+
+
Shares

वाईसीएल सम्मेलनका प्रतिनिधि बल्ल टुंगिँदै, सहमति नजुटे आजै चुनाव

सहमतिबाट नेतृत्व चयन हुन नसके मतदान प्रक्रियाबाट निर्वाचित कमिटी ल्याउने तयारी भएकाले सम्मेलनका प्रतिनिधिको टुंगो लगाउने तयारी हुँदैछ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २१ गते १२:३५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा माओवादी केन्द्रनिकट युवा संगठन वाईसीएलको तेस्रो सम्मेलन जारी छ तर प्रतिनिधिको टुंगो अझै लागिसकेको छैन।
  • प्रतिनिधि टुंगो लगाउने कार्य जारी रहेको छ।
  • सहमतिबाट नेतृत्व चयन हुन नसके मतदान प्रक्रियाबाट निर्वाचित कमिटी ल्याउने तयारी भइरहेको छ।

२१ जेठ, काठमाडौं । नेकपा माओवादी केन्द्रनिकट युवा संगठन योङ कम्युनिस्ट लिग (वाईसीएल) को तेस्रो सम्मेलन जारी छ । तर, प्रतिनिधिको टुंगो अझै लागिसकेको छैन ।

सहमतिबाट नेतृत्व चयन हुन नसके मतदान प्रक्रियाबाट निर्वाचित कमिटी ल्याउने तयारी भएकाले सम्मेलनका प्रतिनिधिको टुंगो लगाउने तयारी हुँदैछ ।

वाईसीएल इञ्चार्ज रामप्रसाद सापकोटा ‘दीपशिखा’ का अनुुसार प्रतिनिधिहरूको रुजु गर्ने कार्य जारी रहेको छ । ‘प्रतिनिधिहरूको रुजु गर्ने भइरहेको छ । प्रतिनिधि फाइनल गरेपछि मात्रै सहमतिमा कि निर्वाचनबाट नेतृत्व चयन गर्ने चरणमा प्रवेश गर्नेछौं,’ दीपशिखाले भने ।

महाधिवशेनका लागि प्रारम्भिक नामावली १६ सय थियो । सःशुल्क कार्ड लिनेहरूको आधारमा प्रतिनिधि टुंगो लाग्ने संगठनका नेताहरूले जानकारी गराएका छन् ।

प्रतिनिधिका लागि सःशुल्क कार्ड लिनेको संख्या एक हजारदेखि १२ सयसम्म हुने जानकारी गराइएको छ ।

आइतबारबाट सुरु भएको वाईसीएलको तेस्रो सम्मेलनमा अध्यक्षका आकांक्षी १३ जना छन् । केन्द्रीय समिति र पदाधिकारी बैठकमा आकांक्षीहरूको नाम संकलन गर्दा अध्यक्षका लागि १३ जनाले नाम टिपाएका थिए ।

महासचिवमा ८ ले इच्छा देखाएका छन् । पदाधिकारीमा ९९ जनाले आकांक्षा देखाएका छन् । उपाध्यक्ष केहरसिंह कुँवर, उपमहासचिव पुष्प ओली, सचिवहरू नवराज ऐर, गणेश शाही, कर्म पुलामी, माधव बस्नेत, प्रेम श्रेष्ठ, ठाकुर सौरागलगायत अध्यक्षको आकांक्षी छन् ।

यी मध्ये कुँवर, ओली, ऐर, शाही र पुलामी अध्यक्षको बलियो दाबेदार रहेको संगठनका नेताहरू बताउँछन् ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहमति हुन नसके निर्वाचनमा जान संगठनका नेताहरूलाई निर्देशन दिएका छन् । वाईसीएल इञ्चार्ज दीपशिखाका अनुसार प्रतिनिधिको टुंगो लागेपछि केही समय सहमति खोज्नका लागि प्रयास हुने र सहमति हुन नसके आजै निर्वाचन प्रक्रिया अघि बढ्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?