 
																			News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय थारू कलाकार मञ्चले असार ७ गते काठमाडौंमा सांस्कृतिक कार्यक्रम र साधारणसभा आयोजना गर्नेछ।
- कार्यक्रममा १०० भन्दा बढी कलाकारहरूले मौलिक र आधुनिक गीतसंगीत प्रस्तुत गर्नेछन्।
- कार्यक्रमले थारू भाषा, कला र संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्य राखेको छ।
३१ जेठ, काठमाडौं । राष्ट्रिय थारू कलाकार मञ्चले असार ७ गते काठमाडौंमा बृहत राष्ट्रिय थारू सांस्कृतिक कार्यक्रम तथा वार्षिक साधारणसभाको आयोजना गर्ने भएको छ ।
थारू भाषा, कला र संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यका काठमाडौंमा बृहत राष्ट्रिय थारू सांस्कृतिक कार्यक्रम तथा वार्षिक साधारणसभा गर्न लागिएको राष्ट्रिय थारू कलाकार मञ्चका केन्द्रीय महासचिव विजय चौधरीले जानकारी दिए ।
उनले भने, ‘थारू नेपालको आदिवासी तथा तराईको पहिलो जाति हो। हाम्रो आफ्नै भाषा, धर्म, कला-संस्कृति र पहिचान छ। यही पहिचानलाई जोगाउन र प्रवर्द्धन गर्न देशभरका कलाकारहरूको जनचेतनामूलक वृहत सांस्कृतिक कार्यक्रमको आयोजना गरेका छौं। जसमा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका थारू कलाकारहरूले आफ्नो प्रस्तुती देखाउनुहुन्छ। ‘
महासचिव चौधरीका अनुसार कार्यक्रममा सांस्कृतिक कार्यक्रमका साथै संस्थाको वार्षिक साधारणसभा पनि हुने जसमा केही विधान संशोधन हुनेछन् ।
कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा आयोजना हुने तथा ‘भाषा, कला–संस्कृति हमर शान, पहिचान बचैना हमार अभियान’ भन्ने मूल नारा राखिएको उक्त कार्यक्रमको प्रमुख अतिथि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका राज्यमन्त्री अरुण कुमार चौधरीको उपस्थिति रहने उनले बताए ।
आयोजक टिमले शुक्रबार राज्यमन्त्री चौधरीलाई भेट गरी विशेष निमन्त्रणा पनि हस्तान्तरण गरेको छ। वृहत सांस्कृतिक कार्यक्रममा थारूका मौलिकदेखि आधुनिक थारू गीत संगीतलगायत १०० भन्दा बढी थारू कलाकारहरूको सहभागिता रहने आयोजकले जनाएको छ ।

यसका साथै विशेषगरी धुम्रा नाच, झुम्रा, मघौटालगायत थारू सांस्कृतिक नाचहरू प्रस्तुत गरिनेछन्। यसका अतिरिक्त, कार्यक्रममा थारू परिकारहरूको स्वाद लिन सकिने स्टल, थारू परम्परागत पहिरन, गहना र सांस्कृतिक सामाग्रीहरूको प्रदर्शनी पनि राखिनेछन्।
राष्ट्रिय स्तरमा थारू कलाकारहरूको उपस्थितिमा पहिलो पटक यस्तो बृहत सांस्कृतिक कार्यक्रम हुन लागेको मञ्चका अध्यक्ष विनय वैद्यले जानकारी दिए । उनले यो कार्यक्रम केवल मनोरञ्जनको माध्यम नभई थारू पहिचानको संरक्षण र सशक्तिकरणतर्फको सार्थक प्रयास भएको बताए।
उनले कार्यक्रमलाई भव्य र सुसंस्कृत बनाउन सम्पूर्ण थारू संघसंस्था, संस्कृति प्रेमी र सरोकारवालालाई सहभागी हुन अपिल गरेका छन्। कार्यक्रममा सहभागिताका लागि प्रवेश शुल्क १,००० रुपैयाँ तोकिएको छ भने टिकटको प्रि-बुकिङ खुला भइसकेको र कार्यक्रम स्थलमै पनि टिकट उपलब्ध हुने उनले जानकारी दिए।
कार्यक्रमबारे विस्तृत जानकारी भोलि असार १ गते आइतबार नेपाल पर्यटन बोर्डमा पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिने आयोजकले जनाएको छ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                %20-%20Copy.jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4