
२३ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका सांसद धनराज गुरूङले राजसंस्थालाई मरिसकेको बाघको संज्ञा दिएका छन् ।
मंगलबार प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रममाथि बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।
‘२०६२/६३ सालको जनआन्दोलनका क्रममा नेपाली जनताले लखेट्दै लखेट्दै लैजाँदा भीरबाट लडेर मरेको बाघलाई दुई चार जनाले फेरि काँधमा बोकेर यो जिउँदै छ, जिउँदै छ भनेर आउँदैमा हामी पनि त्यही लहलहैमा लागेर साँच्चै जिउँदै हो कि भनेर त्यो मरिसकेको बाघलाई लात्ताले हान्ने हामी पनि उस्तै हौं कि !’ सांसद गुरुङले भने ।
राजसंस्था मरिसकेको बाघको संज्ञा दिएका उनले त्यसको सिनो बोक्नेको काँध पनि गन्हाउने भन्दै छेडखानी गरे ।
‘मरिसकेको बाघको सिनो बाकेर आउने मान्छेको काँध त गन्हाउँछ नै । हामीले पनि लात्ताले सिनोलाई हान्दा हाम्रो खुट्टा पनि त गन्हाउँछ होला नि सभामुख महोदय,’ उनले भने ।
यसतर्फ ख्याल गरेर आफ्नो खुट्टा सफा राख्न पनि कर्ममा ख्याल गर्नुपर्ने बताए । व्यवहारबाट जनताको मन जित्ने गरी काम गर्नुपर्नेमा उनले जोड दिए ।
प्रतिक्रिया 4