News Summary
Generated by OK AI. Editorially reviewed.- प्रज्ञा स्मृति प्रतिष्ठानले काठमाडौंमा पहिलो महिला र पुरुष राष्ट्रिय खुला शारीरिक सुगठन प्रतियोगिता आयोजना गर्नेछ।
- प्रतियोगितामा पाँच वजन समूह र खुला महिला प्रतिस्पर्धा हुनेछ र १०० भन्दा बढी खेलाडी सहभागी हुने अपेक्षा गरिएको छ।
- कुल पुरस्कार राशी १२ लाख १० हजार रहेको छ।
१७ जेठ, काठमाडौं । प्रज्ञा स्मृति प्रतिष्ठानको आयोजनामा अर्को साता प्रज्ञा स्मृति प्रथम महिला तथा पुरुष राष्ट्रिय खुला शारीरिक सुगठन प्रतियोगिता हुने भएको छ ।
आयोजकले शनिबार काठमाडौंमा पत्रकार सम्मेन गर्दै शारीरिक सुगठन प्रतियोगिता यही जेठ २४ गते भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबको हलमा हुने जानकारी दिएको हो ।
यसअघि तीन संस्करण साइकिलङ प्रतियोगिता आयोजना गरेको प्रतिष्ठानले पहिलो पटक शारीरिक सुगठन प्रतियोगिता आयोजना गर्न लागेको प्रतिष्ठानकी निर्देशक गंगा दाहालले बताइन् ।
यस वर्ष प्रतिष्ठानले पहिलो संस्करणमा शारीरिक सुगठन खेलमा आबद्ध खेलाडीहरू सबैलाई समेट्ने गरी राष्ट्रियस्तरको खुल्ला शारीरिक सुगठन प्रतियोगिता आयोजना गर्ने तयारी गरेको र त्यसलाई आगामी दिनमा समेत निरन्तरता दिने प्रतिष्ठानकी निर्देशक गंगा दहालले जानकारी दिइन् ।
राष्ट्रिय खेलकुद परिषद् तथा प्रदेश खेलकुद विकास परिषद, बागमती हेटौडाको सहयोग साथै नेपाल शारीरिक सुगठन तथा फिटनेस महासंघ र काठमाडौं शारीरिक सुगठन तथा फिटनेस संघको प्राविधिक सहयोगमा प्रतियोगिता हुन लागेको हो ।
यस प्रतियोगितामा पुरूषतर्फ ६०, ६५, ७०, ७५ तथा ७५ केजी तौलभन्दा माथिका समूह गरी ५ वटा वजन समूह समावेश हुने आयोजनकले जनाएको छ । त्यसैगरी महिलातर्फ खुला प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगितामा सबै जिल्ला, प्रदेश तथा विभिन्न क्लबहरूका महिला पुरूष गरी अनुमानित १०० जना खेलाडीहरूले सहभागिता जनाउने आयोजकको अपेक्षा रहेको छ ।
प्रतियोगितामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिइसकेका खेलाडीहरूले पनि प्रतिस्पर्धा गर्न पाउनेछन् । यसबाट खेल क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुग्ने आयोजकको भनाई छ ।
पुरूषतर्फ प्रत्येक तौल समूहको प्रतिस्पर्धापछि ओभरअल विजेताका लागि प्रतिस्पर्धा गराइनेछ । प्रत्येक तौलका विजेता खेलाडीहरूलाई मेडल, नगद पुरस्कार र प्रमाणपत्रले पुरस्कृत गरिनेछ।
प्रत्येक समूहको समूहगत विजेता खेलाडीहरूबीच प्रतिस्पर्धा गराई ओभरअल विजेता घोषणा गरिनेछ । विजेता खेलाडीलाई प्रथम मिस्टर प्रज्ञा स्मृतिको उपाधिसहित नगद पुरस्कार २ लाख ५० हजार दिइनेछ ।
यस्तै प्रत्येक वजन समूह प्रथम द्वितीय, तृतीय, चौथो र पाँचौ हुने खेलाडीहरूलाई क्रमशः रू. ५० हजार, ४० हजार, ३० हजार, २० हजार र १० हजार नगदबाट पुरस्कृत गरिनेछ।
महिलातर्फको खुल्ला तौल समूहमा प्रतिस्पर्धा गराइनेछ । महिलातर्फ विजेताले नगद १ लाख पाउनेछन् भने द्वितीय, तृतीय, चौथो र पाँचौ हुने खेलाडीलाई क्रमशः नगद ५० हजार, ३० हजार, २० हजार र १० हजार दिइनेछ ।
यस प्रतियोगितामा विभिन्न विधाका पुरस्कारको कूल राशी १२ लाख १० हजार रहेको छ । प्रतियोगिताको कूल खर्च ३५ लाख ३५ हजार हुने आयोजकले जनाएको छ ।
स्व. प्रकाश दाहाल र स्व. ज्ञानु दाहालको स्मृतिमा स्थापित यस संस्थाको नाम छोटकारीमा प्रज्ञा स्मृति प्रतिष्ठान राखिएको हो । समाज रूपान्तरणको प्रक्रियामा प्रकाश र ज्ञानु दाहालले खेलेको भूमिकालाई स्थापित गर्दै उनीहरूको स्मृतिमा सामाजिक सेवा, खेलकुद, स्वास्थ्य लगायतका क्षेत्रमा सामाजिक काम गर्ने गरी यस प्रतिष्ठानको स्थापना गरिएको प्रतिष्ठानकी निर्देशक गंगा दाहालले जानकारी दिइन् ।
प्रतिष्ठानले स्थापनाकालदेखि नै शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवर्धन, युवाहरूको नेतृत्व विकासका क्षेत्रमा विविध गतिविधि सञ्चालन गर्दै आइरहेको दाहालले बताइन् ।
प्रज्ञा स्मृति प्रतिष्ठानले विभिन्न समयमा भरतपुरमा तेस्रो संस्करणसम्मको साइक्लिङ प्रतियोगिता आयोजना गरिसकेको छ ।
प्रतिक्रिया 4