
काठमाडौं । जम्माजम्मी १८ वर्ष लागे प्रोसेस पाण्डे । धादिङ गजुरीका यी किशोर यतिबेला मिडिया हेडलाइनमा छन् । नहुुन् पनि किन ? उनले यसैसाता चर्चित नेपाली रियालिटी टिभी शो ‘भ्वाइस अफ नेपाल’को छैटौं सिजनमा उपाधि जिते ।
प्रतिष्ठित टिभी शोको उपाधि जितेका यी किशोरलाई यतिबेला अन्तर्वार्तामा भ्याइनभ्याइ छ । उनी एकातिर चलिरहेको कक्षा १२ को परीक्षा दिँदैछन् भने अर्कोतिर इन्टरभ्यूको समय व्यवस्थापनको धपेडी छ । यो चटारोमा उनी अनलाइनखबरको स्टुडियोमा गफिए ।
उनलाई सुरुमै सोधियो- अब भ्वाइसपछिको योजना के छ ? उनले भने- ‘राम्रा राम्रा गीत गाउने, प्रोगाम गर्ने, दर्शकलाई मीठा पस्किने योजना छ ।’ उनले आफ्नो जित दर्शक, परिवार, कोच खेम सेन्चुरी र लोकसंगीतको जित भएको बताए ।
‘मेरो जित दर्शक श्रोताको जित हो भन्छु म । मैले जितोस् होस् भन्ने चाहना त सबैको थियो । यो लोकसंगीत, खेम दादा, मेरो परिवार र दर्शकको जित हो । मेरो जित हो भनेर ठान्दिन’ उनी सुनिए ।
समाजसेवामा पनि रुचि राख्ने प्रोसेस पुरस्कारको केही हिस्सा वृद्धाश्रमलाई दिने सोचमा छन् । ‘सानैदेखि ममा समाजसेवाप्रति रुचि छ’ उनले भने । गफगाफमा उनी मच्योर्ड सुनिए । पुराना गीतसंगीतलाई जोगाइराख्नुपर्छ भन्ने धारणा राख्ने उनी पुराना गीतसंगीतको मूल्य घट्न नहुने बताउँछन् ।
ब्लाइन्ड अडिसन र नकआउट राउण्ड आफ्ना लागि चुनौतिपूर्ण रहेको उनको अनुभव छ । ब्लाइन्ड अडिसनमा उनले वरिष्ठ गायक दीप श्रेष्ठको कालजयी गीत ‘हर रात सपनीमा ऐंठन हुन्छ’ गाए । जुन, गीत उनको लागि निकै चुनौतीपूर्ण रह्यो । ‘जहाँ जाँदा पनि मलाई अग्रजको गीत गाउन मनपर्छ’ उनले भने ।
सेमि-क्लासिकल प्रोसेसको ‘फेवरेट’ जनरा हो । ‘पुराना गीतसंगीतको मूल्य घट्नुहुँदैन भन्ने मान्यता राख्ने मान्छे हुँ । यसकारण मलाई सेमी क्लासिकल जनरा मनपर्छ’ उनले भने ।
परिवारले सरकारी जागिर खान दबाब दिइरहनेपनि सानैदेखि आफ्नो अभिरुचि संगीतमा भएको उनी बताउँछन् । ‘मलाई बुबाआमाले सरकारी जागिर खानुपर्छ । लोकसेवामा नाम निकाल्नुपर्छ । तिम्रो भविष्य यसमा देखिन्छ, बुढेसकालमा साथ मिल्छ भनेर भनिरहँदा म जुरुक्क उठेर हिँड्ने । तल झेरेर कोठाको ढोका लगाएर मोबाइलमा गीत सुनेर बस्ने’ उनी विगतमा फर्किए ।
‘संगीतमै केही गर्नुपर्छ भन्ने ढिपी थियो’ उनले भने । उनी पुरानो पुस्ताका गायकहरू नारायणगोपाल, दीप श्रेष्ठ सुन्न रुचाउँछन् । नयाँपुस्तामा सत्य-स्वरुप, प्रमोद खरेल, नरेन्द्र प्यासी, शिव परियारको गीत सुन्न रुचाउँछन् । चन्दनकुमार श्रेष्ठसँग गन्धर्व संगीत विद्यालयमा संगीत सिकिरहेका छन् ।
‘भ्वाइस’मा अन्तिम १२ को प्रतिस्पर्धा चलिरहँदा उनले दीपक विश्वकर्माको संगीतमा एउटा रेकर्ड गरे । ‘सिमसिम पानी वनभरि, तिम्रै माया मनभरि’ बोलको गीतमा उनले भाइरल गायिका रेखा पोखरेलसँग सहकार्य गरेका छन् । प्रोसेसले भ्वाइसको छैटौं सिजनमा कोच खेम सेन्चुरीको समूहबाट प्रतिस्पर्धा गरेका थिए ।
तस्वीर र भिडियो : शंकर गिरी/अनलाइनखबर
प्रतिक्रिया 4