
२२ जेठ, काठमाडौं । नेकपा माओवादी केन्द्रको युवा संगठन योङ कम्युनिस्ट लिग (वाईसीएल) को सम्मेलन अवधि बढेको छ । जेठ १८ देखि २० सम्मको लागि तय भएको तेस्रो सम्मेलनको अवधि लम्बिएपछि कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको हल बिहीबार २२ गतेका लागि पनि बुक गरिएको छ ।
वाईसीएलको सम्मेलनका लागि गठित निर्वाचन आयोगले बुधबार अबेर कार्यतालिका सार्वजनिक गरेपनि त्यसमा निर्वाचनको समय भने निश्चित गरिएको छैन ।
राति १० बजे प्रतिनिधिहरुको अन्तिम नामावली प्रकाशन गरेर त्यसमा दाबी विरोधको समय बिहीबार १० बजेका लागि तोकिएको छ । १२ बजे उम्मेदवारको मनोनयन दर्ताको लागि समय निर्धारण गरिएको छ ।
उम्मेदवार उपर दाबी विरोधको समय ४५ मिनेट छुट्याइएको छ । सवा २ बजेदेखि एक घण्टा उम्मेदवारी फिर्ताका लागि समय तोकिएको छ । बिहीबार सवा ३ बजे उम्मेदवारको अन्तिम सूची प्रकाशित गर्ने गरी निर्वाचन आयोगले कार्यतालिका सार्वजनिक गरेको छ ।
मतदान सुरु हुने समय नतोकी कार्यतालिका सार्वजनिक गरिएपछि त्यसमा विरोध समेत भएको छ । अध्यक्षका आकांक्षी नवराज ऐरले निर्वाचनको समय निश्चित नगरी तालिका ल्याएकोप्रति हलमै विरोध जनाएका थिए । ‘मैले मञ्चमै गएर कार्यतालिकामा आपत्ति जनाएँ । उहाँहरुले संशोधित कार्यतालिका ल्याउँछु भन्नुभएको छ,’ ऐरले अनलाइनखबरसँग भने ।
सहमतिमा नेतृत्व चुन्न पार्टी अध्यक्ष प्रचण्डको सुझाव
सहमतिका लागि भनेर सम्मेलन अवधि बढाइए पनि मंगलबार प्रगति हुन सकेको छैन । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सर्वसम्मत नेतृत्व चयन गर्ने पक्षमा रहेको हुँदा सहमति खोज्ने प्रयास भइरहेको संगठनका नेताहरुले बताएका छन् ।
वाईसीएलका इञ्चार्ज रामप्रसाद सापकोटा ‘दीपशिखा’ र अध्यक्ष सुवोध शेर्पाली बुधबार पनि पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न पुगेका थिए । दीपशिखा र शेर्पाली लामो समयसम्म अध्यक्ष प्रचण्डसँग छलफलमा हुँदा बुधबार दिनभर प्रतिनिधिहरु सम्मेलन केन्द्रमा टहलिरहेका थिए ।
सहमतिमा नेतृत्व चयन उपयुक्त हुने सुझाव अध्यक्ष प्रचण्डले दिएको इञ्चार्ज दीपशिखाले बताए । ‘वाईसीएलमा सहमति गर्नुस् । चुनाव गरेको राम्रो हुँदैन । सहमति हुनै सकेन भने प्रक्रियामा जाने कुरा हुन्छ भन्नुभयो,’ दीपशिखाले अनलाइनखबरसँग भने, ‘सहमति जसको नाममा गरेपनि हुन्छ, व्यक्ति यही भन्ने छैन । तपाईं दुई जनाले सहमति गरेर नाम ल्याउनुस् भन्नुभएको छ ।’
अध्यक्ष प्रचण्डको चाहना अनुसार अध्यक्षका आकांक्षीहरुलाई एकै ठाउँ राखेर दीपशिखा र शेर्पालीले छलफल गर्ने बताइएको छ । यद्यपि, हालसम्म आकांक्षीहरुलाई सँगै राखेर सामूहिक छलफल हुन सकेको छैन । दीपशिखाले बुधबारको दिन प्रतिनिधिहरुको नामावली रुजु गरेरै बितेकाले संयुक्त छलफल हुन नसकेको बताए ।
वाईसीएलका नेताहरुले प्रतिनिधिहरुको संख्या भने फरक–फरक बताइरहेका छन् । वाईसीएल इञ्चार्ज दीपशिखाले अनलाइनखबरसँग कुरा गर्दै १ हजारदेखि १ हजार २०० सम्म प्रतिनिधि हुने बताएका थिए । तर त्यो संख्या बढेर १ हजार ४५० बढी पुगेको संगठनका नेताहरुको भनाइ छ ।
अध्यक्षमा १३ आकांक्षी
वाईसीएलका नेताहरुका अनुसार निर्वाचन हुने सम्भावना अति न्यून छ । निर्वाचनको विपक्षमा रहेको पार्टी हेडक्वाटर र सहमतिमा नेतृत्व गराउन खटिएका दीपशिखा र शेर्पाली दुवै पार्टी अध्यक्ष प्रचण्ड निकट भएकाले चुनाव हुने सम्भावना नदेखिएको सम्मेलन स्थलमा रहेका एक पदाधिकारीले बताए ।
वाईसीएलको अध्यक्षका लागि १३ जना आकांक्षी छन् । उपाध्यक्ष केहरसिंह कुँवर, उपमहासचिव पुष्प ओली, सचिवहरू नवराज ऐर, गणेश शाही, कर्म पुलामी, माधव बस्नेत, प्रेम श्रेष्ठ, ठाकुर सौराग लगायत अध्यक्षको आकांक्षी छन् । अध्यक्षको दाबीकर्ताहरुमा कुँवर, ओली, ऐर, शाही र पुलामीको नाम बढी चर्चामा छ ।
वाईसीएलका नेताहरुका अनुसार दीपशिखा र शेर्पालीको मिलेमतोमा नयाँ कमिटी आउने आशंका संगठनभित्र छ । दीपशिखाले हालका उपाध्यक्ष केहरसिंह कुँवरलाई अध्यक्ष बनाउने चाहेको संस्थापन पक्षकै वाईसीएलका एक नेताले दाबी गरे । उनले भने, ‘केहरसिंहलाई अध्यक्ष, कर्म पुलामीलाई उपाध्यक्ष र गणेश शाहीलाई महासचिव बनाएर दीपशिखाले नयाँ नेतृत्व ल्याउन खोज्छन् । उनले भनेकै जस्तो सबै नहुने हुँदा सुवोध (वाईसीएलका हालका अध्यक्ष) ले चाहेका व्यक्तिहरु पनि मिलाएर कमिटी ल्याउँछन् ।’
अध्यक्षका आकांक्षी प्रेम श्रेष्ठ मूल नेतृत्वका लागि दाबी गर्नेहरुको संख्या धेरै भएको हुँदा निर्वाचनको सम्भावना पनि उत्तिकै रहेको बताउँछन् ।
उपाध्यक्षका लागि १० जना बढीले दाबी गरेका छन् । उपाध्यक्षमा अखिल शाही, नवीन खड्का, मनिषा चदारा, रीतमान पुन, सुनील सुनार, मोहित विक, अनु कुँवर, शर्मिला तामाङ, अर्जुन साउद, अविलास लामा लगायत इच्छा राखेका छन् । अनन्त प्रकाश श्रेष्ठ, शिला नेपाल, साजन अधिकारी लगायतले उपमहासचिव पदको दाबी गरेका छन् ।
महासचिव पदमा विपिन आचार्य, हरि ढकाल, सन्तोष पनेरु, शिव बोगटी, धनकुमार मैनाली, कुमार आचार्य, शंकर पौडेल र शोभाराम भण्डारी गरी ८ जनाले दाबी गरेका छन् । राजीव गिरीले कोषाध्यक्ष पदको आकांक्षा राखेका छन् ।
उपाध्यक्ष ७, महासचिव १, उपमहासचिव ८, सचिव १७ कोषाध्यक्ष १ गरी ३५ जनाको पदाधिकारी हुने वाईसीएलको विधानको व्यवस्था छ । ३५ जना हुने पदाधिकारीका लागि ९९ जनाले इच्छा देखाएका छन् । वाईसीएलको केन्द्रीय कमिटी २५१ जनाको हुने व्यवस्था गरिएको छ ।
प्रतिक्रिया 4