३० बैशाख, ललितपुर । काठमाडौं महानगरपालिका गोदावरी नगरपालिकाको आयोजनामा जारी उपत्यकाव्यापी अन्तरपालिका खुला गोदावरी मेयर कप फुटबलको फाइनलमा पुगेको छ ।
गोदावरी–१० टाहाखेलस्थित निर्माणाधीन गोदावरी बहुउद्देश्यीय रंगशालाको झ्यालुन्टार मैदानमा मंगलबार सम्पन्न पहिलो सेमिफाइनलमा काठमाडौं महाजगरले कीर्तिपुर नगरपालिकालाई ३-० ले हराउँदै उपाधी नजिक पुगेको हो । पहिलो संस्करणमा चन्द्रागिरीलाई हराउँदै काठमाडौंले उपाधी जितेको थियो ।
अब काठमाडौंले गोदावरी नगरपालिका र दक्षिणकाली नगरपालिकाबीच हुने दोस्रो सेमिफाइनल खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।
काठमाडौंका जितमा म्यान अफ दि म्याच मनिष सेढाईले २ गोल गरे भने राज पौडेलले एक गोल थपे ।
पहिलो हाफको अन्तिम समयमा काठमाडौंले दुई गोल गरेको थियो । मनिष सेढाईद्ये ४५औं मिनेटमा गोल गर्दै काठमाडौंलाई अग्रता दिलाएका थिए । राज पौडेलले इन्जुरी टाइममा अग्रता दोब्बर पारे ।
सेढाईले ७९औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै काठमाडौंको जित पक्का गरे ।
आयोजक गोदावरी नगरपालिका र दक्षिणकाली नगरपालिकाबीच बुधबार दोस्रो सेमिफाइनल खेल हुनेछ । फाइनल खेल जेठ २ गते हुनेछ ।
प्रतियोगिताको विजेता टिमलाई ५ लाख र उपविजेतालाई ३ लाख रुपियाँसहित ट्रफि पुरस्कार प्रदान गरिनेछ ।
प्रतिक्रिया 4