१७ वैशाख, काठमाडौं । चेन्नई सुपर किङ्स इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेट २०२५ को प्लेअफ होडबाट बाहिरिएको छ । बुधबार पञ्जाब किङ्ससँग ४ विकेटको हार बेहोरेसँगै चेन्नई ४ खेलअगावै प्लेअफ होडबाट बाहिरिएको हो ।
पञ्जाबले छैटौं जित निकाल्दा चेन्नईले १० खेलमा आठौं हार बेहोरेको हो । चेन्नईले दिएको १९१ रनको लक्ष्य पञ्जाबले १९.४ ओभरमा ६ विकेटको क्षतिमा पूरा गर्यो । पञ्जाबको जितमा कप्तान श्रेयस अय्यरले सर्वाधिक ७२ रन बनाउँदै जितको संघारमा पुर्याएका थिए ।
त्यस्तै ओपनर प्रभसिमरन सिंहले ५४ रन तथा अर्का ओपनर प्रियान्श आर्या र शशांक सिंहले समान २३ रन बनाए । चेन्नईका लागि मथिसा पथिराना र खलील अहमदले २-२ विकेट लिँदा नूर अहमद र रविन्द्र जडेजाले १-१ विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोली चेन्नईले १९.२ ओभरमा अलआउट हुँदै १९० रन बनाएको थियो । कुनै समय २०० पार गर्ने अवस्थामा देखिएपनि अन्त्यतिर नाटकीय रूपमा विकेट पतन हुँदा चेन्नई ४ बल अगावै अलआउट भयो ।
४८-३ को अवस्थामा हुँदा साम करान र डेवाल्ड ब्रेभिस मिलेर चेन्नईको इनिङ उकासेका थिए । करानले सर्वाधिक ८८ रन बनाए भने ब्रेभिसले ३२ रन बनाए । रविन्द्र जडेजाले १७ रन बनाए ।
१८औं ओभरमा साम करान आउट भएपछि क्रिजमा आएका एमएस धोनीले एक चौका र एक छक्का प्रहार गरेपछि चहलको बलमा क्याचआउट भए । त्यसपछि एक बल डट राखेका चहलले लगातार तीन विकेट लिँदै ह्याट्रिक नै पूरा गरे ।
चहलले ४ ओभरमा २९ रन दिएर ४ विकेट लिए भने अर्शदीप सिंह र मार्को यानसेनले २-२ तथा हरप्रीत ब्रार र अजमतुल्लाह ओमरजाइले १-१ विकेट हात पारे ।
यस जितपछि १० खेलमा १३ अंक भएको पञ्जाब अंकतालिकामा दोस्रो स्थानमा उक्लिएको छ भने १० खेलमा ४ अंक मात्र भएको चेन्नई पुछारमा छ ।
प्रतिक्रिया 4