
News Summary
Generated by OK AI. Editorially reviewed.- अमेरिका र साउदी अरबले ६०० अर्ब डलरभन्दा बढीको ऐतिहासिक रक्षा र आर्थिक सहयोग सम्झौता गरेका छन्, जसमा १४२ अर्ब डलरको हतियार बिक्री समावेश छ।
- यो सम्झौता साउदी अरबलाई क्षेत्रीय सैन्य शक्ति र प्रविधि क्षमतामा सुधार ल्याउने उद्देश्यले गरिएको हो र यसले दुई देशबीचको रणनीतिक साझेदारीलाई गहिरो बनाएको छ।
- साउदी अरब र इरानबीचको दीर्घकालीन प्रतिस्पर्धालाई मध्यनजर गर्दै, यस सम्झौताले साउदीको सैन्य र रणनीतिक क्षमतालाई तीव्रता दिने र क्षेत्रीय स्थिरता कायम गर्न मद्दत गर्ने अपेक्षा गरिएको छ।
१ जेठ, काठमाडौं । अमेरिका र साउदी अरबले मंगलबार अर्बौं डलरको ऐतिहासिक आर्थिक तथा सैन्य सहयोग प्याकेजमा हस्ताक्षर गरेका छन् । ह्वाइट हाउसका अनुसार ६०० अर्ब अमेरिकी डलरभन्दा माथिको यो प्याकेजमा ‘इतिहासकै सबैभन्दा ठूलो हतियार सम्झौता’ पनि समावेश गरिएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको साउदी अरब भ्रमणको क्रममा राजधानी रियादमा यो प्याकेज घोषणा गरिएको हो । यसमा रक्षा, ऊर्जा, पूर्वाधार र कृत्रिम बुद्धिमत्ता (एआई) जस्ता रणनीतिक क्षेत्रहरूमा सहकार्य समावेश गरिएको छ, जसको प्रभाव व्यापारभन्दा पर पुग्ने बताइएको छ ।
यस प्याकेज अन्तर्गत साउदी अरबलाई अत्याधुनिक प्रविधिले सुसज्जित बनाउन १४२ अर्ब डलरको सम्झौता गरिएको छ । यसका साथै साउदी अरबले अमेरिका भित्र डेटा सेन्टर, उड्डयन, स्वास्थ्य सेवा र खनिज क्षेत्रमा अर्बौं डलरको लगानी गर्नेछ ।
यी सबै घोषणा ट्रम्पको चार दिने मध्यपूर्व भ्रमणको पहिलो दिन गरिएको हो, जसको सुरुआत साउदी अरबबाट भएको थियो । साउदीको भ्रमण सकेर ट्रम्प कतार र संयुक्त अरब इमिरेट्स (यूएई)को भ्रमणमा गएका छन् ।
अर्बौं डलरको रक्षा सम्झौता
ह्वाइट हाउसले जारी गरेको विज्ञप्तिअनुसार अमेरिका र साउदी अरबले घोषणा गरेको प्याकेजमा ६०० अर्ब डलरभन्दा माथिको आर्थिक, वाणिजिक र सैन्य सम्झौता समावेश छन् ।
सबैभन्दा ठूलो सम्झौता भने अमेरिकाले साउदी साझेदारलाई झन्डै १४२ अर्ब डलर बराबरको हतियार बिक्री गर्नु हो । यसलाई अमेरिकाले ‘इतिहासको सबैभन्दा ठूलो रक्षा सम्झौता’ बताएको छ ।
यस सम्झौतामा पाँच प्रमुख बुँदाहरू समावेश छन् :
· साउदीको हवाई तथा अन्तरिक्ष क्षमतामा मजबुती ल्याउने
· मिसाइल रक्षा प्रणाली
· समुद्री तथा तटीय सुरक्षामा सुधार
· स्थल तथा सीमापार सुरक्षा फौजको आधुनिकीकरण
· सूचना तथा सञ्चार प्रणाली सुधार
यसमा साउदी सेनाको सञ्चालन क्षमतामा सुधार ल्याउन सैन्य मेडिकल शैक्षिक तथा सेवामा तालिम र प्राविधिक सहायता कार्यक्रमहरू पनि समावेश छन् ।
सम्झौतापछि ट्रम्पले भनेका छन्, ‘म अमेरिका वा हाम्रा साझेदारहरूको सुरक्षाका लागि अमेरिकी शक्ति प्रयोग गर्न कहिल्यै हिच्किचाउने छैन ।’
विदेश नीति विश्लेषक ड्यानियल डिपेट्रिसले भनेका छन्, ‘यो सम्झौताले साउदी अरबलाई क्षेत्रीय सैन्य शक्तिको रूपमा अझ सुदृढ बनाउने छ । साउदी सेनासँग पहिलेदेखि नै अमेरिका निर्मित उत्कृष्ट उपकरणहरू छन् ।’
सेनाभन्दा परको सहयोग
यो मेगा डिल घोषणा हुँदा ट्रम्प र साउदी क्राउन प्रिन्स मोहम्मद बिन सलमानबीच निकटतासँगै सार्वजनिक गरिएको थियो । साउदीले ट्रम्पको स्वागत अत्यन्तै भव्य ढंगले गरेको थियो । उनीसँगै एलन मस्क, ब्ल्याकस्टोन र ब्ल्याकरक जस्ता एसेट म्यानेजमेन्ट कम्पनीका अधिकारीहरू पनि थिए ।
बीबीसीका अनुसार यो स्वागत अमेरिका पूर्वराष्ट्रपति जो बाइडनको साउदी भ्रमणको समयमा पाएको स्वागतभन्दा धेरै भिन्न थियो । सन् २०२२ मा इन्धनको मूल्य घटाउन अमेरिकी पूर्वराष्ट्रपति जो बाइडनले साउदी भ्रमण गरेका थिए, तर त्यसबेला स्वागत खासै आत्मीय नदेखिएको बीबीसीले लेखेको छ ।
सन् २०१८ मा पत्रकार जमाल खशोग्गीको हत्या भएपछि दुई देशबीचको सम्बन्धमा तनाव आएको थियो । त्यसपछि बाइडनले साउदी भ्रमण गर्दा त्यो तनाव अझ स्पष्ट भएको थियो । तर ट्रम्पको अहिलेको भ्रमणको क्रममा ती सबै कुरा पछि परेको देखिन्छ ।
ट्रम्पले भने– हामीसँगै सफल हुनेछौं
ट्रम्पले साउदी अरबसँगको सम्झौतालाई मध्यपूर्वका लागि ‘नयाँ उज्यालो युग’ को सुरुवात भनेका छन् ।
‘हामीले सँगै मिलेर अदभूत प्रगति गरेका छौं,’ ट्रम्पले भनेका छन्, ‘हजार वर्षमा पहिलोपटक विश्वले यो क्षेत्रलाई युद्ध र मृत्युको भूमि होइन, आशा र अवसरको भूमिको रूपमा हेर्नेछ । हामी सँगै काम गर्नेछौं, सँगै सफल हुनेछौं, सँगै जित्नेछौं र सधैं मित्र रहनेछौं ।’
त्यसैगरी मोहम्मद बिन सलमानले यो सम्झौताले दुई देशबीचको ‘गहिरो आर्थिक सम्बन्ध’ प्रदर्शन गरेको बताएका छन् । उनले थप भनेका छन्, ‘आगामी महिनाहरूमा यो सम्झौतालाई एक ट्रिलियन डलरसम्म विस्तार गरिनेछ ।’
साथै, सहयोग केवल आर्थिक क्षेत्रमा मात्र नभई सुरक्षा, स्थायित्व र क्षेत्रीय शान्तिसँग पनि जोडिएको उनले उल्लेख गरेका छन् ।
रक्षा बाहेक अन्य क्षेत्र पनि समावेश
ह्वाइट हाउसका अनुसार, डेटाभोल्ट नामक साउदी कम्पनीले अमेरिका भित्र डेटा सेन्टर तथा ऊर्जा पूर्वाधारमा २० अर्ब डलर लगानी गर्नेछ । गुगल–ओरैकल, सेल्सफोर्स, एएमडी र उबर जस्ता प्रविधि कम्पनीहरूसँग साझेदारी गरिनेछ ।
दुबै देशबीच ‘परिवर्तनकारी प्रविधि’ मा ८० अर्ब डलर लगानी गरिनेछ ।
१४.२ अर्ब डलरको ग्यास पाइपलाइन तथा टरबाइन निर्यातसम्बन्धी सम्झौतामा पनि हस्ताक्षर गरिएको छ ।
साथै साउदी एयरलाइन अविलिजले ४.८ अर्ब डलरमा बोइङ ७३७–८ विमान खरिद गर्नेछ ।
यस प्याकेजमा साउदीको लगानी अमेरिकी उद्योगतर्फ ल्याउन विभिन्न क्षेत्रीय कोषहरू बनाइने छ । यस अन्तर्गत ऊर्जा क्षेत्रका लागि ५ अर्ब डलर, एयरोस्पेस तथा डिफेन्स प्रविधिका लागि ५ अर्ब डलर, र विश्व खेलकुदका लागि ४ अर्ब डलरको कोष बनाइने छ ।
उत्खनन, खनिज स्रोत, ऊर्जा र एयरोस्पेसमा सहकार्यका लागि समझदारी पत्र (एमओयू) मा पनि हस्ताक्षर गरिएको छ ।
इरानलाई सन्देश
गत एक दशकमा साउदी अरबले क्षेत्रीय सैन्य शक्ति बन्ने लक्ष्यमा अर्बौं डलर लगानी गर्दै आधुनिक हतियारहरू किनेको छ ।
विशेषज्ञहरूका अनुसार अमेरिका–साउदी बीचको यो मेगा डिल, विशेषगरी १४२ अर्ब डलरको हतियार सम्झौताले साउदीको आधुनिकीकरणलाई तीव्र बनाएको छ । साथै, यो सम्झौताले दुई देशबीचको रणनीतिक साझेदारीलाई अझ गहिरो बनाएको छ, जुन मुख्यतः रक्षा सहयोगमा आधारित छ ।
पेन्टागनका पूर्व अधिकारी र वाशिंगटन इन्स्टिच्युटका वरिष्ठ फेलो ग्रान्ट रमलीका अनुसार साउदी अरबले हालका वर्षहरूमा आफ्नो सैन्य क्षमतामा, विशेषगरी हवाई सुरक्षामा, उल्लेख्य प्रगति गरेको छ ।
यमनमा हुथी विद्र्रोहीविरुद्धको संघर्षमा साउदीको वायु सुरक्षा प्रणालीको भूमिकाको चर्चा गर्दै रमली भन्छन्– अमेरिका र साउदी अरबबीच भएको नयाँ सम्झौताले साउदीको प्रगतिसँगै व्यापारिक तथा रक्षा सम्बन्ध बलियो बनाउने र क्षेत्रीय प्रतिस्पर्धी इरानलाई सन्देश दिने उद्देश्य राखेको छ ।
साउदी र इरानबीचको प्रतिस्पर्धा
साउदी अरब र इरानबीचको दीर्घकालीन प्रतिस्पर्धाले मध्यपूर्वको भूराजनीतिक स्थितिलाई सदैव प्रभावित गर्दै आएको छ ।
विश्लेषक ड्यानियल डिपेट्रिसका अनुसार साउदी अरब पश्चिमी अत्याधुनिक प्रविधिहरू प्राप्त गर्न लागिपरेको छ, विशेषगरी अमेरिकी प्रविधिमा । अर्कोतर्फ, प्रतिबन्धका कारण इरान आफैंले आफ्ना क्षमता विकास गर्न बाध्य छ ।
उनका अनुसार इरान अझै पनि आफ्ना हितहरू संरक्षण गर्न सक्रिय नीति अपनाइरहेको छ र प्रतिबन्धका कारण पश्चिमी प्रविधिबाट टाढा रहनुपरेको छ ।
‘इरानले कम लागतमा प्रभावकारी स्वदेशी मिसाइल, ड्रोन र अन्य उपकरणहरूमा लगानी गरिरहेको छ,’ उनी भन्छन्, ‘साउदीसँग आफ्नै रक्षा उद्योग छैन, तर उनीहरूसँग हरेक वर्ष पश्चिमी हतियार किन्न अर्बौं डलर खर्च गर्ने क्षमता छ ।’
‘सैन्य शक्ति केवल हतियारको गुणस्तरले निर्धारण हुँदैन । साउदीको समस्या उपकरण नभई तिनको प्रयोगमा देखिएको रणनीतिक कमजोरी हो । यदि रणनीति त्रुटिपूर्ण छ भने, अत्याधुनिक लडाकु जेट वा मिसाइलले पनि त्यो कमजोरी ढाक्न सक्दैन,’ डिपेट्रिस भन्छन् ।
उनले अझ जोड दिँदै भनेका छन्, ‘अमेरिकासँगको नयाँ सम्झौताले साउदीलाई केवल उपकरण मात्र दिने होइन, तिनको प्रयोग र रणनीतिक क्षमता विकासको व्यवस्था पनि मिलाउनेछ जसले गर्दा उनीहरू यी स्रोतहरूको प्रभावकारी प्रयोग गर्न सक्नेछन् ।’
प्रतिक्रिया 4