+
+
Shares
बजेटमा लफडा :

बागमतीको अर्थ मन्त्रालयमा हानाहानको अवस्था, सचिवमाथि दुर्व्यवहारको आरोप

‘मन्त्रालयभित्र हिजो राति सचिवले बजेट तयार गरिरहेका ठाउँमा पुगेर दुर्व्यवहार भएको थियो । झण्डै हानाहानको स्थिति आएको थियो । कर्मचारीहरूले मन्त्रीका मान्छेहरूलाई रोकेर सचिवज्यूलाई क्वार्टरमा लगेपछि उहाँ जोगिनु भएको हो,’ स्रोतले भन्यो ।

नवीन तिमल्सिना नवीन तिमल्सिना
२०८२ असार १ गते १७:२०
अर्थमन्त्री कुन्दनराज काफ्ले र सचिव कृष्णप्रसाद मैनाली

१ असार, हेटौंडा । बागमती प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयमा बजेटको अन्तिम तयारी गरिरहँदा शनिबार बेलुका लफडा भएको खुलेको छ ।

हिजो शनिबार राति हेटौंडा उपमहानगरपालिका–२, स्थित मन्त्रालयभित्र मन्त्री कुन्दनराज काफ्लेसहित उनको सचिवालय, मन्त्रालयका सचिव कृष्णप्रसाद मैनाली र कर्मचारीहरूबीच बजेटको विषयलाई लिएर झण्डै हानाहानको स्थिति भएको सरकार स्रोतले अनलाइनखबरलाई जानकारी दिएको छ ।

बजेटको अन्तिम तयारी गरिरहेका सचिव कृष्णप्रसाद मैनालीको कार्यकक्षमा पुगेर मन्त्री र मन्त्रीको सचिवालयले उनीमाथि दुर्व्यवहार गरेको स्रोतको दाबी छ । मन्त्री काफ्लेले सचिव मैनालीलाई बजेट हाल्न अनुचित दबाब दिएको र त्यस प्रस्तावको अस्वीकार गर्दा उनीमाथि दुर्व्यवहार भएको स्रोत बताउँछ ।

मन्त्री काफ्लेले ठूलो रकमको बजेट थप गर्न सचिव मैनालीलाई दबाब दिएको आरोप लागेको छ । ‘१ अर्ब जति बजेटका लागि दबाब दिइरहेको रहेछ,’ स्रोतले भन्यो । कांग्रेस र एमालेबीच बजेटको आकार ६८ अर्बभन्दा बढी नबनाउने समझदारी बेगर मन्त्री काफ्लेले ७२ अर्ब पुर्‍याउन खोजेका थिए ।

‘मन्त्रालयभित्र हिजो राति सचिवले बजेट तयार गरिरहेका ठाउँमा पुगेर दुर्व्यवहार भएको थियो । झण्डै हानाहानको स्थिति आएको थियो । कर्मचारीहरूले मन्त्रीका मान्छेहरूलाई रोकेर सचिवज्यूलाई क्वार्टरमा लगेपछि उहाँ जोगिनु भएको हो,’ स्रोतले भन्यो ।

आर्थिक मामिला तथा योजना मन्त्रालय स्रोतले सचिवसहितको टिमले बजेट तयार गर्दा दबाब दिने कार्य गर्नु कानुनविपरित हुने जनाएको छ । ‘सचिवज्यूहरूले बजेट निर्माण गरिरहँदा त्याहाँ कोही पनि जान मिल्दैन, दबाब दिन पनि पाइँदैन । त्याहाँ रहने कर्मचारीहरू पनि निश्चित रुपमा तोकिएको हुन्छ,’ स्रोतले भन्यो ।

स्रोतको सूचनालाई पुष्टि गर्न मन्त्रिपरिषद्का एक सदस्यलाई अनलाइनखबरले जानकारी लिन खोज्दा घटनाको पुष्टि गरेका छन् । ‘सचिवलाई हिजो रातभर निरीह बनाएर, रुवाएर थुनेर बजेटमा के–के हाले त्यो चाहीँ थाहा छैन,’ मन्त्रिपरिषद्का एक सदस्यले भने, ‘पछि उनीहरूले नै सचिवविरुद्ध गलत प्रचार गराएका रहेछन् ।’

रातभरको घटनाक्रम थाहा पाएपछि आज आइतबार बिहान एक मन्त्री सचिव मैनालीको क्वार्टरमा खोज्न पुगेका थिए । क्वार्टरमा ताला लगाएको देखेपछि ती मन्त्री फर्किएको स्रोतले जानकारी दिएको छ । त्यसयता सचिव मैनाली सम्पर्कविहीन छन् ।

घटना बारे जानकारी लिन खोज्दा मन्त्री काफ्लेको फोन स्वीच अफ छ । उनका निजी सचिव अनुप अधिकारीलाई सम्पर्क गर्न खोज्दा उनको फोन उठेन । मन्त्रालयका प्रवक्तासमेत रहेका उपसचिव श्रीकृष्ण आचार्यलाई सम्पर्क गर्दा फोन उठाएनन्, पछि फोन गर्दा मोबाइल स्वीच अफ भएको छ ।

मन्त्री काफ्ले पटक–पटक विवादमा तानिँदै आएका छन् । यसअघि राजश्व परामर्श समिति गठनको बेला मन्त्रिपरिषद्लाई नै झुक्याएर समितिको कार्यक्षेत्रगत शर्त ‘टीओआर’ पास गराएको आरोपको घटना बारेको समाचार अनलाइनखबरले प्रकाशित गरेको थियो ।

अस्वाभाविक बजेट एमालेले स्वीकार नगर्ने

मन्त्री काफ्लेको दबाबमा बढाइएको अस्वभाविक बजेट अस्वीकार गर्ने एमालेले रणनीति लिएको छ । नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले सत्तारुढ दलहरुबीचको सहमतिअनुसार बजेट नआए स्वीकार गर्न नसकिने बताए ।

अनलाइनखबरसँग कुरा गर्दै थपलियाले सत्ता साझेदार दलबीच भएको सहमति नै अन्तिम निर्णय हुने बताए । ‘कांग्रेस र हाम्रोबीचमा ६८ अर्बसम्मको बजेट ल्याउने सहमति छ । त्यो भन्दा बढी, अस्वभाविक बजेट ल्याउन खोजिए एमालेले स्वीकार गर्दैन,’ उनले भने ।

आज साढे ५ बजे मन्त्रिपरिषद् बैठक बोलाइएको छ । मन्त्रिपरिषद् बैठकमा ६८ अर्बको बजेट आए पास गर्ने बढी आए पास नगर्ने रणनीतिमा एमाले पुगेको छ । मन्त्रिपरिषद्ले बजेट पास गरेपछि मात्रै प्रदेशसभामा आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत हुनेछ । बजेटमा विवाद भएकै कारण आज ३ बजेलाई राखिएको प्रदेशसभा साढे ६ बजेलाई सारिएको प्रदेश सभा सचिवालयले सूचना जारी गरेको छ ।

लेखक
नवीन तिमल्सिना

तिमल्सिना अनलाइनखबरका मकवानपुर संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?