News Summary
Generated by OK AI. Editorially reviewed.- अमेरिकी वितरण कम्पनी बफेलो ८ ले भूटानी-नेपाली-अमेरिकी फिल्म ‘द वर्ल्ड्स ह्याप्पिएस्ट म्यान’ को विश्वव्यापी अधिकार सुरक्षित गरेको छ।
- फिल्ममा ब्रुस डर्न, हरिवंश आचार्य र दयाहाङ राईले अभिनय गरेका छन् र यो जनवरी ९, २०२६ मा अमेरिकामा अन-डिमान्ड रिलिज हुनेछ।
- फिल्मको कथा विष्णु पात्रको मृत्युपछि परिवारका तीन पुस्तामा सांस्कृतिक र भावनात्मक रुपान्तरण र घरको अर्थबारे बहसमा केन्द्रित छ।
काठमाडौं । अमेरिकी वितरण कम्पनी ‘बफेलो ८’ ले अस्कर र एमी मनोनित अभिनेता ब्रुस डर्न अभिनित भूटानी-नेपाली-अमेरिकी फिल्म “द वर्ल्ड्स ह्याप्पिएस्ट म्यान’ को विश्वव्यापी अधिकार सुरक्षित गरेको छ ।
यससँगै फिल्मले ट्रेलर समेत युट्युबमार्फत सार्वजनिक गरेको छ । नेपालीमा ‘भूठान’ नामाकरण गरिएको फिल्म नेपालका हलमा भने यसअघि प्रदर्शन भैसकेको छ ।
‘वन्स अपन अ टाइम इन हलिउड’ र ‘नेब्रास्का’ जस्ता चर्चित फिल्ममा अभिनय गरेका डर्नले विनोद पौडेल निर्देशित यो फिल्ममा नेपाली दिग्गज कलाकार हरिवंश आचार्य र दयाहाङ राईसँगै अभिनय गरेका छन् ।
ओहायोको एक्रोनमा सेट गरिएको यो फिल्म विष्णु नामक पात्र हरिवंशमा केन्द्रित छ, जो एक भूटानी नेपाली हुन् जसले अमेरिकामा नयाँ जीवन निर्माण गरेका छन् । तर अन्तिम पटक भुटान फर्कने सपना देख्छन् ।
भिसा अस्वीकारपछि उक्त पात्रको अप्रत्याशित रूपमा मृत्यु हुन्छ, जसले गर्दा उनको परिवारका तीन पुस्ताहरूमा आध्यात्मिक, भावनात्मक र सांस्कृतिक रुपान्तरण सुरु हुन्छ । उनीहरू विष्णु पात्रलाई कसरी सम्मान गर्ने र “घर’ को वास्तविक अर्थ के हो भन्ने बारेमा बहस गर्छन् ।
‘बफेलो ८ ले’ टीभीओडी र अन्य डिजिटल प्लेटफर्महरूमा प्रदर्शनको सुरुवाती व्यवस्थापन गर्नेछ । सन् २०२६ को सुरुवातसम्ममा फिल्मलाई अन्तर्राष्ट्रिय बजारमा प्रदर्शनको तयारी छ ।
यो फिल्म जनवरी ९, २०२६ मा अमेरिकामा अन-डिमान्डअनुसार रिलिज हुनुभन्दा अगाडि डिसेम्बर २६ देखि फ्यान्डाङ्गो एट होममा प्रि-अर्डरको लागि उपलब्ध हुनेछ ।
यो फिल्म अमेजन, फ्यान्डाङ्गो एट होम, भेरिजोन फियोस र प्रमुख केबल प्रदायकहरूमा रिलिज हुनेछ, साथै थप प्लेटफर्ममा पनि आउनेछ ।
प्रतिक्रिया 4