News Summary
Generated by OK AI. Editorially reviewed.- फ्रेन्च क्लब पीएसजीले च्याम्पियन्स लिगको फाइनलमा इन्टर मिलानलाई हराउँदै पहिलो पटक उपाधि जित्यो।
- उपाधि विजेताले प्रशिक्षक लुइस एनरिकेले आफ्नो दिवंगत छोरी सानाको सम्झनामा समर्पण गरे र भावुकता व्यक्त गरे।
- १९ वर्षीय डिजाइर डोउले फाइनलमा दुई गोल र एक असिस्ट गरे र सबैभन्दा कम उमेरमा दुई गोल गर्ने कीर्तिमान बनाएका छन्।
१८ जेठ, काठमाडौं । फ्रेन्च क्लब पेरिस सेन्ट-जर्मेन (पीएसजी)ले शनिबार राति जर्मनीको म्युनिखमा भएको युईएफए च्याम्पियन्स लिगको फाइनलमा इटालियन क्लब इन्टर मिलानलाई ५-० को फराकिलो अन्तरले हराउँदै पहिलो पटक च्याम्पियन्स लिगको उपाधि जित्यो ।
क्लब इतिहासमै पहिलोपटक आएको युरोपकै सबैभन्दा ठुलो क्लब प्रतियोगिता जित्दा यो केवल उपाधिको खुसी नभई भावनात्मक पल पनि बन्यो, विशेषगरी प्रशिक्षक लुइस एनरिकेका लागि।
५५ वर्षीय स्पेनी प्रशिक्षक एनरिकेले सन् २०१५ मा बार्सिलोनालाई च्याम्पियन्स लिग जिताएका थिए । अब उनले पीएसजीबाट पनि प्रशिक्षकका रूपमा दोस्रो पटक यो उपाधि जितेर इतिहास रचे।
त्यसैगरी दुई फरक टिमबाट ‘ट्रेबल’ अर्थात् तीन मुख्य प्रतियोगिता जित्ने उनी दोस्रो प्रशिक्षक बनेका छन् । सन् २०१४-१५ मा बार्सिलोनाले च्याम्पियन्स लिग जित्दा ट्रेबल नै जितेको थियो जुनबेला प्रशिक्षक एनरिके थिए भने अहिले पीएसजीले पनि ट्रेबल जितेको छ । यो सफलता उनीभन्दा अघि पेप ग्वार्डिओलाले पनि हासिल गरेका छन् ।
उपाधि जितेपछि उनी निकै भावुक भएका थिए किनभने उनले यस जितलाई आफ्नी दिवंगत छोरी सानाको सम्झनामा समर्पण गरे। सन् २०१९ मा दुर्लभ हड्डीको क्यान्सरका कारण उनकी छोरी सानाको निधन भएको थियो।

उनले २०१५ मा सानासँगै बसेर बार्सिलोनाको झण्डा मैदानको बिचमा गाडेको सम्झना गर्दै भनेका थिए कि पीएसजीको जितपछि पनि उस्तै श्रद्धाञ्जली दिन चाहन्थे। खेलपछि उनले छोरीसँग झण्डा गाडेको कार्टुन चित्र भएको टीसर्ट लगाउँदै त्यही भावना प्रकट गरे।
समर्थक ‘अल्ट्राज’ ले पनि पीएसजी जर्सीमा बुबा-छोरी झण्डा गाडिरहेको चित्र सहितको ठूलो ब्यानर फहराएर भावनात्मक सन्देश अर्पण गरे।
खेलपछि लुइस एनरिकेले धेरै खुसी लागेको र समर्थकबाट प्राप्त सम्मानले भावुक बनाएको प्रतिक्रिया दिएका थिए । ‘म धेरै खुशी छु। खेलपछि समर्थकहरूबाट मेरो परिवारप्रति देखाइएको सम्मान अत्यन्त भावुक बनायो’ उनले भने, ‘मैले सुरुबाटै भनेको थिएँ कि म ठूलो उपाधि जित्न चाहन्थें र पीएसजीले च्याम्पियन्स लिग कहिल्यै जितेको थिएन। आज त्यो सपना पुरा भयो। यो धेरैलाई खुशी बनाउने क्षण हो।’
डिजाइर डोउ — नयाँ पुस्ताको उज्यालो तारा
यस ऐतिहासिक जितको केन्द्रमा थिए १९ वर्षीय डिजाइर डोउ, जसले खेलको १२औं मिनेटमा अचरफ हाकिमीका लागि पहिलो गोलको एसिस्ट गरे, त्यसको ८ मिनेटपछि आफैं दोस्रो गोल गरे र खेलको ६३औं मिनेटमा तेस्रो गोल गर्दै आफ्नो प्रदर्शनमा चमक थपे।
उनी च्याम्पियन्स लिग फाइनलमा दुई गोल गर्ने सबैभन्दा कान्छा खेलाडी बने, १९ वर्ष ३६२ दिनको उमेरमा । यसअघि यो कीर्तिमान बेन्फिकाका स्ट्राइकर एउसेबियोको नाममा थियो।
डोउ च्याम्पियन्स लिग फाइनलमा दुई गोल र एक असिस्ट गर्ने पहिलो खेलाडी पनि बने। उनलाई खेलको केही समयपछि प्रतिस्थापन गरियो, तर उनले फुटबल संसारमा आफ्नो उपस्थिति मजबुत बनाइसकेका थिए।

पीएसजीको दबदबा
पीएसजीले पूरै प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्दै प्रिमियर लिगका ठूला क्लबहरू — म्यानचेस्टर सिटी, लिभरपुल, एस्टन भिल्ला र आर्सनललाई हराउँदै फाइनल यात्रा तय गरेको थियो। फाइनलमा त पीएसजीको प्रदर्शन पूरै डोमिनेटिङ रह्यो । पीएसजीलु कुनैपनि समय इन्टरलाई खेलमा फर्कन दिएन ।
पीएसजीका समर्थक समूह ‘अल्ट्राज’ ले खेलअघि ठूलो टिफो फहराउँदै लेखेका थिए — ‘एन्सेम्बल, नुस सोमेस इन्भिन्सिबल्स’ अर्थात् ‘हामी सँगै अजेय छौं’। खेलको नतिजाले उनीहरूको विश्वासलाई पूर्ण रूपमा पुष्टि गर्यो।

अनुभवी इन्टरको अगाडि युवा पीएसजी टोलीले उच्च स्तरको ऊर्जा, गति, र टेक्निकल कौशलता देखाएको थियो । खेलको दौरान इन्टरको टोली थाकिँदै गएपनि पीएसजीका खेलाडीहरू झन् झन् ऊर्जा र जोशमा देखिएका थिए ।
बार्सिलोनाका १७ वर्षीय लामिन यामाल यस पटक सेमिफाइनलमै इन्टरसँग पराजित भए पनि डिजाइर डोउसँग उनको तुलना व्यापक रूपमा भइरहेको छ। भविष्यमा यी दुई खेलाडी युरोपेली फुटबलका ठूला प्रतिस्पर्धाहरूमा बारम्बार आमनेसामने हुने सम्भावना प्रबल देखिएको छ।
-बीबीसीबाट भावानुवाद
 
                    










 २०८२ जेठ  १८ गते १७:०८
                        २०८२ जेठ  १८ गते १७:०८                     
                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                     
                     
                     
                     
                 
                 
                 
                 
                 
         
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
     
     
     
     
     
                             
                             
                             
                             
                             
                            
प्रतिक्रिया 4