News Summary
Generated by OK AI. Editorially reviewed.- दक्षिण अफ्रिकाका विकेटकिपर ब्याटर हेनरिक क्लासेनले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरे।
- उनले परिवारसँग बढी समय बिताउने चाहनालाई मुख्य कारण बताएका छन्।
- उनले गत वर्ष जनवरीमा टेस्ट क्रिकेटबाट सन्यास लिएका थिए।
१९ जेठ, काठमाडौं । दक्षिण अफ्रिकाका विकेटकिपर ब्याटर हेनरिक क्लासेनले सोमबार सामाजिक सञ्जालमार्फत अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन्।
३२ वर्षीय क्लासेनले इन्स्टाग्राममा लेख्दै भनेका छन्, ‘आज मेरो लागि दुःखको दिन हो किनभने मैले अन्तर्राष्ट्रिय क्रिकेटबाट टाढा रहने निर्णय लिएको छु।’
‘मैले यो निर्णय लिन धेरै समय लगाएँ, तर अब यो मेरो र मेरो परिवारको भविष्यको लागि सबैभन्दा उपयुक्त समय हो’ उनले अगाडि थपे।
उनको सन्यासको मुख्य कारण भनेको परिवारसँग बढी समय बिताउने चाहना हो। क्लासेनले लेखेका छन्, ‘अब म परिवारसँग बढी समय बिताउन पाउने छु भन्ने आशामा छु।’
क्लासेनले गत वर्ष जनवरीमा टेस्ट क्रिकेटबाट सन्यास लिएका थिए । उनले आफ्नो करियरमा दक्षिण अफ्रिकाका लागि ६० ओडीआई, ५८ टी–२० र ४ टेस्ट खेल खेलेका छन्।
उनको अन्तिम खेल यस वर्ष मार्चमा न्यूजिल्यान्डविरुद्ध भएको आइसिसी च्याम्पियन्स ट्रफीको सेमिफाइनल थियो, जहाँ उनी ७ बलमा ३ रनमै आउट भएका थिए। उक्त खेलमा दक्षिण अफ्रिका ५० रनले पराजित भएको थियो।
प्रतिक्रिया 4