+
+
Shares

भारत-पाकिस्तान सीमा क्षेत्रमा पुनः गोलाबारी

‘जहाँ म छु, त्यहाँबाट अहिले पनि बीच–बीचमा विस्फोटको आवाजहरू सुनिँदैछन्, सम्भवतः ठूला मिसाइलका,’ जम्मु र कश्मीरका मुख्यमन्त्री उमर अब्दुल्लाहले सामाजिक सञ्जाल एक्समा लेखेका छन्।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख २६ गते २२:१०

२६ वैशाख, काठमाडौं । भारतीय प्रशासित क्षेत्र कश्मीरको जम्मु शहरमा दोस्रो दिन पनि पुन: गोलाबारी सुरू भएको छ ।

समाचार एजेन्सी अलजजिराका अनुसार कश्मीरको जम्मु शहरमा ब्ल्याकआउट भएपछि रातको विस्फोटको आवाज सुनिएको हो ।

‘जहाँ म छु, त्यहाँबाट अहिले पनि बीच–बीचमा विस्फोटको आवाजहरू सुनिँदैछन्, सम्भवतः ठूला मिसाइलका,’ जम्मु र कश्मीरका मुख्यमन्त्री उमर अब्दुल्लाहले सामाजिक सञ्जाल एक्समा लेखेका छन्।

उनले यसअघि लेखेको अर्को पोस्टमा भनेका छन्, ‘अहिले जम्मुमा अन्धकार छाएको छ। शहरभरि साइरनको आवाज सुनिन थालेको छ।’

मुख्यमन्त्री अब्दुल्लाहले केही घण्टाका लागि सडकमा ननिस्कन स्थानीयहरूलाई आग्रह गरेका छन् ।

‘म जम्मु र वरपर रहेका सबैलाई हार्दिक अनुरोध गर्दछु  कृपया केही घण्टाका लागि सडकमा ननिस्कनुहोस्,’ उनले आग्रह गर्दै भनेका छन्, ‘घरमै बस्नुस् वा तपाईं सहज रूपमा बस्न सक्ने सबैभन्दा नजिकको सुरक्षित स्थानमा रहनुहोस् अफवाहलाई बेवास्ता गर्नुहोस्, कुनै अपुष्ट वा नपुष्टि गरिएका कुराहरू नफैलाउनुहोस्। हामी सबै मिलेर यो परिस्थितिबाट सुरक्षित रूपमा अगाडि बढ्नेछौँ।’

द्वन्द्वको पृष्ठभूमि

सन् १९४७ मा भारत विभाजित भएर पाकिस्तान बनेको थियो । बेलायती उपनिवेशले कोरेको विभाजनको रेखाअनुसार मुस्लिम-प्रमुख पाकिस्तान र हिन्दू-प्रमुख भारतका रूपमा विभाजित भयो । यसपछि मानव इतिहासमा सबैभन्दा ठूलो  र शायद सबैभन्दा रक्तपातपूर्ण आप्रवासन भएको थियो।

७८ वर्षपछि, दुई देशहरू पुनः कडा दुश्मनको अवतारमा एकअर्काका सामु प्रस्तुत भइरहेका छन् । दुवै राष्ट्र आणविक हतियार सम्पन्न छन्।

अप्रिल २२ मा भएको पहलगाम हमलापछि भारत र पाकिस्तान बीचको तनाव फेरि तीव्र रूपमा बढेको छ ।

मुस्लिम-बाहुल्य कश्मीर क्षेत्र भारतको विभाजनदेखि नै विवादित भूमि बनेको छ । भारत, पाकिस्तान र चीनले कश्मीरको एक-एक हिस्सा नियन्त्रण गरेका छन् ।

दुई देशहरूले चार पटक युद्ध गरेका छन्, र धेरै सिमाना-पार झडप र तनावपूर्ण अवस्थाको सामना गर्दै आएका छन् । केही वर्षअघि सन् २०१९ मा कम्तीमा ४० भारतीय सैनिकहरूलाई पाकिस्तान आधारित सशस्त्र समूह, जैश-ए-मुहम्मदले गरेको आत्मघाती हमलामा मारिएका थिए ।

प्रतिशोधमा, भारतले सोही महिनामा बलाकोट, खैबर पख्तुनख्वामा हवाई हमला गरेको थियो । यसबाट पाकिस्तानमा आश्रित रहेका भनिएका आतंकवादी आधार क्षेत्रहरू क्षतिग्रस्त बनेको भारतले जिकिर गर्‍यो ।

अमृतसर शहरमा विस्फोट र ‘भीषण गोलीबारी’ को आवाज

साक्षीहरूले समाचार संस्था रोयटर्सलाई दिएको जानकारी अनुसार भारतको उत्तरपश्चिमी राज्य पञ्जाबको अमृतसर शहरमा चारवटा विस्फोटको आवाज सुनिएको छ। अमृतसर पाकिस्तानको सीमा नजिकै रहेको शहर हो, जुन सीमाबाट करिब ३० किलोमिटर टाढा पर्छ।

अलजजिराका अनुसार पत्रकार रविन्दर सिंह रोबिनले पनि शहरमा  ‘भीषण गोलीबारीको आवाज’ सुनिएको रिपोर्ट गरेका छन्।

‘केही समयअघि मात्र, अमृतसरको अजनाला रोड नजिक एयर फोर्स क्यान्टोनमेन्ट क्षेत्रमा भीषण गोलीबारीको आवाज सुनियो,’ उनले एक्समा एक भिडियोसहित पोस्ट गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?