+

मुम्बईलाई हराउँदै पञ्जाब आईपीएलको पहिलो क्वालिफायरमा प्रवेश

२०८२ जेठ  १२ गते २३:४१ २०८२ जेठ १२ गते २३:४१
मुम्बईलाई हराउँदै पञ्जाब आईपीएलको पहिलो क्वालिफायरमा प्रवेश

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पञ्जाब किङ्सले आईपीएल २०२५ को पहिलो क्वालिफायरमा स्थान पक्का गरेको छ।
  • मुम्बई इन्डियन्सलाई हराउँदै पञ्जाब शीर्ष २ मा पुग्यो।
  • अर्को टोलीको टुंगो मंगलबारको अन्तिम लिग खेलपछि लाग्नेछ।

१२ जेठ, काठमाडौं । पञ्जाब किङ्सले इन्डियन प्रिमियर लिग आईपीएल २०२५ को पहिलो क्वालिफायरमा स्थान पक्का गरेको छ । सोमबार अन्तिम लिग खेलमा मुम्बई इन्डियन्सलाई ७ विकेटले हराउँदै पञ्जाबले शीर्ष २ भित्र फिनिस गर्ने पक्का भएको हो ।

मुम्बईले दिएको १८५ रनको लक्ष्य पञ्जाबले १८.३ ओभरमा ३ विकेटको क्षतिमा भेट्टायो । पञ्जाबका लागि जोश इङ्लिसले सर्वाधिक ७३ तथा प्रियान्श आर्याले ६२ रन बनाए ।

इङ्लिस र प्रियान्श मिलेर दोस्रो विकेटका लागि १०९ रनको शतकीय साझेदारी गरेका थिए । कप्तान श्रेयस अय्यर २६ रनमा नटआउट रहे ।

मुम्बईका लागि मिचेल सान्टनरले २ तथा जसप्रित बुमराहले १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको मुम्बईले २० ओभरमा ७ विकेट गुमाएर १८४ रन बनाएको थियो । सुर्यकुमार यादवले सर्वाधिक ५७ रन बनाए । रायन रिकेल्टनले २७ तथा हार्दिक पाण्ड्याले २६ रन बनाए ।

पञ्जाबका लागि अर्शदीप सिंहले ४ ओभरमा २८ रन दिएर २ विकेट लिए । मार्को यानसेनले ४ ओभरमा ३४ रन दिएर २ विकेट लिए । विजयकुमार वाइशाकले २ पनि विकेट लिँदा हरप्रीत ब्रारले १ विकेट हात पारे ।

जितपछि १४ खेलमा १९ अंकसहित पञ्जाब शीर्षस्थानमा उक्लिएको छ । यस हारपछि मुम्बईले भने चौथो स्थानमा रहेर इलिमिनेटर खेल्नेछ ।

शीर्ष २ मा पर्ने अर्को टोलीको टुंगो मंगलबार लखनउ र बेंगलुरुबीच हुने अन्तिम लिग खेलपछि लाग्नेछ ।

उक्त खेलमा बेंगलुरु विजयी भएमा पहिलो क्वालिफायर खेल्नेछ भने पराजित भएमा गुजरात टाइटन्स पहिलो क्वालिफायरमा प्रवेश गर्नेछ ।

आईपीएल क्रिकेट पञ्जाब किङ्स
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय