
फिल्म प्रदर्शनको तिथि नजिकिएसँगै निर्देशकको मुटुको चाल पनि बढ्छ । अलिकति उत्साह, अलिकति सन्देह, अलिकति डर, अलिकति तनाव । यी सबैको एकमुष्ठ प्रभावले निद हराम हुन्छ । यो भनाइ, भोगाइ र आम बुझाइ हो । हामीले बुझेका यही कुरा सोधेका थियौँ, नविन चौहानलाई ।
कान्छो छिमलका यी निर्देशकले अपेक्षाभन्दा फरक जवाफ दिए । उनले ढुक्कसँग यसो भने, ‘म त एकदमै एक्साइटेड पो छु । कहिले २६ गते आउला र फिल्म देखाउँला भन्ने हतारोमा छु ।’
यो आत्मविश्वासको पछाडि उनको मेहनत, लगाव र रचनाशिल्पले कति काम गरेको छ ? त्यो त सिनेमाको अंकगणितले बताउँला । तर समाजको मनोविज्ञानलाई नविन चौहानले जति सुक्ष्म रुपले बुझेका छन् त्यसको प्रतिछायाँ उनको सिर्जनामा पक्कै पर्नेछ । यसअघि आर्टमान्डुबाट बनेका जति पनि सांगीतिक दृश्यकथा छन्, त्यसले उनको खुबी देखाइसकेको छ ।
अब कुरा गरौं, प्रदर्शोन्मुख फिल्म ऊनको स्वीटरको । पाँचथर–इलामको सेरोफेरोमा जन्मी हुर्केका नविनले आफ्नो मगजमा ‘ऊनको स्वीटर’ बोकेर हिँडेको वर्षौं भयो । त्यो उनको छुटेको स्मृतिहरूको संगालो हो । उनले गुजारेको समय, उनले भोगेको समाज र उनले देखेको परिवेशको सग्लो चित्र हो ।
‘मलाई मेरो समाजको कथा भन्नुछ’ भन्दै हिँडिरहँदा नविनले यसको कथा कसरी बुने ? उनीसँग हामीले सिनेमा निर्माणको प्रक्रियाबारे जान्न खोज्यौँ ।
‘जब फिल्मको नाम ऊनको स्वीटर राख्ने भनी टुंगो गरियो त्यसपछि छायांकनका लागि पाँचथर छनौट भयो’ उनले सुनाए, ‘किनभने त्यो भूगोल र त्यहाँको संस्कृति, रहनसहनसँग म भिजेको थिएँ ।’
समाजमा अनगिन्ती कथाको चाङ मात्र छैन, त्यहाँ जन-जीविकाका अनेक ढंग छन् । अनेक रंग छन् । अनेक धुन छन् । उनलाई के लाग्छ भने, समाजको अवयव नै सिनेमाका लागि सम्पूर्ण खुराक हुन् ।
हामीले यसपटक उनीसँग सिनेमा र समाजको अन्तरसम्बन्धबारे कुरा खोतल्यौं ।
ऊनको स्वीटर : समुदायसँगको सिनेमाको यात्रा
‘ऊनको स्वीटर’ एउटा यस्तो चलचित्र हो, जसले सिनेमाको क्यानभासमा समुदायको जीवन, संस्कृति र सहकार्यलाई सुन्दर ढंगले उभ्याएको छ ।
यो चलचित्र पाँचथरको माटोमा उभिएको छ, जहाँ स्थानीय समुदाय र फिल्म निर्माण टोलीको एउटा नयाँ सिनेमाटिक अनुभव सिर्जना गरेको छ । स्टुडियोमा सिनेमा बनाउँदा फ्रेम र प्राविधिक कुरा बुझ्नु पर्याप्त हुन्छ । तर समुदायमा सिनेमा बनाउँदा त्यस ठाउँको जीवनशैली, माटो र भावनासँग भिज्नुपर्ने हुन्छ । हामीले समुदायमा भिजेर चलचित्र बनायौं ।
हो, ‘ऊनको स्वीटर’ समुदायमा केन्द्रित कथा हो । यो कथालाई सिनेमामा उतार्न मैले आफू नै जन्मिएको, हुर्किएको पाँचथरलाई रोजें ।
किनभने जति बुझेको ठाउँ त्यति वास्तविक देखाउन सक्ने भएकाले आफू जन्मेको र भिजेको ठाउँ भएपछि सहज पनि हुन्छ भनेर हाम्रो टोली पाँचथर पुग्यो । ऊनको स्वीटरमार्फत समुदाय र फिल्म मेकरलाई एउटै पेजमा ल्याएर अन्तरघुलन बनाउने प्रयास गरेको छ । हेर्दा आर्टमान्डुका नविन चौहानको फिल्म जस्तो देखिए पनि भौतिक र सिर्जनात्मकरुपमा राम्रो बनाउन पाँचथरबासीको ठूलो देन छ ।
हामीलाई सिनेमामा भीड चाहिन्थ्यो, मेला चाहिन्थ्यो । त्यस क्षण उनीहरू उपस्थित भएर मात्र होइन, वास्तविक देखिन सिनेमामा चाहिने हरेक तत्वहरूमा योगदान रहेको छ ।
केही काम यसरी गर्दा राम्रो हुन्छ भनेर हस्तक्षेप र सुधारसम्म गरेका छन् । यसले पनि समुदाय र फिल्म निर्देशकको एकीकरणको फिल्म भन्न पनि सकिन्छ । यो झलक पनि फिल्मको एउटा आयाम नै हो ।
सिनेमामा रणनीति र कौशलता पनि हुन्छ । जसमा टिममा रहेको सबैलाई केही न केही भूमिका दिइएको हुन्छ । जसको पूर्ति भएपछि सिंगो चलचित्र बन्छ । यो भइरहने कुरा हो ।
तर, हाम्रो ऊनको स्वीटरमा टोली मात्र होइन । यस बाहेकको समुदायका सदस्य पनि जोडिए । जसले म र हाम्रो टिम यहाँ आउँदा जति खुसी छौं, त्यति नै धेरै पाँचथरमा त्यहाँका सदस्यहरू पनि उत्साहित र खुसी हुनहुन्छ ।
पाँचथरका बासिन्दाले यो सिनेमालाई आफ्नै कथाको रूपमा अँगाले । उनीहरूको सहयोगले यो चलचित्र मेरो मात्र नभएर हाम्रो साझा सपना बन्यो ।
ऊनको स्वीटर एउटा नयाँ सिराबाट चलचित्र बनाउने यात्रा गर्न सफल भयौं कि भन्ने उत्साह पनि छ ।
चलचित्रको आयतन
हाम्रो चलचित्रको बजार कत्रो हो ? स्रोत कति छ ? कुन स्तरसम्म ? कति धनराशी खर्च गरेर बनाउने हो ? यसले पनि चलचित्र निर्देशनमा ठूलो अर्थ राख्छ । प्रत्यक्ष प्रभाव पार्छ । बजेटको आकारले चलचित्रको स्वरुप निर्धारण गर्छ ।
तर यसो भन्दै गर्दा हामी कुन समाजमा छौं ? कुन देशमा छौं ? आर्थिक अवस्थालाई हेरेर सिनेमा बनाउन पर्ने हुन्छ । यसमा नयाँ ढंगबाट कसरी बनाउन वा लान सकिन्छ भनेर धेरै घोत्लिने गर्छु ।
दर्शकलाई कसरी नयाँ स्वाद पस्किने, कथा कस्तो बनाउने भनेर पहिला गीतहरू बनाउँदै अभ्यासहरू गर्थेँ । हामीले छनोट गर्ने सिनेमा अलिकति सामाजिक र यथार्थवादी नै हुन्छन् । त्यो गर्दागर्दै जुन समाजमा जान्छौं, त्यहाँ चलचित्रको बारेमा उहाँहरूको भाषामा बुझाएर चलचित्रमा पनि सहभागी गराउन सकियो भने कस्तो हुन्छ होला भन्ने मेरो पहिलै देखि नै जिज्ञासा र इच्छा पनि थियो ।
एक हिसाबले म आफ्नो कथामा जोड्न चाहन्थेँ, जुन ऊनको स्वीटरबाट सार्थक भयो ।
मैले यहाँ आइपुग्दा भन्नै पर्ने हुन्छ ‘ऊनको स्वीटरबाट म सफल भएँ ।’
पाँचथरबाट पैसाले किनेर नआउने माया पायौँ
ऊनको स्वीटरको एउटा दृश्यमा मेला लगाउनुपर्ने थियो । मेला भनेपछि सानोतिनो भीडले नपुग्ने । सैयौं मान्छेको चहलपहल देखाउनुपर्ने । यदि हलिउड, बलिउडमा हुँदो हो त यसका लागि हामीले एक–एक मान्छे खोज्नुपर्ने हुन्थ्यो र सबैलाई पारिश्रमिक दिनुपर्ने हुन्थ्यो । तर, हामीसँग त्यति पर्याप्त बजेट हुँदैन ।
अब के गर्ने त ? हामीले पाँचथरको गाउँमा पुगेर मेलाको दृश्य राख्ने कुरा गर्यौं । सबैलाई आइदिनका लागि अनुरोध गर्यौं । रोचक त के भइदियो भने, सबैजना आएनन् मात्र मेला नै लगाइदिए । कसैले सेल बेच्ने, कसैले थुक्पा, कसैले बदाम बेच्ने, कसैले उँखु । त्यहाँ साँच्चै नै मेला लाग्यो । हामीले त्यसको जीवन्त दृश्यहरू कैद गर्न सक्यौं । अर्को विवाहको दृश्यमा पनि यस्तै माहोल तयार भएको थियो ।
फिल्म छायांकनका क्रममा हाम्रो टिमलाई व्यवस्थापनका लागि पनि पाँचथरले एकदमै सहयोग गर्यो । खान, बस्नका लागि स्थानीयले पाहुनाको रूपमा सत्कार गरे । आलोपालो गरेर हामीलाई खुवाउने, सुताउने व्यवस्था गरे । छायांकन सकेर फर्कंदा रुवाबासी नै चल्यो ।
सिनेमाको जादू
कुनै पनि कथालाई क्यामरा, लेन्स र अन्य उपकरणले सुसज्जित गरेर पात्रलाई देखाउने कला सिनेमा हो । त्यो लेन्समा रहेर सिनेमाको क्यानाभास कोरेर कथा उतार्दै गर्दा नजानिँदो ढंगले कहिलेकाहीँ नसोचेको प्रतिफल दिन सक्छ । नसोचेको सुन्दरता पनि पाउन सकिन्छ । दुईजनाको संवाद पनि क्यामराले अर्को स्तरमा लगेर देखाउन सक्छ । यो भनेको सिनेमाको शक्ति हो ।
सिनेमा दृश्य भाषा हो, जसले सानो ठाउँको अस्तित्वमा रहेकोलाई एकैपटक विश्वव्यापी गराउन सक्छ । संसारकै लागि स्वादिष्ट परिकार पस्किने सामर्थ्य सिनेमाले राख्छ ।
हामीसँग समाजमा जसरी कथा, संस्कार, संस्कृतिको सुन्दर पक्ष लुकेका छन् । त्यहाँ सिनेमाको ढंगबाट क्यामरा जानु जरुरी छ । ती सुन्दर पक्षलाई प्राविधिक रुपमा पनि निखारेर तिखारेर सिनेमाको क्यानाभासभित्र अटाएर प्रस्तुत गर्न सक्यौं भने अभुतपूर्व नतिजा लिएर आउँछ ।
हामीले त्यहाँको सिन वा इभेन्ट नै खिच्ने हो । तर, त्यहाँ कस्तो सिन बनाउने वा कस्तो किसिमको घट्ना घटाउने हो । स्क्रिन प्ले कस्ता हुन्छन् भनेर हामीले कल्पना गर्ने हो।
यो सिनेमाको डिजाइन गरिरहँदा मलाई दुई वटा विकल्प थियो, बजारको माग पूरा गर्ने कि समाजले गुमाउँदै गएको कथालाई पुनर्जीवित गर्ने ? मैले दोस्रो बाटो रोजें ।
कतिपय परम्परा समाजबाट लोप भएर गएका छन् । ती परम्परा हाम्रो पुर्खाको जीवन पद्धति मात्र थिएन, सीप र कला पनि थिए । त्यस्ता थुप्रै कुरालाई मैले यस फिल्ममा देखाउने यत्न गरेको छु, दशकौं पछिको समाजमा फर्किएर ।
काफ्लेको किस्सा
अहिले हाम्रो काफ्ले गीत चर्चामा छ । यो गीत भारत र नेपालको सिमाना फालेलुङको चारहाते भन्ने स्थानमा छायांकन गरिएको हो । गीत सार्वजनिक भएपछि त्यो ठाउँबारे सर्वत्र खोजी भइरहेको छ । त्यस ठाउँको स्थानीय तहले पनि राम्रोसँग प्रवर्द्धन गरिरहनु भएको छ । पर्यटकीय हिसाबले त्यो ठाउँले पहिले जुन खालको प्रवर्द्धन चाहेको थियो त्यो भइरहेको थिएन । यो गीत निस्किएपछि यसमा भइरहेको चासोले पनि मद्दत पुग्छ भन्ने लाग्छ ।
एउटा घरले हामीलाई पर्खिरहेको छ । खोलानाला र डाँडाकाँडाहरूमा बिताएका सम्झनाहरू छन् । त्यहाँ ऊनको स्वीटरको छाप छ ।
सिनेमा दुई घण्टाको मनोरन्जनात्मक खुराक मात्र नभई समाजले नदेखाएको प्रतिबिम्ब र समयले लुकाएको दस्तावेज पनि हो । साथसाथै हामीले समाजमा सिनेमाको पदचाप पनि छाडेर आएका छौं, जसले गर्दा त्यो समाज र यो सिनेमा सधैं एकाकार भइरहनेछ ।
फोटो–भिडियो : शंकर गिरी
प्रतिक्रिया 4