
News Summary
Generated by OK AI. Editorially reviewed.- गायक तथा संगीतकार गणेश रसिकको अन्त्येष्टि मंगलबार पशुपतिमा हुने तय भएको छ।
- संघका अध्यक्ष अष्ट लामाले शवदाह गृहमा श्रद्धाञ्जली र अन्त्येष्टि कार्यक्रमको जानकारी दिए।
- रसिकको इच्छा अनुसार अस्तुलाई भोजपुरको छिनामखुमा लैजान लागिएको छ।
काठमाडौं । कालजयी गायक तथा संगीतकार गणेश रसिकको अन्त्येष्टि मंगलबार पशुपतिस्थित विद्युतीय शवदाह गृहमा हुने भएको छ । त्यसअघि सोही स्थानमा अन्तिम श्रद्धाञ्जलीको कार्यक्रम राखिएको संगीतकार संघले जनाएको छ ।
संघका अध्यक्ष अष्ट लामाका अनुसार विहान ९ देखि ११ बजेसम्म श्रद्धाञ्जलीको कार्यक्रम राखिएको छ । रसिककी छोरी बेलायतबाट सोमबार बिहान नेपाल आइपुगेकी छन् ।
रसिकको इच्छाअनुसार नै उनको शवलाई पशुपतिको विद्युतीय शवदाह गृहमा अन्त्येष्टि गर्न लागिएको अध्यक्ष लामाले जनाए । मृत्युअघि रसिकले परिवार र आफन्तलाई आफ्नो निधनपछि तामझामसहित आफ्नो शवलाई प्रज्ञा प्रतिष्ठान र संगीत तथा नाट्य प्रतिष्ठानमा नराख्न भनेका थिए ।
साथै, जन्मथलो भोजपुरको छिनामखुमा अस्तु लैजानु भनेर आग्रह गरेका थिए । ‘उहाँको इच्छा र आग्रहअनुसार हामीले अन्त्येष्टिको तयारी गरेका हौं र अस्तु गाउँमा लैजान्छौं’ लामाले अनलाइनखबरसँग भने ।
पशुपतिमा हुने अन्त्येष्टिमा पूर्वप्रधानमन्त्री झलनाथ खनाल लगायतका नेताहरू, संगीतकर्मीको उपस्थिती हुने संगीतकार संघले जनाएको छ । श्रद्धाञ्जली कार्यक्रममा रसिकको चर्चित गीत ‘यो नेपाली ठिटो…’लाई श्रद्धाञ्जलीस्वरुप प्रस्तुत गरिने भएको छ ।
वरिष्ठ सर्जक रसिकको ७८ वर्षको उमेरमा आइतबार ललितपुर हात्तीवनस्थित नेपाल क्यान्सर अस्पतालमा निधन भएको थियो । उनी ५ वर्षदेखि प्रोस्टेट क्यान्सरले पीडित थिए ।
प्रतिक्रिया 4