News Summary
Generated by OK AI. Editorially reviewed.- पाँचपोखरी टी–२० क्रिकेट प्रतियोगिता जेठ २७ देखि असार २ गतेसम्म टियु अन्तर्राष्ट्रिय मैदानमा आयोजना हुनेछ।
- प्रतियोगितामा सिन्धुपाल्चोकका ७ टिम सहभागी हुनेछन् र विजेताले १ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।
- व्यक्तिगत पुरस्कारहरू र निःशुल्क प्रशिक्षणको व्यवस्था समेत रहेको छ।
२५ जेठ, काठमाडौं । पाँचपोखरी टी–२० जिल्ला स्तरीय क्रिकेट प्रतियोगिताको सातौं संस्करण जेठ २७ देखि सुरु हुने भएको छ ।
प्रतियोगिता असार २ गतेसम्म कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा सञ्चालन हुनेछ। प्रतियोगितामा सिन्धुपाल्चोक जिल्लाका ७ टिमको सहभागिता रहनेछ।
अघिल्ला वर्षहरूमा जिल्लावासी खेलाडी मात्रै सहभागी हुने प्रावधान रहे पनि यसपटक बागमती प्रदेशका विभिन्न उमेर समूहबाट प्रतिनिधित्व गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भइसकेका २ जना खेलाडीलाई हरेक टिममा सहभागी गराउने व्यवस्था गरिएको छ।
यसले सिन्धुपाल्चोकका युवा खेलाडीलाई अनुभवी खेलाडीहरूसँग ड्रेसिङ रुम साझा गर्न र उनीहरूको अनुभवबाट सिक्न मद्दत गर्ने आयोजकको विश्वास छ।
प्रतियोगितामा प्रथम हुने टिमले नगद १ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने दोस्रो हुने टिमलाई ५० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ। साथै, म्यान अफ द सिरिज, उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट बलर र म्यान अफ द म्याच जस्ता व्यक्तिगत पुरस्कारहरू पनि प्रदान गरिनेछ।
साथै, ग्रेट हिमालयन क्रिकेट एकेडेमीले अघिल्ला वर्षझैं यसपटक पनि सर्वोत्कृष्ट खेलाडीलाई ६ महिनाको निःशुल्क प्रशिक्षण तथा उत्कृष्ट बलर र ब्याटरलाई ३ महिनाको निःशुल्क प्रशिक्षण दिनेछ।
एन्जल्स स्पोर्ट्स क्रिकेट एकेडेमीले पनि उत्कृष्ट खेलाडीहरूलाई ३ महिनाको निःशुल्क प्रशिक्षण दिने व्यवस्था गरेको छ।
प्रतियोगिता पाँचपोखरी गाउँपालिका खेलकुद विकास समिति र सिन्धुपाल्चोक जिल्ला क्रिकेट संघको संयुक्त आयोजनामा हुन लागेको हो।
आयोजकहरूले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएका छन्।
प्रतिक्रिया 4