
२२ वैशाख, काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) ले २३ वर्षमा चिकित्सा क्षेत्रका ३६०० जनशक्ति उत्पादन गरेको छ । डीएम/एमसीएच (सुपर स्पेसलिस्ट रिसर्च डिग्री), एमडी/एमएस (स्पेसलिस्ट) र नर्सिङ लगायतका गरी २३ वर्षको अन्तरालमा ३६०० उत्पादन भएको न्याम्सका उपकुलपति प्रा.डा भूपेन्द्र बस्नेतले जानकारी दिए ।
‘एमबीबीएसबाट पढ्न थालेपछि २५ वर्षमा बल्ल विशेषज्ञ चिकित्सक बन्छन्,’ डा. बस्नेतले भने, ‘न्याम्सले एमडी, एमएस गरेका १५०० चिकित्सक उत्पादन गरेको छ ।’
त्यसैगरी डीएम, एमसीएचमा (सुपर स्पेसलिस्ट) १५० भन्दा बढी चिकित्सक उत्पादन भएका छन् । त्यसैगरी, नर्सिङ जनशक्ति १६०० भन्दा बढी उत्पादन भएको डा. बस्नेतले जानकारी दिए ।
‘मेडिकल शिक्षामा लामो समय अध्ययन गर्नुपर्ने हुन्छ । २३ वर्षको दौरानमा न्याम्सका ३६०० जनशक्ति बजारमा छन्,’ डा. बस्नेत भन्छन्, ‘न्याम्सभन्दा पहिल्यै स्थापना गरेका संस्थाले यति जनशक्ति उत्पादन गर्न सकेका छैनन् ।’
हाल चिकित्साशास्त्रका स्नाकोत्तर तहका १५०० विद्यार्थीले न्याम्समा अध्ययन गरिरहेका छन् ।
वि.सं. २०५९ मा सरकारले अध्यादेश जारी गरी वीर अस्पताललाई न्याम्समा स्तरोन्नति गरेको थियो ।
प्रतिष्ठानका रूपमा कार्यरत वीर अस्पताललाई २०६३ सालमा सरकारले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान ऐन नै जारी गरेर विभिन्न शैक्षिक कार्यक्रम (एमडी/एमएस) साथै चिकित्सा शिक्षा तथा स्वास्थ्य सेवामा आधारित अनुसन्धानमूलक शैक्षिक गतिविधि सञ्चालन गर्दै आएको छ ।
न्याम्स स्थापना भएको सोमबार २३ वर्ष पूरा हुनेछ । न्याम्सका उपकुलपति प्रा.डा बस्नेतले न्याम्सले स्वास्थ्य क्षेत्रमा पुर्याएको योगदान र उपलब्धीको स्मरण गर्दै शैक्षिक दायरा विस्तार गर्न स्थापना दिवस मनाउन लागेको जानकारी दिए ।
न्याम्स चिकित्सक उत्पादन गर्ने सबैभन्दा ठूलो संस्था बनेको उनको भनाइ छ ।
‘तत्कालीन सिनियर चिकित्सकले संसारमा भएका कुरालाई हेरेर, सोचेर, बुझेर न्याम्सको स्थापना गर्नुभएको थियो,’ डा. बस्नेत भन्छन्, ‘देशमा पीजी गरेका दक्ष जनशक्तिको ठूलो आवश्यकताले न्याम्सको परिकल्पना भएको थियो ।’
न्याम्स स्थापनासँगै पोस्ट ग्य्राजुएट (पीजी) ट्रेनिङ नगरेको भए चिकित्साशास्त्रको विशेषज्ञतामा ठूलो अभाव हुने उनी तर्क गर्छन् ।
त्यसो त न्याम्स स्थापनाभन्दा एक दशक अगाडि नेपालमा पीजी गर्न पाइँदैनथ्यो । पीजी अध्ययनका लागि रसिया, बंगालादेश लगायतका देश जानुपर्थ्याे। पीजी सिट पाउनै गाह्रो थियो ।
डा. बस्नेत भन्छन्, ‘एमबीबीएस गरेपछि १०/१२ वर्षपछि मात्रै दुःख गरेर पीजी गर्न बाहिर जानुपर्ने अवस्था थियो । त्यसबेलाका तत्कालीन अञ्चल अस्पतालमा पीजी विशेषज्ञता हासिल गरेका चिकित्सक नै हुँदैनथे ।’
तर न्याम्स स्थापनासँगै पोस्ट ग्य्राजुएट डाक्टर, डीएस, एमसीएचका चिकित्सक उत्पादन भएको उनले बताए ।
‘अहिले संघीय, प्रादेशिक, जिल्ला अस्पतालमा विशेषज्ञ चिकित्सक पुग्नुमा न्याम्सको देन छ,’ डा. बस्नेतले भने, ‘अहिले सरकारी अस्पतालमा कुनै एक विशेषज्ञमा १०–१५ जना डाक्टर छन् । यो नै न्याम्सको ठूलो उपलब्धि हो ।’
देशमा आवश्यकता भएको जनशक्ति उत्पादन गर्न न्याम्स गरिरहेको उनले बताए ।
यस वर्षदेखि क्यान्सर रोग सम्बन्धि दुई नयाँ विषयको अध्ययन सुरु गर्न लागेका न्याम्सले जनाएको छ ।
‘क्यान्सर रोगको मेसिन सञ्चालन गर्नका लागि रेडियोथेरापी टेक्नोलोजिष्टको आवश्यकता पर्छ । तर नेपालमा यो विषयको पढाई हुँदैन थियो,’ डा. बस्नेतले भने, ‘अब न्याम्सले यो विधा सुरू गर्न लागेको छ ।’
त्यसैगरी स्वास्थ्य सेवा तर्फ न्याम्सका जनशक्तिले गुणस्तरीय सेवा प्रदान गरिहेको जीकिर गरे ।
‘पठनपाठन गराउँदा अस्पतालमा विशेषज्ञको पनि कमी हुँदैन । पढ्ने पढाउने क्रम हुँदा नयाँ नयाँ अध्ययनको खोजी हुन्छ,’ डा.बस्नेत भन्छन्, ‘यस्तो प्रक्रियाले बिरामीलाई गुणस्तरीय सेवा दिन मद्दत पुर्याउँछ ।’
त्यसैगरी अनुसन्धानको पाट्टोमा पनि न्याम्सले काम गरिरहेको उनले बताए ।
अनुसन्धान गर्न बजेट अभाव हुँदा पर्याप्त मात्रामा अनुसन्धान गर्न नसकिएको डा. बस्नेतको भनाइ छ ।
‘न्याम्स अनुसन्धानको पाट्टोमा केहि कमजोर देखिन्छ । तर न्याम्सले अक्सफोर्ड विश्वविद्यालयको रिसर्च टिमसँग मिलेर काम गरिरहेको छ । कोसिस गरिरहेकै छौं,’ डा. बस्नेतले भने ।
न्याम्सको यस वर्षदेखि थप ६ वटा अस्पतालसँग पठनपाठनका लागि (नयाँ एमओयू) गरेको छ । अहिले न्याम्ससँग २४ वटा अस्पतालले सम्बन्धन पाएका छन् । यस वर्षदेखि स्नातकोत्तर (पीजी) सिट थप्न पनि सफल भएको न्याम्सका डीन डा. अशेष ढुंगानाले बताए ।
‘गत वर्षसम्म न्याम्सले १०७ पीजी सिट पाएका थियो । यसवर्ष बढेर २५० पुगेको छ । यो अवसर पनि हो । यसले बिरामीसँगै विद्यार्थीलाई पनि फाइदा हुन्छ,’ डा. ढुंगानाले भने ।
अबको योजना एमबीबीएस कार्यक्रम सुरु गर्ने तयारी रहेको न्याम्सले जनाएको छ ।
प्रतिक्रिया 4