२ जेठ, काठमाडौं । बार्सिलोनाले २०२४-२५ सिजनलाई ऐतिहासिक बनाउँदै स्पेनिस फुटबलमा ३६ वर्षपछि पहिलो पटक घरेलु ट्रेबल जित्न सफल भएको छ।
नयाँ प्रशिक्षक हान्सी फ्लिकको नेतृत्वमा बार्सिलोनाले लालिगा, कोपा डेल रे र स्पेनिस सुपर कप उपाधि जित्दै आफ्नो गौरवमय इतिहासमा अर्को सुनौलो अध्याय थपेको हो।
बार्सिलोनाको हालैको डर्बी खेलमा इस्पानियोललाई २-० ले पराजित गरेपछि क्लबले आफ्नो २८औं लालिगा उपाधि पक्का गरेको थियो। यसअघि बार्सिलोनाले कोपा डेल रे र स्पेनिस सुपर कप दुवैको फाइनलमा चिरपरिचित प्रतिद्वन्द्वी रियल मड्रिडलाई पराजित गर्दै दुई उपाधि जितिसकेको थियो।
फ्लिकले बार्सिलोनाको पुनरागमनलाई पूर्णता दिँदै आफ्नो आगमनको पहिलो सिजनमै ट्रेबल अर्थात् तीन उपाधि दिलाए । कुनैपनि क्लबका लागि ट्रेबल जित्नु सहज कुरा हुँदैन । एकै सिजन तीन महत्वपूर्ण प्रतियोगिताको उपाधि जित्दै बार्सिलोनाले यस सिजनको उत्कृष्ट लय निरन्तरता दियो ।
फ्लिकको पहिलो सिजनमै यस्तो उपलब्धि हात पर्नु अद्भुत मानिएको छ। उनले नेतृत्व सम्हालेदेखि नै टिमको आक्रमणात्मक खेलशैली, एकता र मानसिक दृढता उत्कृष्ट बनेको देखियो। ‘यहाँ उपाधि जित्नैपर्छ र हामीले घरेलु ट्रेबलसहित त्यो लक्ष्य पुरा गरेका छौं’ फ्लिकले विजयपछि भने।
२०२४ को अन्तिम दुई महिनामा केही संघर्ष गरे पनि, २०२५ यता बार्सिलोनाले लालिगामा अपराजित यात्रा कायमै राखेको छ। २०२५ यता खेलेका १७ खेलमध्ये १५ मा जित र २ बराबरी गर्दै बार्सिलोनाले शीर्ष स्थानमा कब्जा जमाएको हो।
बार्सिलोनाले सिजनभरि ९७ गोल गर्दै सन् २०१७-१८ मा अर्नेस्टो भाल्भर्डर्डे हुँदा बनाएको ९९ गोलको कीर्तिमान नजिक पुगेको छ। युरोपका पाँच ठूला लिगमा कुनै पनि टिमले बार्सिलोनाभन्दा बढी गोल गरेको छैन। क्लबको इतिहासमै १६८ गोलसहित यो टोलीले उत्कृष्ट स्कोरिङ टिमको सूचीमा स्थान पाएको छ।
बार्सिलोनाले एकै सिजनमा चार पटक रियल मड्रिडलाई पराजित गर्यो जसमध्ये लालिगाको दुवै भेटमा ५-२ र ४-३ को जित निकाल्दै बार्सिलोनाले लालिगा उपाधि जित्न निर्णायक सफलता हात पारेको हो।
१७ वर्षीय युवा खेलाडी लामिन यमालको चमत्कारी प्रदर्शनले सिजनभरिको चर्चामा स्थान बनाएको छ। उनका १७ गोल र महत्वपूर्ण असिस्टहरू टिमको सफलतामा निर्णायक बनेका छन्। फ्लिकको प्रशिक्षणमा युवा खेलाडीहरू फस्टाउँदा बार्सिलोनाको भविष्य झन् उज्यालो देखिएको छ।
च्याम्पियन्स लिग फुटबलमा पनि शानदार लयमा देखिएको बार्सिलोनाले सेमिफाइनलको दोस्रो लेगमा ४-३ को हार बेहोर्दै युरोपियन उपाधि यात्रामा पूर्णविराम लागेको थियो ।
च्याम्पियन्स लिग जितेको अवस्थामा बार्सिलोनाले अझै दुर्लभ मानिने ‘क्वाड्रपल’ जित्ने थियो ।
-एजेन्सीबाट भावानुवाद
प्रतिक्रिया 4