News Summary
Generated by OK AI. Editorially reviewed.- पञ्जाब किङ्सले आइपीएल २०२४ को फाइनलमा स्थान बनाएको छ।
- श्रेयर अय्यरले तीन फरक टोलीको कप्तानी गरेर तीनै टोलीलाई फाइनलमा पुर्याएका छन्।
- पञ्जाबले फाइनल जितेमा उनले दुई फरक टोलीको कप्तानी गरेर उपाधि जित्ने अर्को कीर्तिमान बनाउन सक्छन् ।
१३ जेठ, काठमाडौं । भारतीय ब्याटर श्रेयर अय्यरको कप्तानीमा पञ्जाब किङ्स ११ वर्षपछि आईपीएलको फाइनलमा पुगेको छ । प्लेअफमै ११ वर्षपछि पुगेको पञ्जाबले फाइनल पनि खेल्न लागेको हो ।
आइतबार भएको दोस्रो क्वालिफायर खेलमा पञ्जाबले मुम्बई इन्डियन्सलाई ५ विकेटले पराजित गर्दै बेंगलुरुसँगको उपाधि भिडन्त पक्का गरेको हो ।
श्रेयर अय्यरले गत वर्ष कोलकाता नाइट राइडर्सको कप्तानी गर्दै उपाधि दिलाएका थिए । यस सिजन मेगा अक्सनअघि कोलकाताले रिलिज गरेपछि पञ्जाबले उनलाई २६ करोड ७५ लाख भारुमा आफ्नो टोलीमा समावेश गरेको थियो ।
उनले कप्तानीसहित उत्कृष्ट ब्याटिङ प्रदर्शन गर्दै त्यो लगानी उचित भएको प्रमाणित गरेका छन्। त्यसैगरी उनले आईपीएल इतिहासमा अहिलेसम्म कसैले पनि हासिल नगरेको एक कीर्तिमान यसअघि नै बनाउँदा त्यसमा अर्को रेकर्ड पनि थपिएको छ ।
श्रेयर अय्यरले कोलकाता भन्दा अघि दिल्ली क्यापिटल्सको पनि कप्तानी गरेका थिए । आईपीएल इतिहासमा तीन फरक टोलीको कप्तानी गरेर तीनै टोलीलाई शीर्ष दुई स्थानमा पुर्याउने पहिलो कप्तान बनेका उनी तीनवटै टोलीलाई फाइनलमा पुर्याउने हालसम्म एकमात्र कप्तान हुन् ।
त्यस्तै फाइनल जितेको अवस्थामा उनले अर्को एक कीर्तिमान फेरि बनाउन सक्छन्- दुई फरक टोलीको कप्तानी गरेर आईपीएलको उपाधि जित्ने, त्यो पनि लगातार वर्षमा ।
हालसम्म मुम्बईले जितेको पाँचवटै उपाधिमा कप्तान रोहित शर्मा थिए भने चेन्नईको पाँचवटै उपाधिमा धोनी कप्तान थिए । कोलकातालाई दुईपटक गौतम गम्भीर तथा एकपटक श्रेयस अय्यरको कप्तानीमा आईपीएल जितेको थियो ।
अन्यमा स्व. शेन वार्नले राजस्थान रोयल्स, एडम गिलक्रिस्टले डेकान चार्जर्स, डेभिड वार्नरले सनराइजर्स हैदराबाद र हार्दिक पान्ड्याले गुजरात टाइटान्सलाई कप्तानी गर्दै आईपीएलको उपाधि जितेका थिए ।
आइतबार मुम्बईले जित निकालेको अवस्थामा हार्दिकका लागि दुई फरक टिमको कप्तानी गरेर उपाधि जित्ने अवसर हुन सक्थ्यो तर अब त्यो अवसर श्रेयस अय्यरका लागि छ ।
अय्यरको कप्तानीमा सन् २०२० को आईपीएलमा दिल्ली क्यापिटल्स दोस्रो स्थानमा लिग चरण फिनिस गरेर फाइनलसम्मै पुगेको थियो । त्यस्तै गत सिजन कोलकातालाई उपाधि दिलाए भने यस सिजन पञ्जाबलाई फाइनलमा पुर्याएका छन् ।
दिल्ली क्यापिटल्समा सहकार्य गरेका प्रशिक्षक रिकी पोन्टिङ पनि यसपटक पञ्जाबको प्रशिक्षक छन् । यसपटक पोन्टिङ-श्रेयसको जोडीले पञ्जाबलाई उपाधि दाबेदारका रूपमा उभ्याएका छन् ।
प्रतिक्रिया 4