+

आवासीय चिकित्सकसँग भएको सहमति अनुसार कार्यदल गठन

२०८२ वैशाख  २८ गते १७:३५ २०८२ वैशाख २८ गते १७:३५
आवासीय चिकित्सकसँग भएको सहमति अनुसार कार्यदल गठन

News Summary

Generated by OK AI. Editorially reviewed.
  • स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आवासीय चिकित्सकसँगको सहमति कार्यान्वयनका लागि कार्यदल गठन गरेको छ।
  • कार्यदलले चिकित्सकहरूको बिदा, ड्युटी समय र अतिरिक्त सुविधाका विषयमा वर्तमान अवस्थाको मूल्यांकन गर्नेछ।
  • अन्तर्राष्ट्रिय अभ्यासहरूसँग तुलना गरी सुधारका लागि सिफारिसहरू तयार पार्ने जिम्मेवारी पनि कार्यदललाई दिइएको छ।

२८ वैशाख, काठमाडौं । आवासीय चिकित्सकसँग भएको सहमति कार्यान्वयनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले एक कार्यदल गठन गरेका छन् । गत वैशाख २० गते मन्त्री पौडेलको उपस्थितिमा आवासीय चिकित्सकका विषयमा नेपाल चिकित्सक संघसँग विभिन्न सहमति भएको थियो ।

४ बुँदे सहमतिको दोस्रो बुँदामा आवासीय चिकित्सकको ड्युटी समय, बिदा तथा अतिरिक्त सुविधा लगायतका विषयमा सुझाव दिन कार्यदल गठन गर्ने भनिएको थियो ।

उक्त सहमति अनुसार सुझाव दिनका लागि स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. टंक बारकोटीको संयोकजत्वमा कार्य दल गठन गरिएको मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले जानकारी दिए ।

बुढाथोकीका अनुसार समितिका सदस्यमा चिकित्सा शिक्षा आयोगका योजना समन्वय तथा प्राज्ञिक उन्नयन निर्देशक प्रा.डा. सुजनबाबु मरहट्टा , त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानका डीन प्रा.डा. मोहन शर्मा, मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखा प्रमुख डा. कृष्णप्रसाद पौडेल सदस्य छन् ।

यसैगरी, मन्त्रालयको प्रशासन महाशाखा प्रमुख ऋषिराज आचार्य, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका रेक्टर प्रा.डा. लोचन कार्की, काठमाडौं विश्वविद्यालयका डीन प्रा.डा. मनोज हुमागाईं, निजी मेडिकल कलेजका तर्फबाट डा. सुमेश मिश्र सदस्य पनि कार्यदलको सदस्य रहेका छन् ।

मन्त्रालयकी अधिकृत डा. सुनिता लम्साल सदस्य सचिव रहेको बुढाथोकीले बताए ।

कार्यदललाई आवासीय चिकित्सकको बिदा, ड्युटी आवर तथा अतिरिक्त सुविधा लगायतका विषयमा अहिलेको अवस्था मूल्यांकन गर्ने कार्यादेश दिइएको छ ।

यसैगरी, यस सम्बन्धमा अन्तर्राष्ट्रिय अभ्यासहरूसँग तुलना गर्न र सुधारका लागि कार्यान्वयनयोग्य सिफारिसहरू तयार पार्न पनि भनिएको छ ।

कार्यदललाई प्रतिवेदन गर्न पेस गर्न दुई साताको समय दिइएको छ ।

आवासीय चिकित्सक
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय