
News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौंमा जारी वाईसीएलको तेस्रो महाधिवेशनमा नयाँ नेतृत्वका लागि आकांक्षीहरूको सूची लामो छ।
- प्रचण्डले सहमति नभए निर्वाचन प्रक्रियामा जान निर्देशन दिएकाले मतदानको सम्भावना रहेको छ।
- महाधिवेशनले दुई वर्षका लागि २५१ सदस्यीय केन्द्रीय कमिटी चयन गर्नेछ।
२० जेठ, काठमाडौं । योङ कम्युनिष्ट लिग अर्थात वाईसीएल । माओवादी केन्द्र शान्तिप्रक्रियामा आएयताका केही वर्ष वाईसीएलको रजगज नै थियो । एकपछि अर्को विवाद र मूलपार्टीको अलोकप्रियतासँगै वाईसीएल शिथिल हुँदै गयो । यसका नेतृत्वकर्ताहरू गुमनाम बन्दै गए ।
अवस्था अहिले पनि करिब उस्तै छ । तर, राजधानीमा जारी वाईसीएलको तेस्रो सम्मेलनमा आगामी नेतृत्वका लागि आकांक्षीहरूको सूची भने लामै छ ।
वाईसीएलको उद्घाटन शत्रमा माओवादी अध्यक्ष प्रचण्डले राजावादीलाई लक्षित गर्दै दिएको इँटको जवाफ पत्थरले दिनू भन्ने अभिव्यक्तिपछि सम्मेलनमा सहभागीहरू हौसिएका छन् ।
महाधिवेशनले आगामी दुई वर्षका लागि २५१ सदस्यीय केन्द्रीय कमिटी चयन गर्नेछ । जसमा पदाधिकारीको संख्या ३५ हुनेछ ।
अध्यक्षमा मात्र १३ आकांक्षी देखिएका छन् । वाईसीएल इञ्चार्ज दीपशिखाले संगठनको केन्द्रीय समिति र पदाधिकारी बैठकमा आकांक्षीहरूको नाम आह्वान गरेका थिए, जहाँ १३ जनाले अध्यक्ष र ८ जनो महासचिवमा दावी गरे ।
‘तपाईंहरूको दाबी के–के छ भनेर सामूहिक रूपमा बैठकमै सोधेका हौं,’ रामप्रसाद सापकोटा दीपशिखाले अनलाइनखबरसँग भने, ‘अध्यक्षका लागि १३ जना, महासचिवमा ८ तथा अन्य पदसहित ९९ जनाले नाम बुझाउनुभएको छ ।’
उपाध्यक्ष केहरसिंह कुँवर, उपमहासचिव पुष्प ओली, सचिवहरू नवराज ऐर, गणेश शाही, कर्म पुलामी, माधव बस्नेत, प्रेम श्रेष्ठ, ठाकुर सौरागलगायत अध्यक्षको आकांक्षी देखिएका छन् । यी मध्ये कुँवर, ओली, ऐर, शाही र पुलामी अध्यक्षको बलियो दाबेदार रहेको संगठनका नेताहरू बताउँछन् ।
नेताहरूका अनुसार अध्यक्षका प्रायः सबै आकांक्षी प्रचण्डनिकटका हुन् ।
वाईसीएलका एक नेता भन्छन्, ‘सिनियरलाई अध्यक्ष बनाउने सहमति भयो भने केहरसिंह बलियो देखिन्छन् । चुनाव हुने अवस्था बन्यो भने प्रतिस्पर्धा गर्न अरु पनि तयार देखिन्छन् ।’
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सहमतिमा नेतृत्वको टुंगो लाग्न नसके प्रक्रियामा जान निर्देशन दिएकाले निर्वाचनको सम्भावना पनि रहेको ती नेता बताउँछन् ।
आकांक्षीको संख्या ठूलो रहेकाले सहमतिको प्रयास गरिरहेका इञ्चार्ज दीपशिखा दबाबमा छन् । उनीसहितको टोलीले मंगलबार बिहान प्रचण्डलाई भेटेको थियो । सोही भेटमा प्रचण्डले नयाँ नेतृत्वका लागि सहमति हुन नसके निर्वाचन प्रक्रियामा जान निर्देशन दिएको दीपशिखाले बताए । प्रचण्डको भनाइ उद्धृत गर्दै उनले भने, ‘बन्द सत्र सकाउनुुस् । सके सहमति गर्नुुस्, नसके निर्वाचनमा जानुस् ।’
अखिल क्रान्तिकारीमा प्यानल सहित प्रतिस्पर्धा गरेका उपमहासचिव जनार्दश शर्माले वाईसीएलको भावी नेतृत्वका लागि कसैलाई अघि सारेका छैनन् । यसपटक उनले कम चासो राखेको उनी निकटका नेता कार्यकर्ता बताउँछन् । शर्मा निकट वाईसीएलका एक नेताले भने,‘जुन जुन नामहरू चर्चामा बाहिर आएका छन् ।
नेताहरूका अनुसार अध्यक्षका प्रायः सबै आकांक्षी प्रचण्डनिकटका हुन् । ‘धेरै आकांक्षी हेडक्वाटर निकट भनेर चिनिएकाहरू नै छन्,’ उनले भने, ‘इञ्चार्ज दीपशिखा र वर्तमान अध्यक्ष सुवोध शेर्पाली आफूनिकटलाई अध्यक्ष बनाउने प्रयासमा छन् । दुवै प्रचण्डनिकट भएकाले जो अध्यक्ष बने पनि प्रचण्डकै बन्ने हुन् ।’
स्रोतहरूका अनुसार प्रचण्ड कुनै एक नेताको नाममा सहमति गर्न दबाब दिने मनस्थितिमा छैनन् । अधिकांश आकांक्षीहरू उनीनिकटहरू नै भएकोले एउटालाई रोज्दा बाँकी चिढिने जोखिम उनले बुझेका छन्
विद्यार्थी संगठन अखिल क्रान्तिकारीमा जस्तो वाईसीएलमा पार्टी उपमहासचिव जनार्दन शर्माका पक्षधर खुलेको देखिएको छैन । ‘अध्यक्ष प्रचण्ड यसकारण पनि वाईसीएलको नयाँ नेतृत्व बिना दबाब चयन होस् भन्नेमा सजग हुनुहुन्छ,’ पार्टीका एक पदाधिकारीले भने ।
महाधिवेशनमा करिब दुई हजार प्रतिनिधि रहेको बताइएको छ । तर, सूची सार्वजनिक गरिएको छैन । प्रत्येक स्थानीय तहबाट एक–एक जना, प्रत्येक जिल्लाबाट सात–सात जना, प्रत्येक प्रदेशबाट १४–१४ जना, आयोजक समितिका ३११ जना, कुल प्रतिनिधिको दुई प्रतिशत मनोनीत गरेर जम्मा प्रतिनिधि दुई हजार हाराहारीमा रहेको वाईसीएलका पदाधिकारीले बताएका छन् ।
मंगलबार बन्द सत्रमा आठ वटा समूहले रिपोर्टिङ गरेका छन् । समूहगत छलफल सकिएपछि प्रशिक्षण कार्यक्रम हुने वाईसीएलका नेताहरूले जानकारी गराएका छन् । नेतृत्व निर्माणको चरणमा सम्मेलन पुगिनसकेको दीपशिखाले बताए । उनका अनुसार सहमति हुन नसके बुधबारबाट निर्वाचन प्रक्रिया अघि बढ्न्छ ।
प्रतिक्रिया 4