News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौं महानगरपालिका वडा २६ को आयोजनामा ३० जेठदेखि काठमाडौं जिल्लाव्यापी वृहत खेलकुद प्रतियोगिता सुरु हुनेछ।
- प्रतियोगितामा फुटसल, टेबलटेनिस, तेक्वान्दो, कराते र क्योकुसिन कराते गरी पाँच खेलको प्रतिस्पर्धा हुनेछ।
- प्रतियोगिता सञ्चालनमा खर्च करिब ६५ लाख रुपैयाँ लाग्नेछ।
३० जेठ, काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं २६ को आयोजनामा काठमाडौं जिल्लाव्यापी वृहत खेलकुद शनिबारदेखि हुने भएको छ ।
प्रतियोगितामा फुटसल, टेबलटेनिस, तेक्वान्दो, कराते र क्योकुसिन कराते गरी ५ खेलको प्रतिस्पर्धा हुने कार्यक्रम संयोजक एवं वडा २६ का सदस्य प्रवेश श्रेष्ठले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।
फुटसलमा पुरुषतर्फ मात्र खेल हुनेछ । विजेताले १ लाख ५० हजार र उपविजेताले ७५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । विधागततर्फ ३ उत्कृष्ट खेलाडीलाई जनही १० हजार नगद पुरस्कार प्रदान गरिने छ । टेबलटेनिसमा ८ स्पर्धा समावेश छ । कुल पुरस्कार राशी १ लाख ६० हजार रुपैयाँ छ ।
तेक्वान्दोमा पुरुष/महिलामा समान १०–१० गरी २० स्पर्धामा भिडन्त हुनेछ । पहिलो हुने टिमले ७५ हजार, दोस्रोले ५० हजार र तेस्रोले २५ हजार प्राप्त गर्ने छन् । उत्कृष्ट पुरुष/महिला खेलाडी जनही १० हजार नगदबाट पुरस्कृत हुने छन् । हरेक स्पर्धामा शीर्ष स्थान हात पार्नेलाई क्रमशः ४ हजार, ३ हजार र २÷२ हजार नगद पुरस्कार प्रदान गरिने छ ।
करातेमा महिला एकल काता र महिला टिम कुमेतमा खेल हुनेछ । एकल कातामा शीर्ष ३ स्थान हात पार्नेले क्रमशः ३० हजार, १५ हजार र ५/५ हजार नगद पुरस्कार जित्ने छन् । टिम कुमुतेमा पहिलो हुनेले ५० हजार, दोस्रोले २५ हजार र तेस्रोले १०/१० हजार नगद पुरस्कार हात पार्ने छन् ।
क्योकुसिन करातेमा पुरुषमा ५ स्पर्धामा भिडन्त हुनेछ । शीर्ष चारमा रहने क्रमशः १० हजार, ८ हजार, ६ हजार र ५ हजार नगद पुरस्कार पाउने छन् । पाँचै खेलको कुल पुरस्कार राशी ११ लाख ९० हजार रुपैयाँ रहेको छ ।
फुटसल लैनचौर मैदान तथा बाँकी चार खेल पनि लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा खेलाइने छ । प्रतियोगितामा काठमाडौं महानगरपालिका सबै ३२ वडा र १० नगरपालिकाका करिब २ हजार खेलाडीको सहभागिता रहने आयोजकले जनाएको छ ।
प्रतियोगिता सञ्चालन गर्न करिब ६५ लाख खर्च हुने र त्यसमा ३५ लाख आयोजक वडाले व्यहोर्ने आयोजक वडा २६ का अधयक्ष ख्यामराज तिवारीले बताए । नपुग रकम विभिन्न संस्थाबाट जुटाउने आयोजकले जनाएको छ ।
अध्यक्ष तिवारीले आफ्नै वडामा सबै खेलको पूर्वाधार रहेकाले प्रतियोगिता आयोजना गर्न सहज हुने बताउदै वृहत खेलमा उत्साहजनक सहभागिता रहने विश्वास व्यक्त गरे ।
असार ८ गतेसम्म चल्ने वृहत खेलकुदको पहिलो दिन शनिबार टेबलटेनिस हुनेछ ।
प्रतिक्रिया 4