
१४ वैशाख, काठमाडौं । काठमाडौंमा हल्का असिनापानी परेको छ । केहीबेरअघिदेखि बानेश्वर, बबरमहल, ललितपुरको भैंसेपाटी लगायतका क्षेत्रमा पानीसँगै हल्का असिना पनि परेको हो ।
पश्चिमी वायु, स्थानीय वायु र बंगालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाको समेत प्रभावका कारण काठमाडौं उपत्यका लगायतका धेरै ठाउँमा पानी परिरहेको छ । यसको प्रभाव केही दिन कायम रहने सम्भावना छ ।
बादल लाग्ने र पानी पर्ने हुनाले तापक्रम केही घट्ने पूर्वानुमान छ । तापक्रम घट्दा गर्मीबाट केही राहत मिल्ने मौसमविद बताउँछन् ।
त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक एवम् मौसमविद् डा. विनोद पोखरेलका अनुसार आज अपराह्नदेखि मेघगर्जनसहित हल्का वर्षाको सम्भावना छ ।
उनका अनुसार वर्षाका कारण सोमबारदेखि तापक्रम घट्ने छ । र, लगभग प्रत्येक दिनजसो वर्षाको सम्भावना रहेको छ । यसले गर्दा गर्मी पनि कम हुँदै जाने उनले बताए ।
जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले काठमाडौं उपत्यका र काभ्रेमा हल्का पानी परिरहेको छ।
आज देशका पहाडी क्षेत्रका केही ठाउँहरूमा मेघगर्जन र चट्याङ सहित हल्का पानी पर्ने सम्भावना छ। हिमाली क्षेत्रका एक/दुई ठाउँमा हिउँ/पानी पर्ने सम्भावना समेत छ।
प्रतिक्रिया 4