+
+
Shares

कोलोराडोमा यहुदी विरोधी हमला भएको भन्दै इजरायलको आपत्ति

प्रहरीका अनुसार, जब हमला भयो, त्यो बेला केही मानिसहरू इजरायली बन्धकहरूको समर्थनमा एक शान्ति मार्च गर्दै थिए। त्यस्तो प्रकारको मार्च सो क्षेत्रमा प्राय: भइरहने गरेको बताइएको छ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १९ गते ११:३८
इजरायली विदेशमन्त्री गिदोन सार

News Summary

Generated by OK AI. Editorially reviewed.
  • इजरायलका विदेशमन्त्री गिदोन सारले कोलोराडोको बोल्डरमा भएको हमला यहुदी विरोधी भएको बताएका छन्।
  • अमेरिकी प्रहरी र एफबीआईले घटनालाई आतङ्कवादी र लक्षित हिंसाको रूपमा अनुसन्धान गरिरहेका छन्।
  • घटनामा धेरै मानिसहरू जलेका र अभियुक्तलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

१९ जेठ, काठमाडौं । इजरायलका विदेशमन्त्री गिदोन सारले अमेरिकाको कोलोराडो राज्यको बोल्डर सहरमा भएको घटना यहुदी विरोध भन्दै आपत्ति जनाएका छन् । यो घटनाबाट निकै आश्चर्यचकित र दुखित भएको बताउँदै उनले यसलाई यहुदी विरोधी हमलाको संज्ञा दिएका हुन् ।

गिदोन सारले आफ्नो एक्स एकाउन्टमा लेखेका छन्, ‘कोलोराडोको बोल्डरमा यहुदीहरूलाई लक्षित गरेर गरिएको यो हमला निकै दुखद र पूर्ण रूपमा यहुदी विरोधी हो।’

उनले थपे, ‘म यस हमलामा घाइते भएका व्यक्तिहरूको स्वास्थ्य लाभको कामना गर्दछु।’ गिदोन सारले मिडियामा फैलिएको झूट र गलत सूचनाहरूले यस्तो घृणालाई बढावा दिएको बताए।

उनले अमेरिकामा रहेका इजरायली राजदूत र लस एन्जलसस्थित महावाणिज्य दूतावाससँग पनि यो विषयमा कुरा गरेको जानकारी दिएका छन् । यसैबीच, अमेरिकी अनुसन्धान निकाय एफबीआईले उक्त घटनालाई आतङ्कवादी हमलाको रूपमा अनुसन्धान गरिरहेको जनाएको छ । यद्यपि प्रहरीका अनुसार यो घटनालाई अहिलेसम्म आतङ्कवादी हमला भनी वर्गीकृत गरिसकिएको छैन ।

के हो घटना ?

अमेरिकी प्रहरीका अनुसार, कोलोराडोको बोल्डर शहरमा रहेको एक शपिङ मलमा एक व्यक्तिले मानिसहरूलाई आगो लगाउने प्रयास गरेका छन् । यस घटनामा धेरै मानिसहरू जलेको र उनीहरूको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, जब हमला भयो, त्यो बेला केही मानिसहरू इजरायली बन्धकहरूको समर्थनमा एक शान्ति मार्च गर्दै थिए। त्यस्तो प्रकारको मार्च सो क्षेत्रमा प्राय: भइरहने गरेको बताइएको छ ।

हमलापछि एफबीआईका उच्च अधिकारीहरूले सामाजिक सञ्जालमा प्रतिक्रिया दिएका छन् । एफबीआई प्रमुख काश पटेलले सामाजिक सञ्जालमा लेखेका छन्, ‘हामी कोलोराडोको बोल्डरमा भएको सम्भावित आतङ्कवादी हमलाबारे जानकारीमा छौं र यसबारे पूर्ण अनुसन्धान भइरहेको छ। हाम्रो टोली र स्थानीय कानूनी निकाय घटनास्थलमा उपस्थित छन् र नयाँ जानकारी आउनेबित्तिकै अपडेट दिइनेछ ।’

एफबीआईका अर्का वरिष्ठ अधिकारी ड्यान बन्जियोले पनि घटनास्थलमा पुगिसकेको जनाउँदै भनेका छन्, ‘हामी यस घटनालाई एक लक्षित हिंसा र आतङ्कवादी कृत्यको रूपमा अनुसन्धान गरिरहेका छौं । अनुसन्धानमा कुनै कमी गरिने छैन ।’

बोल्डर प्रहरी प्रमुख स्टेफन रेडफर्नका अनुसार यो हमलामा धेरै मानिसहरू घाइते भएका छन्, जसमा धेरैलाई जलनका कारण गम्भीर चोट लागेको छ । उनका अनुसार अभियुक्तलाई फेला पारी नियन्त्रणमा लिइएको छ ।

अभियुक्त पनि केही सामान्य घाइते भएको र उपचारका लागि अस्पताल लगिएको प्रहरी स्रोतले जनाएको छ। यद्यपि, स्थानीय प्रहरीले हालसम्म यस घटनालाई आतङ्कवादी हमला भनेको छैन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?