+
+
Shares

एमालेमा कलह ल्याउने मानगढ खानेपानीमा ढकाल समूह विजयी

‘एक वर्षअघि मानगढ खानेपानीबाट सुरु भएको एमालेको आन्तरिक विवाद मानगढमै आएर टुंगिएको छ ।’

हरि अधिकारी हरि अधिकारी
२०८२ जेठ १२ गते १०:०९
लालमणी भट्टराई

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मानगढ खानेपानी आयोजनाको व्यवस्थापनको निर्वाचनमा लालमणी भट्टराई विजयी भए।
  • एमालेको आन्तरिक विवादले निर्वाचन प्रक्रिया र पार्टीको गतिविधिमा प्रभाव पारे।
  • उच्च अदालत विराटनगरले पुनः मतदान गर्न आदेश दिएपछि विवाद समाधानको प्रयास जारी छ।

१२ जेठ, विराटनगर । मानगढ खानेपानी आयोजनाको व्यवस्थापन गरिरहेको विराट खानेपानी उपभोक्ता संस्थाको अध्यक्षमा नेकपा एमालेको विद्रोही समूहका उम्मेदवार लालमणी भट्टराई निर्वाचित भएका छन् ।

संस्थाको नेतृत्वका लागि भएको निर्वाचनमा एमालेको संस्थापन पक्षका उम्मेदवार रामबहादुर घिमिरे र कांग्रेस उम्मेदवार दुर्गा चापागाईलाई पराजित गर्दै भट्टराई निर्वाचित भएका हुन् ।

भट्टराईले १ हजार ८८९ मत प्राप्त गरे । वर्तमान अध्यक्षसमेत रहेका घिमिरेले १ हजार १५४ मत प्राप्त गर्दा चापागाईंले ६३५ मत प्राप्त गरिन् ।

कोशी प्रदेशमा नेकपा एमाले भित्र विद्रोही समूहको नेतृत्व विनोद ढकालले गरिरहेका छन् । कुनै समय प्रधानमन्त्री केपी शर्मा ओलीका प्रिय ढकाल पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी समूहमा छन् ।

गत वर्ष मानगढ खानेपानीकै निर्वाचनको विषयले एमाले मोरङमा भाँडभैलो मच्चिएको थियो । गत वर्ष संस्थापन पक्षले पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध लागेको भन्दै विनोद ढकाल समूहबाट खानेपानीको निर्वाचनमा खटिएका तत्कालीन नगर अध्यक्ष सागर थापा, नवराज नेपाल र लालमणि भट्टराईलाई कारबाही गरेको थियो ।

एमालेको आन्तरिक कलहका कारण २०८१ जेठ १९ गते नयाँ नेतृत्वका लागि भएको मतदान विवादित बन्यो । यो विवाद निरुपण गर्दै उच्च अदालत विराटनगरले पुनः मतदान गर्नुपर्ने फैसला गरेको थियो ।

मानगढ खानेपानी आयोजनामा भएको विवादको क्षति नेकपा एमालेको संस्थापन पक्षले व्योहोरिरहेको छ । खानेपानीको विवादको असर १० औं मोरङ जिल्ला अधिवेशन र विराटनगर महानगरको अधिवेशनमा पनि देखिएको थियो ।

गत फागुनमा भएको जिल्ला अधिवेशनमा पार्टीको पदाधिकारीमा ढकाल समूहको प्यानल नै विजयी भएको थियो । ढकाल समूहका उम्मेदवार अजम्बर राई अध्यक्षमा निर्वाचित हुँदा संस्थापन पक्षका उम्मेदवार राजकुमार ओझा पराजित भएका थिए । मानगढ खानेपानीमा संस्थापन पक्षका उम्मेदवार घिमिरेविरुद्ध लागेको भन्दै कारवाहीमा परेका तत्कालीन महानगर अध्यक्ष सागर थापा जिल्ला उपाध्यक्ष निर्वाचित भएका थिए ।

गत वैशाख २ र ३ गते भएको विराटनगर महानगरको अधिवेशनमा पनि विनोद ढकाल समूह हाबी भएको थियो । महानगर कमिटीको नेतृत्वमा संस्थापन पक्षका रोहित कोइरालालाई पराजित गर्दै ढकाल समूहका बलराम गिरी अध्यक्षमा निर्वाचित भएका थिए ।

‘एक वर्षअघि मानगढ खानेपानीबाट सुरु भएको विवाद मानगढमै आएर टुंगिएको छ,’ तत्कालीन नगर अध्यक्ष समेत रहेका एमाले मोरङ उपाध्यक्ष सागर थापा भन्छन्, ‘सन्देश राम्रो दिएको छ ।’ उनले पहिले पनि आफूहरु सही ठाउँमा रहेको सन्देश निर्वाचन नतिजाले दिएको बताए ।

नेकपा एमाले नेता विनोद ढकाल भने सार्वजनिक संस्थानमा पार्टीले हस्तक्षेप गर्न नहुने बताउँछन् । मानगढ खानेपानी आयोजनाको नतिजाले सार्वजनिक संघ संस्थामा पार्टीले हस्तक्षेप गर्न नहुने सन्देश दिएको उनले बताए ।

मानगढ खानेपानीमा आयोजनामा ५ हजार ९८८ उपभोक्ता मतदाता थिए । २ हजार २४ जना मतदान निर्वाचनमा सहभागी भएनन्, शनिबार भएको निर्वाचनमा ३ हजार ९६४ मत खसेको थियो ।

यसअघि २०८१ जेठ १९ गते सम्पन्न मतदान विवादित बनेपछि उच्च अदालत विराटनगरमा दुईवटा छुट्टाछुट्टै रिट दायर भएका थिए । दिव्यराज कट्टेलसहित तीन जनाले मतपेटिकामा खसेको मतलाई नै गणना गर्नुपर्ने माग गर्दै रिट दायर गरेका थिए । टंकप्रसाद खतिवडासहित अन्य तीन जनाले पुनः मतदानको माग गर्दै रिट दायर गरेका थिए । अदालतले पुनः मतदान गर्न आदेश दिएको थियो ।

लेखक
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?