुपरेको पहिचानको संकटको कथा यसमा भनिएको छ । अमेरिकाको ओहायोमा छायांकन गरिएको यो फिल्मको शीर्ष भूमिकामा आचार्यले अभिनय गरेका छन् जहाँ उनलाई भुटानको पूर्वराष्ट्रिय फुटबल खेलाडीको भूमिकामा देख्न सकिन्छ ।

हरिवंशको पात्र अहिले अमेरिकामा पुनस्र्थापित जीवन बाँचिरहेको छ तर ऊ राष्ट्रियता, धर्म र पहिचानको लागि संघर्षरत छ । यसअघि ‘बुलबुल’जस्ता फिल्म निर्देशन गरेका पौडेलको यो पछिल्लो निर्देशकीय फिचर हो । प्रिमियर समारोहमा बोल्दै हरिवंशले छायांकन र अभिनय अनुभव साटे ।

एमाले उपमहासचिव ज्ञवालीले अभिनय र निर्देशकीय पाटोको प्रशंसा गरे । ‘आफ्नो माटो र देशको पहिचान गुमाउनुको पीडा कस्तो हुन्छ भन्ने कुरा विष्णुबहादुर पात्रमार्फत निर्देशकले यति सुन्दर ढङ्गले पस्किनुभएको छ कि हरेक विषयमा हरेक पलमा दर्शकले आफूलाई त्यही पात्रसँग साक्षात्कार गर्छन्’ ज्ञवालीले भने, ‘कुनै दिन मैले त्यसैगरी आफ्नो पहिचान गुमाउनु पर्‍यो भने के होला भन्ने असाध्यै गम्भीर प्रश्नले दर्शकको हृदय हल्लाउँछ ।’

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले यस्ता फिल्मलाई प्रोत्साहित गर्नुपर्ने बताए । ‘यो फिल्मलाई भुटानीले त हेर्ने नै छन् । भुटानी मात्र होइन यो प्रकारको पीडा भोगिरहेका संसारभरिका सबैप्रति मानवीय हृदय राख्दै सबैले यो फिल्मलाई प्रोत्साहित हेर्न जरुरी छ’ उनले भने ।

निर्देशक मीनबहादुर भामले फिल्म रमाइलो लागेको बताए । ‘यो फिल्मको कथावस्तु मर्मस्पर्शी छ । साथै प्राविधिक पक्ष पनि एकदमै राम्रो छ र यो फिल्मको कलाकारहरूको काम एकदमै राम्रो छ’ उनले भने ।

गायिका आनीछोइङ डोल्माले वास्तविक अभिनेताको दर्शन यो फिल्मबाट आफूले पाएको बताइन् । ‘हामीले एउटा साँच्चिकै रियल एक्टरको दर्शन चाहिँ यसपालि यो मूभीबाट पाइयो’ उनले भनिन् ।

अभिनेत्री मनीषा कोइरालाले पनि फिल्मको प्रशंसा गरिन् । उनले प्राविधिक पक्षको प्रशंसा गर्दै फिल्मले एउटा मान्छेको पीडा चित्रण गरेको बताइन् । ‘मेरो विचारमा प्राविधिकरुपमा छायांकन, स्टोरी लाइन, डायलग पनि पोएट्री छ । निकै पीडादायक पोएट्री । यो एकदमै राम्रो छ’ उनले भनिन् ।

निर्देशक निश्चल बस्नेतले निर्देशकीय पक्षको प्रशंसा गरे । ‘क्रिएटरले चाहिँ कसरी आफूलाई लागेको कुरा एकदमै हतार नगरिकन सबैजनाले जोडेर मजाले चाहिँ प्ले गर्नुभएको छ, मलाई उत्सुकता लागेको पार्ट पनि त्यही थियो र पर्फमेन्स पनि राम्रो रोल निर्वाह गर्नुभएको छ’ उनले भने । फिल्मलाई ठकुराठी ब्रोज, भ्याकेन्ट लाइट, एभरेस्ट इन्टरटेनमेन्ट अमेरिकाको सहकार्यमा नेपालको अवेकन प्रोडक्सन् र अमेरिकाको म्याड मंकी फिल्मसले निर्माण गरेको हो ।

तस्वीरहरू : शंकर गिरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?