+
+
Shares

बीपीले लत्याएका सत्ताका तीन प्रस्ताव

डायमण्डशमशेरले राजा महेन्द्रलाई राणाकालमा जस्तो बन्धक बनाएर राख्ने योजना बनाए । त्यो योजना लिएर बीपीसँग आदेश माग्न गए । बिपीले अस्वीकार गरेको मात्र होइन आइन्दा यस्तो कुरा नगर्न समेत सुझाएका थिए । 

धर्म गौतम धर्म गौतम
२०८२ जेठ ११ गते ८:०८
Photo Credit : AI

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रस्ताव-१ मा २००७ सालको क्रान्ति र युद्धविराम, नेपाली कांग्रेसको भूमिका र राजनीतिक संक्रमणकालको विवरण छ।
  • प्रस्ताव-२ मा २०१५ को आमनिर्वाचन, बीपी कोइरालाको नेतृत्व र राजा महेन्द्रको भूमिका विश्लेषण गरिएको छ।
  • प्रस्ताव-३ मा २०३६ को विद्यार्थी आन्दोलन, बीपी कोइरालाको राष्ट्रपति बन्ने प्रयास र राजनीतिक परिस्थिति वर्णन गरिएको छ।

प्रस्ताव-१

२००७ साल कात्तिक २५ गतेको मध्य राति करिब २०० मुक्ति सेनाले वीरगञ्ज आक्रमण गरी थालेको सशस्त्र क्रान्तिलाई नौ सातापछि अर्थात् माघ ३ गते मातृकाप्रसाद कोइरालाले जारी गरेको युद्धविराम आदेश मार्फत बिसाइएको थियो। राणाशासन विरुद्ध सशस्त्र क्रान्ति छेड्ने निर्णय गरेको नेपाली कांग्रेसको बैरगनियाँ सम्मेलनले कोइरालालाई विशेषाधिकार सहित क्रान्तिका नायक (डिक्टेटर) घोषणा गरेको थियो।

यसबीच तराईका अधिकांश जिल्लाका साथै पूर्वमा इलाम, पाँचथर, ताप्लेजुङ, धनकुटा, भोजपुर र पश्चिममा पाल्पादेखि गोरखासम्मका जिल्लाहरू मुक्ति सेनाको अधीनमा आइसकेका थिए। यसरी राणा फौज विरूद्ध नेपाली कांग्रेसका मुक्ति सेनाको सशस्त्र युद्ध विजयोन्मुख भइरहेका बेला भारतीय प्रधानमन्त्री नेहरूले युद्धविरामका लागि नेपाली कांग्रेसमाथि दिएको दबाब थेग्न नसकेर कोइरालाले सो निर्णय लिएका थिए।

उता यसबीचमा नेहरूले राजा त्रिभुवन र राणाहरूलाई राखेर कथित दिल्ली सम्झौता गराइसकेका थिए जसमा त्रिभुवनलाई राजा मान्ने, नयाँ संविधान बनाउन वैधानिक सभा गठन गर्ने, राणा प्रधानमन्त्रीको नेतृत्वमा जनप्रतिनिधि सम्मिलित सरकार गठन गर्ने, राजबन्दीलाई रिहा गर्ने र राजनीतिक दल खोल्न पाउने विषय समेटिएका थिए।

यत्रो संघर्ष गरेर पुन: राणालाई नै प्रधानमन्त्री बनाउने कुरा कसलाई मन परेको थियो होला तर राजा, राणा र नेहरूसँग एकसाथ प्रतिरोध गर्न सक्ने अवस्था थिएन कांग्रेसको। युद्धविराम त भयो तर के.आई. सिंह लगायत केहीले हतियार बिसाउन मानेनन्। सिंहलाई नियन्त्रणमा लिन भारतीय फौजलाई नै गुहार्नु पर्‍यो।

राजा त्रिभुवनले नेपाल फर्केर प्रधानमन्त्री मोहनशमशेरको नेतृत्वमा १० सदस्यीय मन्त्रिमण्डल घोषणा गरे जसमा गृहमन्त्री बीपी कोइराला थिए। पुलिस नामको न कुनै संरचना बनिसकेको थियो न कुनै चुस्त प्रशासनिक संगठन नै। यस्तो संक्रमणकालको उपयोग गरेर राणाहरू आफ्नो जहानियाँ शासन ब्युँताउन अनेक उद्दण्ड क्रियाकलापमा संलग्न भइरहेका थिए। खुकुरी दलको एक हुलले गृहमन्त्रीमाथि नै आक्रमण गर्‍यो। हातमा नाङ्गो खुकुरी नचाउँदै गृहमन्त्री बीपीको शयन कक्षमा पसेको भुसतिघ्रेमाथि बीपीले पेस्तोलको गोली नदागेको भए बीपीको ज्यान जाने थियो। पछि थाहा भयो, ऊ त बबरशमशेरको आठपहरिया पो रहेछ !

यस्तो राजनीतिक संक्रमणकालमा असामाजिक तत्व सलबलाउने नै भयो। प्रजातन्त्र आयो भनेपछि सबैका आकांक्षा चुलिने नै भए। विद्यार्थी, शिक्षक, कर्मचारी लगायत पेशा व्यवसायका मानिस संगठित हुन थाले। भर्खर खुल्न थालेका राजनीतिक दलले त्यस्ता संगठनलाई उचालेर सरकार विरुद्ध सक्रिय गराउने नै भए। यसै क्रममा भएको विद्यार्थीको जुलुसले हनुमानढोकामा रहेको पुलिस हेडक्वाटरमा पुगेर त्यहाँ पहरा दिइरहेको पुलिसको हतियार खोस्न थालेपछि गोली चल्यो र चिनियाँकाजी नामका एक विद्यार्थीको मृत्यु भयो। घाइते हुनेमा पुलिसको एक गुप्तचर पनि रहेछ जसको उपचार खर्च मोहनशमशेरले ब्यहोरे। तर त्यसबारेमा गृहमन्त्रीलाई केही जानकारी नै थिएन।

त्यसपछि बीपीले गृहमन्त्री पदबाट राजीनामा गर्नुभयो। त्यस बेलाको सरकार सामूहिक उत्तरदायित्ववाला भएकाले एक पक्षले राजीनामा गर्दा अर्को पक्षले पनि स्वत: सरकार छाड्नुपर्ने व्यवस्था थियो। मोहनशमशेरले पनि राजीनामा गरे। अब राणालाई पुन: सरकारमा ठाउँ दिइरहन आवश्यक थिएन। कांग्रेसको एकलौटी सरकार बन्ने भयो।

बीपीको उत्तर थियो- जो व्यक्ति दुई सय वर्षको राजतन्त्रलाई २४ घण्टामा फाल्ने कुरा गर्छ, उसले चाहेमा मलाई केही मिनेटमा समाप्त पार्न सक्दैन र ? अनि फेरि उसको कृपाबाट राष्ट्रपति भएपछि उसको खटन अनुसार चल्नै पर्ने पनि हुन्छ

सबैको अपेक्षा बीपीलाई प्रधानमन्त्री बनाइन्छ भन्ने थियो। तर नेहरू समेतको दबाबमा त्रिभुवनले मातृकालाई प्रधानमन्त्री बनाए। त्यसै राति १०/११ बजेतिर मुक्ति सेनाका एक कमाण्डर जीबी याक्थुम्बा दुई तीन अरू अफिसरलाई साथमा लिएर बीपी समक्ष पुगेर भन्छन्, ड्युटीको जिम्मा मलाई दिइएको छ। मैले सबैतिर ड्युटीमा आफ्ना भरपर्दा अफिसरलाई खटाएको छु। तपाईं अर्डर दिनुहोस् प्रधानमन्त्री लगायत सबैलाई हामी बन्दी बनाउँछौं। तर यो काम आजै गर्नुपर्छ। बीपी सोच्ने समय माग्नुहुन्छ। हुन्छ, तीन बजेभित्रमा गर्नुपर्छ भनेर उनीहरू फर्कन्छन् र पुन: बिहान ३/४ बजे आउँछन्। बीपी होइन त्यसो नगरौं, तिमीहरू मातृकाको सरकारलाई सघाऊ भनेर उनीहरूलाई सम्झाई–बुझाई पठाउनुहुन्छ। यो प्रसङ्ग बीपीले आत्मवृत्तान्तमा पनि उल्लेख गर्नुभएको छ।

प्रस्ताव- २

२०१५ सालको आमनिर्वाचनमा नेपाली कांग्रेसले दुईतिहाइ बहुमत ल्याएपछि पार्टी संसदीय दलले बीपी कोइरालालाई दलको नेता चयन गर्‍यो। राजा महेन्द्रले आफूले अनौपचारिक रूपमा गराएको सर्वेक्षणमा कुनै पनि दलले बहुमत ल्याउँदैन, त्रिशंकु संसद् हुन्छ भन्ने निष्कर्ष पाएपछि संसद्को निर्वाचन गराएका थिए। तर अप्रत्यासित चुनाव परिणाम देखेर उनलाई भाउन्न भएको थियो। त्यसैले सरकार बनाउन कांग्रेसलाई बोलाउने काममा निकै विलम्ब गरेका थिए। बीपीलाई प्रधानमन्त्री बनाउन महेन्द्र किमार्थ तयार हुने थिएनन् तर उनी आफैंले दिएको संविधानको व्यवस्था तत्काल फेर्न पनि त लाजैमर्दो हुन्थ्यो।

सरकार बनेको वर्ष दिन नपुग्दैदेखि महेन्द्रले सरकार भङ्ग गर्छन् भन्ने हल्ला चल्न थालेको थियो। सरकारको विर्ता उन्मूलन जस्ता क्रान्तिकारी कदमबाट आक्रोशित भएका सामन्तहरू पनि राजा गुहार्न पुगे होलान्। बीपीको व्यक्तित्व र नेतृत्वले देशभित्र मात्रै होइन देशबाहिर पनि प्रभाव पारिरहेको थियो जसलाई जति चाँडो हुन्छ पूर्णविराम दिन चाहन्थे महेन्द्र।

यतिसम्म कि महेन्द्र अमेरिका तथा युरोपको यात्रामा गएका बखत बीपीप्रतिको आफ्नो असन्तुष्टि उनले अमेरिकाका राष्ट्रपति आइजनहावर, फ्रान्सका राष्ट्रपति चार्ल्स डेगल आदि समक्ष समेत उजागर गरेका थिए। एकथरी मानिसहरू भन्छन्, नेहरूसँग त उनले बीपी विरुद्ध चालिने कदममा सहयोगको याचना नै गरेका थिए। नेहरूले नै भनेका छन्, मैले त बीपीलाई हटाउने कुरामा मात्रै सहमति जनाएको थिएँ तर महेन्द्रले त प्रजातन्त्रमाथि नै धावा बोले।

राजाको शक्ति सैन्यबलका आधारित थियो। उसबेला सेनाका उच्च पदहरूमा राणाहरूको हालीमुहाली थियो। उनीहरू पढेलेखेका र संसार बुझेका व्यक्तिहरू थिए। अबको संसारमा अधिनायकवाद चल्दैन भन्ने तिनले बुझेका थिए। उनीहरू बीपीको व्यक्तित्व र कार्यशैलीबाट प्रभावित पनि थिए। त्यसकारण महेन्द्रले पुस १ गते बीपीहरूलाई गिरफ्तार गर्न सेनाको वरीयतामा दोस्रो स्थानमा रहेका सुरेन्द्रबहादुर शाह र आफ्ना एडीसी समरराज कुँवरलाई अघि सारेका थिए।

यसरी राजाले आजै लिन्छन्, भोलि लिन्छन् भन्ने हल्ला चलिरहेका बेला पुस १ गतेको घटना हुनु केही दिनअघि डायमण्डशमशेरले सेनाको सहयोगमा राजा महेन्द्रलाई दरबारभित्रै राणाकालमा जस्तो बन्धक बनाएर राख्ने एउटा योजना बनाएर त्यसलाई कार्यान्वयन गर्न उनले सेनाका उच्च तहका अफिसरलाई पनि मनाएका थिए भनेर आफ्नो आत्मकथामा उल्लेख गरेका छन्। सो योजना कार्यान्वयन गर्न प्रधानमन्त्री बीपीसँग आदेश माग्दा त्यसलाई बीपीले अस्वीकार गरेको मात्र होइन आइन्दा यस्तो कुरा नगर्न समेत सुझाएका थिए। यस प्रसङ्गको उल्लेख प्रदीप गिरिले पनि गरेका छन्।

प्रस्ताव– ३

२०३६ जेठको कुरा हो, विद्यार्थी आन्दोलन उत्कर्षमा थियो। बीपी रहनुभएको चाबहिलको घरमा एक मानिस आएर भन्छ- तपाईं राष्ट्रपति बन्न चाहनुहुन्छ भने म राजालाई २४ घण्टामा हटाउन सक्छु। बीपीले उसलाई जवाफमा यति गम्भीर विषयमा निर्णय लिन मलाई समय चाहिन्छ भन्दै ४८ घण्टाको समय माग्नुभयो। ऊ गयो।

यसैबीच राजा वीरेन्द्रबाट जनमतसंग्रहको घोषणा भयो। ४८ घण्टाको समयसीमा सकिएपछि त्यो मानिस पुन: बीपीकहाँ आयो। बीपीले उसलाई भन्नुभयो- जनमतसंग्रहको घोषणा भयो। अब अर्को सन्दर्भ शुरू भयो। तसर्थ म तपाईंलाई सहयोग गर्न असमर्थ छु।

नेपाली कांग्रेसका नेता बलदेव मजगैयाँले यो कुरा सुनेपछि बीपीलाई सोधेछन्- तपाईंले किन त्यो प्रस्तावलाई हुन्छ भन्नुभएन ?

बीपीको उत्तर थियो- जो व्यक्ति दुई सय वर्षको राजतन्त्रलाई २४ घण्टामा फाल्ने कुरा गर्छ, उसले चाहेमा मलाई केही मिनेटमा समाप्त पार्न सक्दैन र ? अनि फेरि उसको कृपाबाट राष्ट्रपति भएपछि उसको खटन अनुसार चल्नै पर्ने पनि हुन्छ।

मजगैयाँले अर्को प्रश्न गरे- त्यसो भए हुँदैन भनेर किन पहिले नै उसलाई भन्नुभएन त ?

बीपीको उत्तर- हुँदैन भनेको भए उसले अर्को व्यक्ति खोजेर तयार गर्थ्यो जुन थप जोखिमपूर्ण हुन सक्थ्यो।

मजगैयाँले त्यो मान्छे चिन्ने प्रयास स्वरुप बीपीलाई सोधे- त्यो मानिस नेपाली हो ?

बीपी- होइन।

मजगैयाँ- भारतीय हो ?

बीपी- होइन।

मजगैयाँ भन्छन्, त्यसपछि सोध्ने आँट आएन।

पछि रूसी सेना अफगानिस्तान छिरेपछि मजगैयाँले त्यो मानिस रूसी थियो होला भन्ने अनुमान गरेको बताएका छन्।

लेखक
धर्म गौतम

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?