+
+
Shares

अवरोध जारी राख्ने रास्वपाको सूचना, सभामुखको अडान- संसद् अब रोकिंदैन

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २ गते १०:१३

२ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधि सभामा आफूहरूको अवरोध जारी रहने सूचना सभामुख देवराज घिमिरेलाई दिएको छ ।

प्रतिनिधि सभको बैठक बिहान ११ बजे बस्दैछ । त्यसअगाडि रास्वपा)का कार्यवाहक सभापति डोलप्रसाद (डीपी) अर्याल र प्रमुख सचेतक सन्तोष परियारले सभामुखसँग भेटेका थिए ।

सभामुखको सरकारी निवास बालुवाटारमा भएको भेटमा नेताद्वय अर्याल र परियारले आफूहरूको माग सम्बोधन नभएकाले अवरोध जारी रहने सूचना दिएका हुन् ।

रास्वपाले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै आएको छ । यो प्रकरणमा संसदीय छानबिन समिति गठन गरिनुपर्ने पनि उनीहरूको माग छ ।

जवाफमा सभामुख घिमिरेले विपक्षीले उठाएको विषय गम्भीर रहेको बताए । तर, अब संसदमा अवरोध जारी राख्ने वातावरण नभएको बताएका छन् ।

सभामुखको सचिवालयका अनुसार सभामुखले भनेका छन्, ‘दुई सातादेखि विपक्षीको अवरोधले संसद बन्धक भयो । बजेटबारे ब्यापक छलफल गर्नुपर्ने, समृद्ध बनाउने बेला संसद अबरूद्ध हुँदा जनतामा गलत सन्देश गएको छ ।’

तथापि, विपक्षीले उठाएका मुद्दा गम्भीर रहेको सभामुखले दोहोर्‍याएको उनको सचिवालयले जनाएको छ । रास्वपालाई सभामुखको सन्देश छ, ‘गम्भीर विषय भएर दुई सातासम्म संसदलाई सहमतिका लागि रोकेको हुँ । तर, अब रोक्ने अवस्था छैन ।’

संसदको नेतृत्वका हिसाबले आफूले संवैधानिक सीमालाई पनि ख्याल गर्नुपर्ने सभामुखको आग्रह छ । उनका अनुसार राष्ट्रिय सभाले ५ गतेभित्र प्रतिनिधि सभाबाट विनियोजन विधेयक पठाउन भनेको छ । यस्तो अवस्थामा जुनसुकै हालतमा बजेट पारित गर्नैपर्ने दबाबमा प्रतिनिधिसभा छ ।

रास्वपा नेताहरूलाई सभामुखले भनेका छन्, ‘तपाईंहरूले आफ्नो आन्दोलनको स्वरुप बदलेर पनि संवैधानिक सीमा र बाध्यता बुझ्नुपर्छ । बरू सरकारसँग संवादका लागि आवश्यक सहजीकरण म गर्नेछु । गम्भीर भएर छलफल गरौं ।’

तर, रास्वपाले आफूहरु संर्घाबाट पछाडि नहट्ने अडान दोहोर्‍याएको छ । ‘हामीले उठाएका माग गम्भीर छन् । जनताको वास्वविक समस्या उठाएका छौं । हाम्रा माग र मुद्दामा सरकार गम्भीर नभएकाले संसद अवरोध बाध्यात्मक भएको हो’ सभामुखलाई नेताद्वय अर्याल र परियारले भनेका छन् ।

अवरोध कायम रहने पनि सभामुखलाई रास्वपाको सन्देश छ । उनीहरूले भनेका छन्, ‘अहिलेकै अवस्थामा हामी मुद्दाबाट पछाडि फर्कन सक्ने अवस्थामा छैनौं । तथापि हामी अहिलेको निकासका लागि छलफल र संवादमा नै छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?