२१ वैशाख, काठमाडौं । पञ्जाब किङ्सले आईपीएल क्रिकेट २०२५ को बाँकी खेलका लागि अस्ट्रेलियाका अलराउण्डर मिचेल ओवेनलाई टिममा भित्र्याएको छ ।
अर्का अस्ट्रेलियन अलराउण्डर ग्लेन म्याक्सवेल औंलाको चोटका कारण प्रतियोगिताबाट बाहिरिएपछि पञ्जाबले अस्ट्रेलियन बिग ब्यासका स्टार खेलाडी ओवेन रोजेको हो । उनी ३ करोड भारुमा अनुबन्ध भएका हुन् ।
अस्ट्रेलियाको तास्मानियाबाट आएका मिच ओवेन एक प्रतिभाशाली अलराउन्डर हुन्। उनले हालसम्म ३४ टी२० खेल खेलेका छन् र कुल ६४६ रन बनाएका छन्, जसमा दुईवटा शतक समेत समावेश छन्। उनको उच्चतम स्कोर १०८ रन रहेको छ। साथै उनले १० विकेट पनि लिएका छन्।
ओवेनले गत सिजनको बिग ब्यास लिगमा होबार्ट हुरिकेन्सबाट ओपनिङ गर्दै शानदार ब्याटिङ गरेका थिए । फाइनलमा सिड्नी थन्डर्सविरुद्ध ४२ बलमै शतक बनाएका उनले होबार्टलाई उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेका थिए ।
पञ्जाब किङ्सले आइतबार आफ्नो ११औं खेलमा लखनउसँग धरमशालामा खेल्दै छ ।
प्रतिक्रिया 4