
उद्योगी व्यवसायीहरू लगानीका लागि उत्साहित छैनन् । राजनीतिक नेतृत्व शक्ति संघर्षमै व्यस्त छ । दैनिक दुई हजार भन्दा बढी युवाहरू रोजगारीका लागि विमानस्थलमा फ्लाइट कुरेर बस्छन् । कक्षा १२ सक्नेबित्तिकै विद्यार्थीहरू उच्च शिक्षा र साथै केही आम्दानी होस् भन्ने हेतुले विदेशको सपना बुनिरहन्छन् । सत्ता र शक्तिको नजिक हुने केही अपवादबाहेक अन्यका लागि देशमा सम्भावना क्षण हुँदै गएको देखिन्छ ।
चिया चौतारी, चोकदेखि गाउँघरमासमेत यो देशमा केही छैन भन्दै बहस गर्नेहरूको भीड छ । उमेर पुगेकाहरू बेलैमा विदेश जान नपाएकोमा पश्चाताप गर्छन् भने नयाँ युवालाई देशमा नबस्न सुझाव दिन्छन् । १८ वर्ष पुग्नेबित्तिकै अभिभावकसमेत चिन्तित हुन्छन् अब हाम्रो बच्चाको भविष्य के ।
सञ्चारमाध्यमहरूमा आउने समाचारहरू पनि केही गरौं भन्ने भन्दा पनि अहिल्यै यो देश छाडेर जानु नै बुद्धिमानी हुनेछ भन्ने मनसाय बनाउने उत्प्रेरित गर्ने खालका छन् ।
के साँच्चिकै यो देशमा अब केही छैन त ? के यहाँ बसेर केही गर्न सकिँदैन ? के अब घर खर्च चलाउनका लागि पनि मातृभूमि छाड्नैपर्ने दिन आइसक्यो ? यी प्रश्नहरू अहिले गाउँघरदेखि शहरसम्मका आम मानिसका हुन् । प्राकृतिक स्रोत साधन सम्पन्न, भूगोलअनुसार मौसममा भिन्नता र थोरै दु:ख गर्दा पनि मनग्य आम्दानी लिन सकिने यो देश यस्तो कसरी भयो ?
थुप्रै प्रश्नहरू तेर्सिरहँदा पनि यो देशमा केही पनि छैन भन्ने कुरामा सहमत भने छैन । हो देशको स्रोत साधनको अवस्था हेर्दा जति हुनुपर्थ्यो त्यो नभएकै हो । तर, देश मरुभूमि नै बनिसकेको छैन । त्यसमा आम नागरिकको पनि केही अठोट अवश्य हुन्छ तर देशलाई आर्थिक समृद्धिमा कसरी लैजाने भन्ने सोच राजनीतिक नेतृत्व र सरकारको हुन्छ ।
सरकारले आँट र अठोट गर्ने हो भने हाम्रो जस्तो स्रोत साधनले भरिपूर्ण देशको प्रगति हुन धेरै समय लाग्दैन । यहाँ सम्भावनाहरू थुप्रै छन् । तर ती सम्भावनाहरू पहिल्याउन सरकारले नै विशेष योजना ल्याउनुपर्छ । हाम्रो जनशक्तिलाई यही बस्ने मात्र होइन, उनीहरूको व्यक्तिगत उन्नति र राष्ट्रको समृद्धिमा लगाउने योजना सरकारसँग हुनपर्छ ।
विश्वका धनी देशहरूले आफूलाई यहाँसम्म ल्याइपुर्याउन औद्योगिक क्रान्ति गरे। विभिन्न ठूला–ठूला कम्पनीहरू स्थापना गरे । विश्वलाई नै आफ्नो बजार बनाए । तर हाम्रो देशमा अहिले त्यस्ता ठूला कम्पनीहरू तत्कालै स्थापना गरेर आजकै भोलि कायापलट गर्न सकिन्छ भन्ने चाहिँ सहज छैन । तर हामीसँग भएका स्रोत साधन र हाम्रो देशको विशेषता हेरेर लगानी गर्न सकिने हो भने छिट्टै प्रतिफल भने लिन सकिन्छ । त्यसबाट सरकार मात्र होइन, जनता पनि लाभाम्वित हुनेछन् ।
हाम्रो देशको अर्थतन्त्र र हाम्रो अवस्था हेर्ने हो भने अहिल्यै ठूला संरचना निर्माण गरी विश्वका लग्जरियस लाइफ बिताउन चाहनेका लागि गन्तव्यस्थल बनाउन सक्दैनौं । त्यसका लागि अझै कैयौं दशक लाग्छ । तर हामीसँग भएका सम्पत्ति भनेकै प्राकृतिक सम्पदा र धार्मिक सम्पदा नै हुन् । यसबाट तत्काल लाभ पनि लिन सकिन्छ । भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनी संसारभरका बौद्धमार्गीहरूका लागि महत्त्वपूर्ण स्थल हो । भगवान शिवका अवतारमध्ये प्रमुख मानिने पशुपति हामीसँगै छ । त्यो पनि यी दुवै क्षेत्र विश्वसम्पदा सूचीमा सूचीकृत छन् ।
के गर्दा उपयुक्त हुन्छ
सबैभन्दा छिटो र विश्वभरका मानिसहरूको ध्यान आकर्षित गर्न सकिने भनेकै हाम्रा लागि हाम्रो धार्मिक सम्पदालाई विश्वमाझ चिनाएर त्यहाँका धार्मिक पर्यटकलाई भित्र्याउनु हो । त्यसका लागि एक महिनाको कार्यक्रम राख्नुपर्छ। त्यो पनि एकै ठाउँमा भने होइन ।
पशुपतिलाई पहिलो प्राथमिकतामा राखेर कुनै विशेष महायज्ञ गर्न सकियो भने लाखको संख्यामा होइन करोडौं भित्रिन्छन् । शिवरात्रीमा भारतबाट मात्रै दशौं हजार बाबाहरू आउँछन् । तिनलाई फर्किँदा पशुपतिले खर्च दिएर पठाउँछ । तर अब बाबा बोलाउने मात्र नभई यहाँ आएर खर्च गर्ने जनशक्ति बोलाउने कार्यक्रम गर्नुपर्छ ।
त्यसका लागि कम्तिमा एक महिनाको कुनै विशेष कार्यक्रम आयोजना गरौं । अझ हिन्दू धर्ममा आधारित कार्यक्रम गर्दा भारतलाई केन्द्रबिन्दूमा राखौं । भारतमा एक सय करोड हिन्दू धर्मावलम्बीहरू छन् । बेलामौका पारी उनीहरू नेपाल आउँछन् पनि । तर केही हजारको संख्यामा नभएर एकैपटक लाखौं आउने गरी निम्तो गरौं ।
त्यसका लागि सरकारी तवरबाटै कार्यक्रमको आयोजना गरी भारत सरकारसँग नेपालले समन्वय गर्नुपर्यो । हामीले त्यहाँको हिन्दू जनसंख्याको एक प्रतिशत मात्रै पनि भित्र्याउन सक्यौं भने एक करोड मानिसहरू नेपालमा एक महिनामै आउँछन् ।
अन्य मुलुकबाट पनि हजारौंको संख्यामा आउँछन् । भारतबाट मात्रै १ करोड जनसंख्या नेपाल आए र उनीहरूले २० हजार नेपाली रकम खर्च गरेमा नेपालको इकोनोमीमा २ खर्ब पैसा आउँछ । यो पैसा आउनेबित्तिकै सिथिल अर्थतन्त्र एकदमै छिटो ठिक हुन सक्छ । यो रकम भनेको नेपालको बजेटको झण्डैं १२.५ प्रतिशत हो ।
यो महायज्ञ सञ्चालन गर्ने हो भने र भव्य गराउने हो भने कि त नेपालमा विशे्ष अतिथिका लागि मोदी, योगी लगायतका भारीतय नेतालाई पनि बोलाउन सक्नुपर्छ । अर्को कुरा हिन्दुहरूको ठूलो जनसंख्या रहेको भारतमा नेतृत्व तहबाटै प्रमोशनका लागि पहल गराउन सकियो भने १ करोड जनसंख्या हैन ५ करोड जनसंख्या समेत आउन सक्ने मेरो आँकलन हो ।
यो आँकलन अनुसार भारतीय पर्यटक एकैपटक नेपाल आएमा थेगिनसक्नु हुनसक्छ । भारतका मुख्य शहर र धार्मिक गतिविधि हुने स्थानहरूमा प्रमोशन गर्न नेपाल सरकारले कुटनीतिक पहल गर्न जरुरी छ ।
अहिले एक दिन आन्दोलन हुँदा पनि काठमाडौंका सडकमा सास्ती खेप्नुपर्छ । यदि यस्तो ठूलो कार्यक्रम राख्ने हो भने पहिला सरकारले ट्राफिक व्यवस्थापन गर्नुपर्छ । त्यसपछि काठमाडौंमा रहेका जति पनि खाली स्थानहरू छन् त्यहाँ आउने पाहुनाहरूका लागि उचित प्रबन्ध गर्नुपर्छ । आराध्यदेवका नामले परिचित भगवान पशुपतिको दर्शन गर्न लाखौं भारतीयहरू लालायीत छन् । तर उनीहरूलाई यहाँ आउने र दर्शन गर्ने माध्यम सरकारले तयार पारिदिनुपर्छ ।
यस्तै आउने पर्यटकहरू काठमाडौंसम्म मात्र आउने र फर्किने अवस्था नहोस् । उनीहरू पोखरा पनि पुगुन्, चितवन पुगेर गैंडा पनि हेरुन्, सुदूरपश्चिम खप्तड हुँदै कैलाश दर्शनका लागि हुम्लासम्म पुगुन् । सरकारले एकै कार्यक्रमबाट विभिन्न प्याकेजहरू राख्नुपर्छ । त्यसका लागि निजी क्षेत्रसँग सहकार्य गरोस् ।
मुख्य कुरा अझै पनि नेपाल घुम्नका लागि सडक सुरक्षित छैन भन्ने सन्देश छ । त्यसलाई चिर्नका लागि काठमाडौं भित्रिने बाहिर जिल्लाका बाटोहरू स्तरीय बनाउनुपर्यो । यदि हामीले एक महिनामै करोड बढी पर्यटक भित्र्याउने हो भने फूल स्पीडमा सडकको स्तरोन्नतिमा ध्यान दिनुपर्छ । मलाई लाग्छ सरकारले सम्पूर्ण स्रोत साधन जुटाउन सक्यो भने केही महिनामै त्यो काम गर्न सक्छ ।
अहिले पनि भारतबाट गाडी लिएर आउनेलाई धेरै दु:ख दिइन्छ । तर यदि घुम्नकै लागि आएका हुन् भने उनीहरूका सवारी साधनलाई अनावश्यक ठाउँमा रोकेर झन्झटिलो बनाउन हुँदैन । एकपटक आएको पर्यटक कम्तिमा दुई साता बस्न सक्नेगरी खुला हृदयले स्वागत गर्न सक्नुपर्छ । कुनै ठूलो कार्यक्रम राखेर निम्तो दिने हो भने उनीहरूका लागि नेपाल आउने, बस्ने र केही दिन घुमेर खर्च गर्ने वातावरण सरकारले मिलाइदिनुपर्छ ।
हामीले एक वर्षमा यस्ता ठूला कार्यक्रम गरी विश्वभरबाट पाँच करोड पर्यटक मात्र भित्र्याउन सक्यौं भने अहिले देखिएको सुस्त आर्थिक गतिविधि केही दिनमै फस्टाउने छ । उनीहरू यहाँ आएर फर्किएपछि अरुलाई पनि जान प्रेरित गर्नेछन् । कम्तिमा एक महिनालाई भए पनि हाम्रा होटल, यातायात, पर्यटन सबै क्षेत्रले काम पाउनेछन् । तलब दिन नसकेर कर्मचारी कटौती गर्नुपरेका उद्योगी व्यवसायीको उत्पादनले पनि बजार पाउँछ र अझ बढी उत्पादनमा प्रेरित हुन्छन् ।
अहिलेको परिस्थितिमा छोटो समयमा हाम्रो अर्थतन्त्रलाई माथि उकास्ने प्रमुख रामवाण भनेकै पर्यटन हो । त्यसमा पनि धार्मिक पर्यटन । यसका मुख्य दुई कारण छन् । पहिलो हो विश्वभरका प्रमुख धर्ममध्ये दुई हिन्दू र बौद्धका लागि प्रमुख स्थल नेपाल हुनु । अर्को नेपालमा कुनै प्रकारको द्वन्द्व र संघर्ष चलिरहेको छैन । निर्वाध कुनै पर्यटक रात्रिमा सडकमा एक्लै हिँड्दा पनि लुटिने या आक्रमण हुने कुनै प्रकारको थ्रेट छैन । ठूलो कार्यक्रम हुँदा बाहिरबाट हुनसक्ने घुसपैठलाई पनि कडाइ गर्नुपर्छ ।
पहिला एक कार्यक्रम सफल पार्न सक्यौं भने लगत्तै अर्को गर्न पनि सक्छौं । पशुपतिलाई केन्द्रमा राखेर नेपालभरमा धार्मिक स्थल पुग्न सक्ने गरी आयोजना गरिएको कार्यक्रम सफल भयो भने हामीले बौद्धमार्गीहरूलाई पनि त्यसरी नै ल्याउन सक्छौं । यसरी आउने पर्यटकबाट केवल दर्शन मात्र हुनेछैन । उनीहरूले फर्किँदा नेपालको सामाजिक रहनसहन र प्राकृतिक सुन्दरताको अनुभव पनि सँगै लिएर जानेछन् । त्यसले विश्वभरमा नेपालको पर्यटन क्षेत्रका लागि नयाँ ढोका खोल्नेछ ।
हाम्रो भूगोल उनीहरूका लागि घुम्ने मात्र नभइ गर्मी छल्ने हिलस्टेशन पनि हो । त्यसैले धार्मिक कार्यक्रमलाई मुख्य केन्द्रमा राख्दै प्राकृतिक पर्यटनको आधार पनि सँगै जोड्नुपर्छ । तर त्यसका लागि हाम्रो सडक संचना भने चुस्त बनाउन सक्नुपर्छ । यदि हामीले हाम्रो देशको सुन्दरता र यहाँसम्म पुग्न बाटोको पहुँच बनाउन सक्यौं भने गर्मीमा चिसो हावा खान आउने र हिँउदमा हिउँमा चिप्लेटी खेल्दै चिसोको मजा लिन आउने जोडीहरूले डाँडाकाँडा ढाकिनेछन् । त्यसले स्थानीय उत्पादनको माग बढ्नेछ, रोजगारी बढ्ने छ र सरकारले पनि आम्दानी गर्नेछ ।
प्रतिक्रिया 4