+
आईसीसी क्रिकेट विश्वकप लिग २ :

क्रिजमा टिकेर खेलेँ भने जुन म्याच पनि जिताउँछु जस्तो लाग्छ : आरिफ

२०८२ जेठ  २२ गते ८:४१ २०८२ जेठ २२ गते ८:४१
क्रिजमा टिकेर खेलेँ भने जुन म्याच पनि जिताउँछु जस्तो लाग्छ : आरिफ

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आरिफ शेखले नेदरल्याण्ड्ससँगको खेलमा ७८ रन बनाएर नेपाललाई जिताउन महत्वपूर्ण भूमिका निभाए।
  • उहाँले भने, 'मलाई के विश्वास छ भने मैले ३०-४० बल क्रिजमा टिक्न सकेँ भने हरेक गेम जुनसुकै अवस्थाबाट फिनिस गर्न सक्छु।'
  • नेपालले नेदरल्याण्ड्सलाई ५ विकेटले पराजित गरी लगातार दोस्रो जित हासिल गर्यो।

२२ जेठ, काठमाडौं । नेदरल्याण्ड्ससँगको लिग २ खेलमा कुशल ब्याटिङ प्रदर्शन गरेका आरिफ शेखले क्रिजमा धेरैभन्दा धेरै टिकेर खेल्न सके जुन खेल पनि जित्न सकिने बताएका छन् ।

बुधबार राति नेदरल्याण्ड्समाथि ५ विकेटको जित निकालेपछि सञ्चारकर्मीसँग कुरा गर्दै आरिफले केही ओभरसम्म क्रिजमा टिकेर खेल्दा जुनसुकै अवस्थाबाट पनि खेल जिताउन सक्ने आत्मविश्वास आफूमा भएको बताएका हुन् ।

‘मलाई के विश्वास छ भने मैले ३० देखि ४० बल क्रिजमा टिक्न सकेँ भने हरेक गेम जुनसुकै अवस्थाबाट फिनिस गर्न सक्छु जस्तो लाग्छ’ उनले भने, ‘सुरुमा केही च्यालेन्जिङ थियो तर जब मैले ३०-४० बल खेलें, जिताउन सक्छु भन्ने भयो।’

आरिफले करियरकै उत्कृष्ट ब्याटिङ प्रदर्शन गर्दै ७८ रन बनाएपछि नेपालले लगातार दोस्रो जित निकालेको थियो । आरिफले सुरुवातमा डटबलहरू धेरै खेलेपनि त्यसपछि निश्चित समयमा बाउन्ड्रीहरू प्रहार गर्दै म्याच विनिङ पारी नै खेले । उनी खेलको म्यान अफ द म्याच नै घोषित भए ।

नेदरल्याण्ड्सलाई हराउनुअघि नेपालले स्कटल्याण्डलाई हराएको थियो । यस लिग २ साइकलमा नेपालले पहिलोपटक लगातार २ जित निकालेको हो । यसअघि आएका २ जित फरक फरक शृंखलामा आएका थिए ।

दुई बलिया टोलीविरुद्ध जित निकालेपछि आरिफले यहाँ हरेक खेलले फाइनलजति नै महत्व राख्ने बताए । ‘यहाँ हरेक जित हाम्रो लागि उत्तिकै महत्वपूर्ण हुन्छ, एसोसियटकै उत्कृष्ट टिमलाई हराउनु भनेको आफैंमा पनि ठुलो कुरा हो’ उनले भने, ‘हाम्रो लागि लिग २ मा अहिले जहाँ छौं, सबै खेल फाइनल जस्तै महत्वपूर्ण हुन्छ ।

बुधबारको खेलमा नेदरल्याण्ड्सले टस जितेर पहिले ब्याटिङ गर्दै २२५ रनमा अलआउट भएको थियो । नेदरल्याण्ड्सलाई कम स्कोरमा रोक्ने रणनीति अनुसार टिमको बलिङ  युनिट सफल भएको आरिफको भनाइ थियो ।

‘हामीले २५० भित्रै रोक्न सक्यौं भने चेज गर्न सजिलो हुन्छ भन्ने थियो, त्यही अनुसार २२५ मा रोक्यौं अनि बीचमा दुईवटा पार्टनरसिप मात्र आवश्यक थियो । हामीले गर्‍यौं अनि जित सम्भव भयो’ आरिफले भने ।

नेदरल्याण्ड्सले दिएको २२६ रनको लक्ष्य नेपालले ४७.१ ओभरमा ५ विकेटको क्षतिमा भेट्टायो । आरिफले ९९ बलमा ७ चौका र २ छक्कासहित सर्वाधिक ७८ रन बनाए । स्लो सुरुवात गरेका आरिफले केही समय संयमित भएर खेल्दै रनगति बढाएका थिए ।

आरिफले चौथो विकेटका लागि कप्तान रोहित पौडेलसँग मिलेर ५५ रन तथा पाँचौं विकेटका लागि दिपेन्द्रसिंह ऐरीसँग मिलेर ८९ रनको साझेदारी गरेका थिए जसका कारण नेपालको जितको आधार नै तय भएको थियो ।

नेपाली टोलीका नयाँ प्रशिक्षक स्टुअर्ट लका बारेमा पनि बोल्दै आरिफले प्रशिक्षकले हामी जसरी खेल्छौं त्यसरी नै कसरी जित्न सकिन्छ भन्नेबारे सिकाइरहेको उल्लेख गरेे । ‘उहाँ (प्रशिक्षक) धेरै नै कूल हुनुहुन्छ, हामीलाई हामी जसरी खेल्छौं हाम्रो शैली जे छ त्यसकै आधारमा सिकाउनु हुन्छ, हामी त्यो इन्जोए गरिरहेका छौं’ उनले भने ।

अब नेपालले जुन ८ मा स्कटल्याण्डसँग खेल्नेछ ।

आईसीसी विश्वकप लिग २ नेपाली क्रिकेट टोली
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय