+
+
Shares

सेयर बजारमा म्युचुअल फन्डको लगानी ४६ अर्ब पुग्यो

धेरै लगानी वाणिज्य बैंकका सेयरमा, यी हुन् टप १० होल्डिङ कम्पनी

चैत मसान्तसम्म म्युुचुअल फन्डले सेयर बजारमा गरेको लगानी रकम ४५ अर्ब ९१ करोड रुपैयाँ पुगेको छ । माघ मसान्तसम्म यस्तो रकम ४३ अर्ब ६२ करोड रुपैयाँ थियो ।

कमल नेपाल कमल नेपाल
२०८२ वैशाख २१ गते ९:१३

२१ वैशाख, काठमाडौं । नेपालको सेयर बजारमा संस्थागत लगानीकर्ताको भूमिकामा म्युचुअल फन्ड रहँदै आएका छन् । विभिन्न नामका म्युचुअल फन्ड जारी गरेर मर्चेन्ट बैंकहरूले त्यसको रकम सेयर बजारमा लगानी गर्दै आएका छन् । त्यसरी सेयर बजारमा लगानी भएको म्युचुअल फन्डको रकम करिब ४६ अर्ब रुपैयाँ पुगेको छ ।

चैत मसान्तसम्म म्युुचुअल फन्डले सेयर बजारमा गरेको लगानी रकम ४५ अर्ब ९१ करोड रुपैयाँ पुगेको छ । माघ मसान्तसम्म यस्तो रकम ४३ अर्ब ६२ करोड रुपैयाँ थियो । केही नयाँ फन्ड सञ्चालनमा आएसँगै दोस्रो बजारमा लगानी रकम बढ्न गएको छ । ३६ वटा बन्दमुखी योजना र ९ वटा खुलामुखी योजना सञ्चालनमा छन् । यी फन्डको कुल रकममध्ये सेयर बजारमा लगानी भएको रकम ७३.०७ प्रतिशत हो ।

योजना व्यवस्थापकले सार्वजनिक गरेको विवरणअनुसार म्युचुअल फन्डको कोष आकार कुल ५९ अर्ब ६९ करोड रुपैयाँ छ । योमध्ये ४ अर्ब ७४ करोड रुपैयाँ (७.९४ प्रतिशत) मुद्दती निक्षेपमा जम्मा गरेका छन् ।

फन्डले बढीमा १५ प्रतिशतसम्म मात्रै मुद्दती निक्षेपमा लगानी गर्न पाउँछन् । त्यस्तै ९ अर्ब ५ करोड (१५.१६ प्रतिशत) नगदमा छन् । यो नगद रकमलाई उनीहरुले जुनुसुकै बेला बजारमा कारोबार गर्न सक्छन् । बाँकी करिब ३.८३ प्रतिशत रकम अन्य क्षेत्रमा लगानी छ ।

फन्डको रकमलाई योजना व्यवस्थापकले विभिन्न रणनीतिअनुसार सेयरमा लगानी गरेका हुन्छन् । ‘फन्डले इकाइधनीबाट संकलन गरेको रकम सकेसम्म बढी प्रतिफलमूलक कम्पनी छनोट गरेर लगानी हुन्छ’ एनएमबी क्यापिटलका सीईओ दिपेश वैद्यले भने ‘दैनिक रुपमा कारोबार गर्नका लागि केही नगदमा रहन्छौं ।’

प्राविधिक रुपमा बढ्ने देखिएका कम्पनी सामान्यतः कारोबारका लागि र दीर्घकालीन रुपमा राम्रो प्रतिफल दिने कम्पनी होल्ड गर्नेगरी धेरैजसो म्युचुअल फन्डले रणनीति लिने गरेको उनले बताए ।

म्युचुअल फन्डमा कम्पनीहरूको अध्ययन, अनुसन्धान गर्नका लागि रिसर्च टिम राखिएको हुन्छ । सोही टिमले विभिन्न सूचकहरुलाई केलाउँछन् । रिसर्च टिमले गरेको अध्ययनअनुसार व्यवस्थापन टिमले कम्पनीहरू छनोट गर्छन् ।

‘म्यानेजमेन्ट टिमले निश्चित सेक्टरबाट छनोट गर्ने कम्पनीबारे रिसर्च टिमसँग समन्वय गरिरहन्छ’ वैद्यले भने । मूल्य बढेर नाफा देखिएका कम्पनी बेच्ने, थप बढ्ने देखिएमा होल्ड गर्ने र घटेर औसतभन्दा तल आएका बेला किन्ने जस्ता रणनीति लिने गरेका छन् । म्युचुअल फन्डले पनि सेयरबाट गरेको आम्दानीबाट इकाइधनीलाई लाभांश दिने गर्छन्।

कम्पनीको विश्लेषण गर्न नसक्ने तर सेयर बजारमा लगानी गर्न चाहनेका लागि म्युचुअल फन्डको रोजाइमा परेका सेयर विकल्प हुन सक्छन् । हरेक महिना म्युचुअल फन्डले आफ्नो लगानी विवरण सार्वजनिक गर्दै आएका छन् । यहीं विवरणमा कुन कम्पनीमा कति रकमको सेयर लगानी भएको छ भनेर स्पष्ट उल्लेख गरिएको हुन्छ ।

सञ्चालनमा रहेका ४५ फन्डमध्ये चैत मसान्तसम्म २२ वटाको लगानी वाणिज्य बैंक सेक्टरमा धेरै छ । ९ वटा फन्डको हाइड्रोपावर सेक्टरमा बढी लगानी छ ।

म्युचुअल फन्डले लगानी गरेका कम्पनी, लगानीको औसत मूल्य र बजार मूल्य समेत तुलना गरेर साधारण लगानीकर्ताले रणनीति बनाउन सक्ने लगानीकर्ता बताउँछन् । ‘न्यून मूल्यमा आएकै बेला अथवा म्युचुअल फन्डको औसत लागतभन्दा तल झरेको अवस्थामा ती कम्पनी पनि लगानीका लागि हेर्न सकिन्छ’ लगानीकर्ता सुवासचन्द्र ढुंगानाले भने ।

म्युचुअल फन्डले कुनै कम्पनीको भाउ घट्नेजस्तो देखेमा स्टप लस गर्ने वा एभरेजिङ गर्नेगरी तयारी अवस्थामा रहन्छन् । तर सर्वसाधारणले त्यहीं कम्पनी म्युचुअल फन्डले बेचेका बेला टुप्पोमा किन्ने, घटेका बेला एभरेजिङ गर्न नसक्ने हो वा झन् डराएर बेच्ने हो भने नोक्सानी पनि हुन सक्छ ।

‘म्युचुअल फन्डले खरिद गरेको औसत प्रतिइकाइ मूल्य थाहा भएपछि, बजारमा सोभन्दा तल झरेको अवस्थामा मात्रै खरिद उपयुक्त हुन सक्छ’ ढुंगानाले भने ।

म्युचुअल फन्डले छोटो छोटो समयमा कारोबार गरिरहने भएकाले उनीहरुको होल्डिङ भनेर मात्रै खरिद गर्न नहुने अनुभवी लगानीकर्ताको भनाइ छ । ‘त्यहाँ विज्ञ हुन्छन्, उनीहरुको रोजाइका कम्पनी राम्रा हुन्छन्, तर ती कम्पनी सधैं होल्ड नगर्न सक्छन् उनीहरुले बेचेका बेला मूल्य घट्ने जोखिम पनि हुन्छ, त्यो अध्ययन गर्नुपर्छ’ ढुंगानाले भने ।

वाणिज्य बैंकमा धेरै लगानी

म्युचुअल फन्डले सबैभन्दा धेरै लगानी वाणिज्य बैंकहरुको सेयरमा गरेका छन् । सञ्चालनमा रहेका ४५ फन्डमध्ये चैत मसान्तसम्म २२ वटाको लगानी वाणिज्य बैंक सेक्टरमा धेरै छ । ९ वटा फन्डको हाइड्रोपावर सेक्टरमा बढी लगानी छ । त्यस्तै ७ फन्डले माइक्रोफाइनान्स, ५ फन्डले जीवन बीमा र २ वटाले निर्जीवन बीमा सेक्टरमा बढी लगानी गरेका छन् ।

समग्रमा चैत मसान्तसम्म म्युचुअल फन्डहरुको कुल लगानीको ३६.३८ प्रतिशत वाणिज्य बैंकहरूको सेयरमा छ । विकास बैंकमा १२.०९, हाइड्रोपावरमा १२.०३, जीवन बीमा कम्पनीहरुमा १०.५६, निर्जीवन बीमा कम्पनीहरुमा १०.१४, माइक्रोफाइनान्समा ८.८८ प्रतिशत लगानी गरेका छन् । बाँकी १० प्रतिशत उत्पादन, होटल तथा पर्यटन, संस्थागत फन्ड लगायतमा छ ।

म्युचुअल फन्ड पनि नोक्सानीमा

रिसर्च टिमले नै अध्ययन गरेर कम्पनी छनोट गर्ने म्युचुअल फन्ड पनि नोक्सानीमा रहन सक्छन् । यतिबेला केही फन्डको प्रतिइकाइ खुद सम्पत्ति मूल्य ९न्याभ० अंकित मूल्यभन्दा पनि तल झरेको छ ।

यसको अर्थ फन्डले लगानी गरेको मूल्यभन्दा बजार मूल्य तल झर्नु हो । त्यसैले बजार घट्दा म्युचुअल फन्डले पनि न्याभ गुमाएका हुन सक्छन् । बजारको भविष्य लय मिलाउने विज्ञ हुँदैनन् । तर सही लगानी रणनीतिले मात्रै बजारमा कमाउन सकिन्छ ।

म्युचुअल फन्डका व्यवस्थापकले बजार घट्दै जाँदा सस्तोमा थप सेयर खरिद गर्दै जाने भएकाले लागत मूल्य पनि औसतमा घटाउँदै लैजान्छन् । यसले गर्दा म्युचुअल फन्डको नोक्सानी अल्पकालीन अवधिमा मात्रै रहने गरेको छ ।

त्यति मात्रै होइन, हरेक कम्पनीको आईपीओ खुल्दा म्युचुअल फन्डलाई ५ प्रतिशत कोटा छुट्याइएको हुन्छ । यसले पनि म्युचुअल फन्डको न्याभलाई सन्तुलित राख्न मद्दत पुग्छ ।

बजारमा सूचीकृतमध्ये धेरैजसो म्युचुअल फन्ड अंकित मूल्य १० रुपैयाँभन्दा तल छ । कतिपय फन्डको न्याभभन्दा बजार मूल्य १८ प्रतिशत सस्तो छ ।

लेखक
कमल नेपाल

अनलाइनखबर डटकमको आर्थिक ब्युरोमा कार्यरत नेपाल धितोपत्र बजार विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?