३१ वैशाख, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग एनपीएल क्रिकेट २०२५ को तयारी सुरु गरेको छ । फ्रेन्चाइज मालिकहरूसँगको सहकार्यमा दोस्रो सिजनका लागि रणनीतिक योजना र नीतिहरू अघि बढाएको हो।
नेपाली क्रिकेटलाई थप व्यावसायिक र प्रतिस्पर्धात्मक बनाउने उद्देश्यसहित क्यानले एनपीएलको दोस्रो संस्करणलाई भव्य रुपमा सफल बनाउने तयारी थालेको हो।
यस सिजनलाई अझ व्यवस्थित, आकर्षक र अन्तर्राष्ट्रिय स्तरको बनाउन फ्रेन्चाइज टिमहरूसँग परामर्श गरी नयाँ योजना र कार्यक्रमहरू निर्माण गरिँदैछ। प्रतियोगिताको तालिका, खेल स्थान, खेलाडी दर्ता प्रक्रिया लगायतका विषयमा छलफल भइरहेको क्यानले जनाएको छ।
एनपीएलको पहिलो सिजनको सफलताले नेपाली क्रिकेटमा ठूलो उत्साह र सम्भावना देखाएको भन्दै क्यानले दोस्रो सिजनलाई अझ प्रभावकारी बनाउन तयारी तीव्र पारेको हो।
एनपीएलको दोस्रो सिजन नोभेम्बर पहिलो साता देखि सुरु गर्ने तयारी छ । फ्रेन्चाइजहरुसँग हुने आगामी मिटिङबाट लिगको मिति तय हुने सम्भावना छ ।
दोस्रो सिजनका लागि मिनी अक्सन आउँदो अगस्टमा गर्ने तयारी छ भने त्यसअघि खेलाडी रिटेन्सनबारे पनि अब केही दिनमै जानकारी दिइने जनाइएको छ ।
प्रतिक्रिया 4