
News Summary
Generated by OK AI. Editorially reviewed.- जनता समाजवादी पार्टीका प्रमुख सचेतक डा. वीरेन्द्र प्रसाद महतोले हुलाकी राजमार्गको निर्माणमा ढिलासुस्ती भएको बताए।
- महतोले सरकारको उपलब्धि र आगामी योजनाको सराहना गर्दै सामाजिक न्याय र आर्थिक विकासको पक्षमा बोले।
१ असार, काठमाडौं । जनता समाजवादी पार्टीका प्रमुख सचेतक डा. वीरेन्द्र प्रसाद महतोले हुलाकी राजमार्गको निर्माण कार्यमा ढिलासुस्ती भएको बताएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा बजेटमाथिको छलफलमा भाग लिने क्रममा उनले यस्तो बताएका हुन् ।
‘आगामी २ वर्षभित्र निर्माण कार्य सम्पन्न गर्ने भनिएको छ । तराई/मधेशको लाईफलाईन मानिएको यस राजमार्गलाई बजेट अलिक कम विनियोजन किन गरियो ?’ महतोको प्रश्न छ ।
धनुषा र सिरहा जोड्ने कमला पूल अलपत्र परेको पनि उनले बताए ।
महतोले आफ्नो दल यस सरकारमा जिम्मेवारीबोध गरेर सहभागी रहेको उल्लेख गरे । जसपाको नेतृत्वमा रहेका खानेपानी मन्त्रालय र महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले पछिल्लो समय हासिल गरेका उपलब्धिहरु र आगामी वर्षका लागि तय गरिएका कार्यक्रमहरु यस बजेटको गौरवपूर्ण पक्ष भएको पनि सुनाए ।
उनले भने, ‘खानेपानी मन्त्रालयले ग्रामीण तथा शहरी क्षेत्रमा स्वच्छ र सुरक्षित खानेपानीको पहुँच अभिवृद्धि, जलस्रोतको संरक्षण, र खानेपानी आपूर्ति प्रणालीको आधुनिकीकरणमा महत्त्वपूर्ण काम गर्दै आएको छ। नयाँ बजेटले भूगर्भीय स्रोतको व्यवस्थापन, वर्षा पानी संकलन प्रणाली, र जलशुद्धिकरण प्रविधिमा आधारित नवीनतम प्रणालीलाई समावेश गर्दै खानेपानी र सरसफाइ क्षेत्रमा गुणात्मक परिवर्तनको बाटो खोल्ने अपेक्षा गरिएको छ ।’
महतोले महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले महिला सशक्तीकरण, बाल अधिकार संरक्षण, जेष्ठ नागरिकको सम्मानजनक जीवन र घरेलु हिंसाबाट पीडितहरूको पुनःस्थापनामा उल्लेखनीय काम गरेको भन्दै प्रशंसा गरे ।
उनले थपे, ‘आगामी वर्षका लागि प्रस्तुत बजेटले महिला उद्यमशीलतालाई प्रवद्र्धन गर्ने, बालमैत्री कार्यक्रमहरूलाई संस्थागत बनाउने, र सामाजिक सुरक्षा कार्यक्रमलाई अझ प्रभावकारी बनाउने संकल्प गरेको छ, जसको हामी मुक्तकण्ठले प्रशंसा गर्दछौं ।’
उनले जनता समाजवादी पार्टी सधैं लोकतान्त्रिक, समाजवादी र समावेशी मूल्यमा आधारित उत्पादनमुखी अर्थतन्त्र निर्माणको पक्षमा दृढतापूर्वक उभिएको बताए ।
उनले भने,‘यो बजेटले त्यसै दिशामा अग्रसर हुँदै देशका हरेक वर्ग, क्षेत्र र समुदायलाई समेट्ने प्रयास गरेको देखिन्छ। खासगरी पछाडि पारिएका वर्ग, विपन्न नागरिक, महिला, बालबालिका, जेष्ठ नागरिक र युवाहरूका लागि लक्षित कार्यक्रमले सामाजिक न्यायको मूल मर्मलाई सम्बोधन गरेको छ ।’
महतोेले कृषि क्षेत्रको व्यवसायीकरण र यान्त्रिकीकरण गरी उत्पादन र उत्पादकत्व वृद्धि गरिने कुरा सुखद् रहेको टिप्पणी गरे । आगामी दुई वर्षभित्र चामलमा आत्मनिर्भर हुन तराई र भित्री मधेशका २२ जिल्लामा चैते धान खेती प्रवद्र्धन कार्यक्रम सञ्चालन गरिने कुरा राम्रो रहेको भन्दै उनले प्रशंसा गरे ।
उनले तराई मधेश समृद्धि तथा स्थानीय पूर्वाधार सहयोग कार्यक्रमलाई निरन्तरता दिईने कुरा महत्वपूर्ण रहेको सुनाए ।
प्रतिक्रिया 4