
२१ वैशाख, काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका सांसद कृष्णप्रसाद पौडेलले मुलुकको व्यापार घाटा कहाली लाग्दो रहेको बताएका छन् ।
आइतबार राष्ट्रिय सभामा शून्य समयमा बोल्दै उनले लामो समयदेखि आत्मनिर्भर अर्थतन्त्र सरकारको उच्च प्राथमिकतामा रहेको स्मरण गरे । तर, आम नागरिकको चाहना र अपेक्षा अनुसारको आर्थिक वृद्धि हुन नसकेको घामझैं छर्लङ्ग रहेको बताए ।
भन्सार विभागले हालै सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको ९ महिनामा ६६ अर्ब ५ करोडको स्वायाविन तेल कच्चा आयात भएको छ । २२ अर्ब ६४ करोडको स्वायन फ्लावर कच्चा, १८ अर्ब ५ करोडको धान, १३ अबै ७८ करोडको चामल आयात भएको छ ।
९ महिनाकै अवधिमा १३ अर्ब ७३ करोडको मकै, ७ अर्ब ६४ करोडको स्याउ, ६ अर्ब ४५ करोडको लसुन, ६ अर्ब २ करोडको आलु आयात भएको छ ।
यी विवरण सुनाउँदै कांग्रेस सांसद पौडेलले प्रश्न गरे, ‘यस्तो कहालीलाग्दो व्यापार घाटाले मुलुकको अर्थतन्त्र कता जाँदै छ ?’
अर्थतन्त्र र व्यापार घाटाका तथ्य र तथ्याङ्कलाई गहिरो विश्लेषण गरी आगामी आर्थिक वर्षको बजेट ल्याउन सरकारलाई उनको आग्रह छ । स्वदेशमै उत्पादन हुन सक्ने बस्तुहरूको उत्पादन र उत्पादकत्व वृद्धि गरी व्यापार घाटा न्यूनीकरण गर्न अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई उनको ध्यानाकर्षण छ ।
प्रतिक्रिया 4