+
+
Shares

निजी क्षेत्रलाई मन खोलेर लगानी गर्न सक्‍ने वातावरण बनाउँछौं : पर्यटनमन्त्री

राष्ट्रिय सभामा बुधबार पर्यटन विधेयक २०८१ माथि भएको छलफलमा उठेका प्रश्‍नको जवाफ दिँदै मन्त्री पाण्डेले राम्रो ऐन बनाउन संशोधन प्रक्रियामा रहेको बताए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ७ गते १८:५३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटन ऐनलाई सुधार गर्न संशोधन प्रक्रिया सुरु भएको बताए।
  • उहाँले दिगो विकास, सुशासन र निजी क्षेत्रलाई समेट्ने उद्देश्य रहेको उल्लेख गरे।
  • पर्यटन र सांस्कृतिक सम्पदाको संरक्षण र विकासका लागि नयाँ रणनीति बनाउने प्रतिबद्धता व्यक्त गरे।

७ जेठ, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटन क्षेत्रको विकासका लागि राम्रो ऐन बनाउने आफ्नो उद्देश्य रहेको बताएका छन् ।

राष्ट्रिय सभामा बुधबार पर्यटन विधेयक २०८१ माथि भएको छलफलमा उठेका प्रश्‍नको जवाफ दिँदै मन्त्री पाण्डेले राम्रो ऐन बनाउन संशोधन प्रक्रियामा रहेको बताए ।

‘हाम्रो उद्देश्य राम्रो ऐन बनाउने हो । जसले पर्यटकीय क्षेत्रको प्रवर्द्धन र दिगो विकास गर्ने, पर्यटकलाई सहज बनाउने र मुलुकको आर्थिक स्थिति बलियो बनाउने गरी काम गर्ने छ,’ उनले भने ।

मन्त्री पाण्डेले पर्यटन ऐन राम्रो बनाउन राष्ट्रिय सभाले महसुस गरेको उल्लेख गर्दै दफाबार छलफलका माध्यमबाट विधेयकलाई थप समृद्ध बनाउन बताए । यसलाई समितिमा लगेर छलफल गर्ने र आफ्नो तर्फबाट कुनै पनि जडता नराखी विधेयकलाई सुदृढ बनाउनका लागि संशोधन गर्न तयार रहेको उल्लेख गरे ।

विधेयक प्रणाली बलियो बनाउने दायित्वबोध गरेर ल्याइएको समेत मन्त्री पाण्डेले बताए । ‘विधेयकमाथि छलफल गर्दा हाम्रो प्रणालीलाई बलियो बनाउने दिशामा उन्मुख हुनुपर्ने छ । अर्को महत्त्वपूर्ण कुरा सुशासनको पाटो खड्किएको छ,’ उनले थपे, ‘त्यसका लागि प्रभावकारी संरचना बनाउने र कार्यान्वयन गर्ने गरी विधेयकलाई सुदृढ बनाउने गरी काम गरौं भन्‍न चाहन्छु ।’

पर्यटनमा निजी क्षेत्रलाई समेट्न निजी क्षेत्रमैत्री व्यवस्था पनि मिलाउनुपर्ने समेत मन्त्री पाण्डेले बताए । ‘निजी क्षेत्रलाई मन खोलेर लगानी गर्न सक्‍ने वातावरण बनाउने र भरोसा दिलाउने काम हामीले गर्नुपर्ने छ । यसलाई कानुनको माध्यमबाट स्थापित गर्नेछौं । पर्यटनमैत्री वातावरण हामीले सिर्जना गर्नेछौं,’ उनले भने ।

मन्त्री पाण्डेले पर्यटकीय र सांस्कृतिक रूपमा सम्पन्‍न नेपाल दुनियाँभरिका आस्थाको केन्द्रका रूपमा रहेको औंल्याए ।

‘हामीले दुनियाँभरिका मानिसलाई नेपाल निम्त्याउनुपर्ने छ । हाम्रा कला र सम्पदा अद्वितीय छन् । भूकम्पले ढलेका पुरातात्विक सम्पदा पनि उठाएका छौं । हाम्रा ढलेका सम्पदा त्यही स्वरूप र कौशलमा बनेको देख्‍दा देशमा अरनिकोहरू अहिले पनि छन् भन्‍ने आभास भएको छ,’ उनले भने ।

उनका अनुसार पर्यटन क्षेत्रलाई देशव्यापी बनाउनुपर्ने छ । अहिले केही क्षेत्रमात्र पर्यटकीय क्षेत्र भएको जस्तो भएको छ । हाम्रा थोरैमात्र हिमालमा पर्वतारोहणको स्थिति छ । यसपालि हामीले ५७ वटा हिमाल खुला गरेका छौं ।

नेपाल पर्वातारोहण संघलाई व्यवस्थित गर्ने सन्दर्भमा गम्भीरता साथ छलफल गर्न आफू खुला रहेको मन्त्री पाण्डेले बताए । त्यसैगरी अपांगता भएका मानिसका लागि पनि उपयोग हुने र अपांगता भएका पर्यटक पनि सहज आवतजावत गर्न सक्‍ने संरचना निर्माण गर्नुपर्ने मन्त्री पाण्डेले बताए ।

क्यासिनोलाई धेरै विवादित बनाउन नहुने उल्लेख गर्दै मन्त्री पाण्डेले भने, ‘यसको नियमनमा हामीले ध्यान दिनुपर्ने छ । मकाउको जीडीपीको अधिकांश हिस्सा क्यासिनोले समेट्ने गरेको छ । त्यसकारण क्यासिनो बन्द गर्नेभन्दा पनि नियमनमा ध्यान दिनुपर्ने छ । हामीले विधेयक निर्माणका सन्दर्भमा ध्यान दिन्छौं ।’

मन्त्री पाण्डेले पुरातात्विक सम्पदा जोगाउँदै विकासका नयाँ बाटाहरुको खोजी गर्नुपर्ने उल्लेख गरे । ‘सन्तुलन कायम गर्नुपर्छ । नदी जोगाउने मात्रै कि ऊर्जा उत्पादन गर्ने कि जलयात्रा बढाउने जस्ता काममा हामीले केन्द्रित हुन आवश्यक छ,’ उनले भने, ‘पुरातत्व जोगिएन भने हाम्रो सभ्यता मर्दै जान्छ । पर्यटकका लागि सजिलो बनाउने र हाम्रा मौलिकता पनि जोगाउने विषयमा ध्यान दिन आवश्यक छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?