News Summary
Generated by OK AI. Editorially reviewed.- सूर्य नेपाल गल्फ टुर २०२४–२५ को तेस्रो दिनसम्म शुक्रबहादुर राई शीर्ष स्थानमा कायम छन्।
- भुवन कुमार रोक्काले ५-अन्डर ६३ को प्रदर्शन गरे र दोस्रो स्थानमा उक्लिए।
- निरज तामाङले दिनकै सर्वश्रेष्ठ ६-अन्डर ६२ स्कोर गरे।
८ जेठ, काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२४–२५ अन्तर्गतको सातौँ प्रतियोगिता सूर्य नेपाल च्यालेन्ज को तेस्रो दिनसम्म पनि गल्फर शुक्रबहादुर राई शीर्ष स्थानमा कायम छन्। उनले समग्रमा ११-अन्डर १९३ को स्कोर गर्दै दोस्रो स्थानमा रहेका भुवन कुमार रोक्कालाई ३ स्ट्रोकले पछि पारेका छन्। शुक्रले आज ५-अन्डर ६३ को उत्कृष्ट प्रदर्शन गरे।
भुवन कुमार रोक्का पनि आज ५-अन्डर ६३ को स्कोरसहित उत्कृष्ट फर्ममा देखिए र समग्रमा ८-अन्डर १९६ स्कोरसहित दोस्रो स्थानमा उक्लिए। त्यस्तै, निरज तामाङले दिनकै सर्वश्रेष्ठ ६-अन्डर ६२ स्कोर गर्दै समग्रमा ७-अन्डर १९७ को स्कोरसहित तेस्रो स्थान हासिल गरे।
अन्य प्रतिस्पर्धीहरूमध्ये दिनेश प्रजापति समग्रमा ५-अन्डर १९९ स्कोरसहित चौथो स्थानमा छन् भने तोरण विक्रम शाही ३-अन्डर २०१ स्कोरसहित पाँचौं स्थानमा छन्। साबिक विजेता रवि खड्का र सञ्जय लामा दुबै २-अन्डर २०२ स्कोरसहित संयुक्त छैटौं स्थानमा छन्। जयराम श्रेष्ठ र वसन्त गुरुङ १-अन्डर २०३ स्कोरसहित आठौं स्थानमा छन्।
एमेच्योर खेलाडीहरूतर्फ राहुल विश्वकर्मा १-ओभर २०५ स्कोरसहित अग्रस्थानमा छन्। उनले निश्चयजङ्ग रायमाझीलाई ३ स्ट्रोकले पछि पारेका छन्। राहुलले आज इभन-पार ६८ स्कोर गरे भने निश्चयले २-ओभर ७० स्कोर गरे।
७२ होलको चार दिने प्रतियोगितामा ३६ प्रोफेसनल र ११ एमेच्योर गरी कुल ४७ खेलाडी सहभागी छन्। प्रतियोगिताको कुल पुरस्कार राशी ६ लाख रुपैयाँ रहेको छ। विजेताले १ लाख १० हजार, दोस्रोले ७० हजार, र तेस्रोले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन्।
शीर्ष २१ भित्र पर्ने प्रोफेसनल खेलाडीहरूले पनि नगद पुरस्कार प्राप्त गर्नेछन्। प्रतियोगितापछि शनिबार प्रो–एम खेल आयोजना हुनेछ।
प्रतिक्रिया 4