
२२ वैशाख, काठमाडौं । ललितपुरको ग्वार्कोस्थित वैदेशिक रोजगार विभाग अन्तर्गत ईपीएस कोरिया शाखामा धर्ना दिन पुगेका युवाहरुको फोटो खिच्ने क्रममा अनलाइनखबरका फोटो पत्रकारमाथि प्रहरीले दुर्व्यवहार गरेको छ ।
सोमबार दिउँसो ईपीएस शाखाअघि धर्ना दिन पुगेका युवाहरुको फोटो खिच्दा ललितपुर प्रहरीले अनलाइनखबर डटकमका फोटो पत्रकार आर्यन धिमाल र कान्तिपुर दैनिकका फोटो पत्रकार अंगद ढकालमाथि दुव्यर्वहार गरेको हो ।
आफूहरु पत्रकार भएको बताउँदै परिचय देखाउँदा समेत प्रहरीले धम्क्याउँदै गाडीमा हाल्नेसम्मको चेतावनी दिएको छ ।
कोरिया जान पाउनु पर्ने माग राखेर धर्ना दिन ग्वार्को पुगेका युवाहरुलाई हटाउने क्रममा प्रहरीले लाठी चार्ज गरेको थियो । प्रहरीले लाठी चार्ज गर्दै गरेको तस्वीर खिचेको भन्दै फोटो पत्रकारमाथि दुर्व्यवहार भएको छ । पत्रकाहरूलाई समेत फोटो नखिच्न भन्दै नमानेमा नियन्त्रणमा लिनेसम्मको धम्की आएको फोटा पत्रकार धिमाल बताउँछन् ।
यस विषयमा बुझ्दा प्रहरी वृत्त सातदोबाटोको डीएसपी राम कुमार यादव भने पत्रकार भन्ने थाहा नहुँदा त्यस्तो हुन गएको दाबी गर्छन् । ‘म आफैं फिल्डमै थिए । उहाँहरुले पनि हामीहरुसँग कोअर्डिनेट गर्नु भएन । आइडी कार्ड समेत नलगाएको हुँदा नचिनेको हो । पछि आईडी कार्ड देखाएपछि पत्रकार भन्ने चिन्यौं’ यादवले अनलाइनखबरसँग भने ।
भाषा परीक्षा पास गरेको १८ महिना बितिसक्दा पनि कोरिया जान नपाएपछि सरकारलाई दबाब दिन तीन दिनदेखि धर्नामा बसेको धर्नामा सहभागी एक युवक निराजन सिंहले अनलाइनखबरलाई जानकारी दिए ।
प्रतिक्रिया 4